सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बालविवाह न्युनिकरण गर्न निसीखोलामा सचेतना

बालविवाह न्युनिकरण गर्न निसीखोलामा सचेतना


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २ २०८२, शुक्रबार

बागलुङ/बालविवाहको समस्या झेलिरहेको पश्चिम बागलुङको निसीखोलामा गाउँपालिकामा बालविवाह न्युनिकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । बिवाईसी बागलुङद्वारा सञ्चालित दिगो पर्यटन प्रबर्द्धन परियोजना बागलुङले निसीखोला गाउँपालिका वडा नं. ५ पुतलीबजारस्थित ज्ञानेन्द्र माध्यामिक विद्यालयमा बालविवाह सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा एक सयभन्दा विद्यार्थी सहभागी थिए ।

कार्यक्रममा सहजीकरण गर्दै इलाका प्रहरी कार्यालय सुर्तिवाङका प्रहरी निरीक्षक आनन्द बस्नेत, निसीखोला गाउँपालिका न्यायिक समितिका सहजकर्ता अर्जुन चन्दले गरिबी र अशिक्षाका कारण निसीखोलामा बालविवाहका घटनाहरु अत्याधिक रहेकोले दिगो र समृद्व भविष्यका लागि बालविवाह समयमै न्युनिकरण हुन जरुरी रहेको बताएका थिए ।

बालविवाहले शरीरिकदेखि मानसिक स्वास्थ्यमा समेत गहिरो असर गर्ने भएकोले निसी क्षेत्रमा बढ्दो बालविवाह न्युनिकरण गर्न स्थानीय तहका सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने उनीहरुको सुझाव थियो । बालविवाह हुनुमा महिलाभन्दा पुरुषको उमेर सामान्यतया बढी हुनुपर्ने सामाजिक एवं सांस्कृतिक मान्यता, लैंगिक विभेद, गरीबी, अशिक्षा, असुरक्षा जस्ता कारणहरु प्रमुख देखिएको उनीहरुको भनाई थियो ।

बाल विवाहले बालबालिकाहरूलाई आधारभूत अधिकारबाट बञ्चित मात्र नगराई भविष्यको छनोट गर्ने अधिकारमा निर्णय लिने अवसरबाट बञ्चित हुने भएकाले बालविवाह रोक्न सरोकारवालाले ढिला गर्न नहुने उनीहरुको जोड थियो ।

विद्यालयका प्रधानाध्यापक अमृत बुढा मगरले आफ्ना विद्यार्थीहरुले कलिलै उमेर विवाह गरेर भुलेका थुप्रै घटनाहरुको वृतान्त सुनाउँदै बालविवाह न्युनिकरण गर्न सचेतना जगाउनुपर्ने आश्वयकता औल्याएको दिगो पर्यटन परियोजनाका सामाजिक परिचालक रमिता पुन मगरले जानकारी दिइन् ।

बालविवाह रोक्न निसीखोलाका आमा समूह पनि सक्रिय हुन थालेका छन् । मध्यपहाडी लोकमार्गले छिचोले पनि निसीखोलाको अधिकांश क्षेत्र अति विकट रहेकाले त्यहाँ बालविवाह हुने क्रम रोकिएको छैन । कम उमेरमा विवाह गर्दा आफुहरुले भोगेको दुख आफ्ना सन्ततिले भोग्न नपरोस् भन्दै आमा समूह गठन गरी बालविवाहबारे सचेतना जगाउन थालेका हुन् ।

आमा समूहले गाउँमा बालविवाह हुन नदिने विषयमा नियमित छलफल गर्दै आएका छन् । उनीहरुले बालविवाहले निम्त्याउने स्वास्थ्य समस्याबारे किशोरीहरुलाई सचेत गराउँदै आएका हुन् । मासिक रुपमा आमा समूहको बैठक बसेर गाउँमा कसैको बालविवाह भयो भएन भन्नेबारे छलफल समेत हुने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->