पोखरा/ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले जिम्मेवार र मर्यादित पत्रकारितामा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने ‘गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ समारोहमा प्रमुख अतिथि भट्टले सामाजिक उत्तरदायित्व बहन गर्दै सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गर्ने जिम्मेवारीलाई आत्मसाथ गरी सत्य, निष्पक्ष, सन्तुलित र मर्यादित रुपमा सूचना प्रवाह गर्नु पत्रकारिताको धर्म र जिम्मेवारी रहेको उल्लेख गरे ।
नेपालमा लोकतन्त्र र गणतन्त्र स्थापना एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि अग्रज पत्रकार तथा पत्रकारिता जगतले खेलेको भूमिका अविस्मरणीय रहेको भन्दै उनले पत्रकारले दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति ईमान्दारिता प्रदर्शन गरिरहेको बताए । ‘नेपाली मिडियाले समकालीन परिप्रेक्ष्यमा असल अभिभावकीय भूमिका निर्वाह गर्दै राष्ट्र निर्माण प्रक्रियामा अभियन्ताको रूपमा उभ्याउँदै लैजानुपर्छ,’ उनले भने ।
प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै सिर्जना भएको उल्लेख गर्दै उनले डिजिटल मिडियाको अत्यधिक सदुपयोग गर्दै पत्रकारिताको विश्वसनियता अभिवृद्धि गर्ने दिशामा पत्रकार स्वयं क्रियाशील हुनेछन् भन्नेमा आफू विश्वस्त रहेको उनको भनाई थियो । ‘आर्थिक सङ्कटले सञ्चारसंस्थाहरूको दिगोपनामा समस्या पार्ने खतरा देखापरिसकेको छ । नेपाली पत्रकारको पेसागत असुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या यथावत् छ,’ प्रदेश प्रमुख भट्टले भने, ‘श्रमजीवी पत्रकारको पेशागत अधिकार स्थापित गर्दै सञ्चार संस्था तथा पत्रकारहरुको सबिलकरणको दिशामा काम अघि बढोस् ।’
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चार र सूचनाको हकलाई नेपालको संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको भन्दै उनले संवैधानिक रूपमै व्यवस्थित गरिएका ती हकहरूको पूर्णरूपमा संरक्षण र कार्यान्वयन गर्दै जिम्मेवार र मर्यादित पत्रकारिताको विकासका लागि प्रतिबद्ध रहनुपर्ने उल्लेख गरे ।
‘पहिले साधनस्रोत, प्रविधिको अभावमा पनि दिनरात खटिएर नयाँ र रोचक समाचार सम्प्रेषण हुने गर्दथे । औपचारिक शिक्षाको कमि भएतापनि पत्रकारहरुको निजी मिहिनेत र परिश्रमले समाचारको गुणात्मकता थियो । हिजो पेशागत मान प्रतिष्ठा र इज्जत थियो । तर आजभोलि डिजिटल प्रविधि, साधनस्रोतको पर्याप्तता हुँदाहुँदै पनि समाचारका स्रोतमा परिनिर्भरता बढेको छ,’ उनले भने । समाज नै ‘मिस इन्फर्मेसन’ र ‘डिस इन्फर्मेशन’ ले पीडित हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै प्रदेश प्रमुख भट्टले लोकतान्त्रिक समाजका लागि नकारात्मकता र कुप्रचार चिन्ताको विषय रहेको बताए । उनले थपे, ‘मिडियाभित्रको ‘सेन्सरशीप’ संयन्त्र मजबुत हुनुपर्दछ । र, त्यो भन्दा बढी सेल्फ सेन्सरशीपमा ख्याल गर्नुपर्दछ । यहाँको पत्रकारितालाई मैले नियालिरहेको पनि छु ।’
पत्रकारद्वय पाठक र अधिकारी पुरस्कृत
नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा संचालित गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ बाट पत्रकार केशव पाठक र २०८२ बाट दुर्गा अधिकारी पुरस्कृत भएका छन् । स्वर्गीय पत्रकार गजेन्द्र भण्डारीको स्मृतिमा उनका परिवारबाट पुरस्कार स्थापना गरिएको हो । पुरस्कारको राशी २५ हजार एक रुपैयाँ नगद, प्रमाणपत्र र दोसल्ला रहेको छ ।
कार्यक्रममा प्रतिभा छनौट समितिका संयोजक दीपेन्द्र श्रेष्ठले पुरस्कृत व्यक्तित्वहरुको परिचय प्रस्तुत गरेका थिए । प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा, पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, पुरस्कार दाताको परिवारबाट स्वर्गीय गजेन्द्रका छोरा सन्तोष भण्डारीले पुरस्कृत पत्रकारलाई बधाई दिएका थिए । पुरस्कृत पत्रकारद्वय पाठक र अधिकारीले पनि कार्यक्रममा आफ्नो भनाई राखेका थिए । पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष माधव रेग्मी र संचालन सचिव भुपाल गुरुङले गरेका थिए ।





