शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मामा भान्जासहित आफन्तको समुह नै चोरीमा संलग्न

मामा भान्जासहित आफन्तको समुह नै चोरीमा संलग्न

५ पक्राउ, ६९ लाख ३ हजार २ सय ६० रुपैयाँ बराबरको धनमाल चोरी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २ २०८२, शुक्रबार

पोखरा/ पोखरा र तनहुँका विभिन्न ठाउँमा संगठित रुपमा श्रृङ्‍खलाबद्ध चोरी तथा डकैती गर्ने नातेदारहरुको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । सातौं पटकको प्रयासमा समुहलाई समात्न प्रहरी सफल भएको हो । उनीहरुले ६९ लाख रुपैयाँ भन्दा बढीको गरगहना र नगद चोरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले चोरीमा संलग्न र चोरीको सामान खरीद गर्ने सुनचाँदी व्यवसायीसमेत डाँका तथा चोरी समूहका ५ सदस्यलाई शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–१० साँखेका २६ वर्षीय सुवास विक, २३ वर्षीय विमल विक, शुक्लागण्डकी–११ का २२ वर्षीय गणेश सुनार, स्याङजा पुतलीबजार नगरपालिका–९ काल्खु घर भई पोखरा–२ बस्ने ३३ वर्षीय सुरेश विक र काल्खु घर भई पोखरा–१० बस्ने ५३ वर्षीय दुर्गाबहादुर थापा पक्राउ परेका हुन् । उनीहरुलाई वैशाख २६ गतेयता विभिन्न मितिमा विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘कटप्पा’ समूह भनेर चिनिने यो समूहले पोखरामा केन्द्रित रहेर डकैती धन्दा चलाउँदै आएको थियो ।

पक्राउ परेकाहरुको साथबाट औंठी, सुनको ढिक्का, पोते, माला, मंगलसुत्र, छड्के तिलहरीसहित १२ तोला ८ लाल सुनका गरगहना बरामद भएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी श्यामबाबु ओलियाले बताए । उनका अनुसार औंठी, सिक्री, बाला, पाउजु, चुरीलगायत २४ तोला बराबर चाँदीका गरगहना र चोरी गर्न प्रयोग हुने सामान पनि बरामद भएको छ । यो समुहले ६९ लाख ३ हजार २ सय ६० रुपैयाँ बराबरको धनमाल चोरी गरेको जाहेरी प्रहरीमा परेको थियो । जाहेरी आउने क्रम जारी रहेकाले उनीहरू संलग्न चोरीका घटना र चोरी भएको धनमाल बढ्न सक्ने प्रहरीको भनाई छ ।

चाेरीका गहना

पक्राउ परेका सुवास र दुर्गाबहादुर नाताले मामा–भान्जा हुन् । सुवासले चोरीका गरगहना दुर्गाबहादुरको पोखरा–१० रामबजारस्थित स्याङ्जा कोल्माकोट सुनचाँदी पसलमा ल्याएर दिन्थे । पक्राउ परेका विमल सुवासको ठूलाबुवाका छोरा हुन् । विमलले सुवासलाई चोरी गर्न लैजाने–ल्याउने गर्थे । यसैगरी चोरीमा प्रयोग हुने ग २२ प ४९८९ नम्बरको मोटरसाइकल पनि चोरीकै रहेको खुलेको छ । यो मोटरसाइकल सुवासलाई उनका दाइले दिएका थिए । दाइ नरबहादुर विक हातहतियार तथा खरखजाना मुद्दामा कारागारमा छन् । घटनामा संलग्न गणेश र सुरेश योजनाकार सुवासका फूपूका छोरा हुन् ।

यो समुहले सीसीटिभि नभएका ठाउँमा चोरी गर्ने, गरगहना र नगदमात्र चोर्दै आएको थियो । उनीहरूले पोखरा महानगरपालिकाभित्र ९ ठाउँ र तनहुँका ३ ठाउँमा चोरी गरेको प्रारम्भिक बयान दिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार सुवासले चोरी गरेकै कसुरमा ५ वर्ष कैद र ३ लाख ५० हजार जरिवाना यसअघि भुक्तान गरेको पाइएको छ । ०७४ असार १४ मा कास्की जिल्ला अदालतले सुनाएको कैद सजाय भुक्तान गरेर उनी ०७९ जेठ १० मा छुटेका थिए । त्यसपछि बैदेशिक रोजगारीका लागि कतार गएका उनी ३ महिनामै फर्किएका थिए । फर्किएपछि दाजु–भाइ र मामासँग मिलेर फेरि चोरीमा संलग्न भएका हुन् ।

चाेरीमा प्रयाेग भएका माेटरसाइकल र स्कुटर

यसैगरी सुनचाँदी पसल सञ्चालक दुर्गाबहादुरमाथि ०५७ र ०६४ मा जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक मुद्दामा, ०८० मा वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाले चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो । चोरीमा प्रयोग गर्ने मोटरसाइकल र ग २१ प ६७५३ नम्बरको स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकामाथि चोरी तथा डाँकासम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरीले थप अनुसन्धान सुरू गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->