पोखरा/कास्की प्रहरीले पोखरामा चोरीमा संलग्न आफन्तका गिरोहलाई नै पक्राउ गरेको छ । पछिल्ला केहि महिना यता पोखराको विशेषगरि लेखनाथ क्षेत्रमा बढी चोरी गर्दै आएको एक गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार चोरीमा संलग्न पाँच जनालाई सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा सुभाष विक, दुर्गाबहादुर थापा मगर, विमल विक, गणेश सुनार र सुरेश विक रहेका छन् ।
उनीहरुको साथबाट १२ तोला ८ लालका विभिन्न सूचनाका गरगहना, २४ तोला चाँदीका गरगहना, फलामको रड, सुन गाल्न प्रयोग गर्ने निम्पल, चिम्टी, गाँजालाई धुलो बनाउन प्रयोग हुने बट्टासहित ग२२प ४९८९ नम्बरको एनएनस पल्सर र ग१२प ६७५३ नम्बरको टिभीएकको स्कुटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार चोरीमा संलग्न मुख्य योजनाकार यसअघिसमेत चोरीमा लामो समय कारागार चलान भइसकेका व्यक्ति हुन् । उनीहरुले कोही नभएको घरमा मात्रै चोरी गर्दै आएको उनले सुनाए । बन्द घरको ताला फोडी सुन, चाँदी र रकम मात्रै चोरी गर्ने गरेको भेटिएको उनको भनाइ छ ।
शिलशिलाबद्ध चोरी
गत मंसिर १४ मा पोखरा २६ विजयपुरस्थित सोताटोलमा करिब १५ लाख ९१ हजार पाँच सय ६० रुपैयाँ बराबरको धनमाल चोरी भयो । त्यसको एक महिनापश्चात् पुस १२ गते पोखरा २६ कै सक्कनेरी नहरकुलोस्थित एक घरमा तीन लाख ८६ हजार सात सय ५० रुपैयाँ बराबरको चोरी भयो । माघ १६ मा पोखरा ३० शिशुवास्थित एक घरमा चार लाख ४९ हजार बराबरको चोरी भयो ।
फागुन ११ गते पोखरा ३२ सातमुहानेमा १८ लाख चार हजार सात सय ५० रुपैयाँ, फागुन २८ गते पोखरा ३१ शान्तिपथमा आठ लाख ८० हजार तथा चैत २८ गते पोखरा २६ विजयपुर सोतोटोलमा १४ लाख ४८ हजार दुई बराबरको चोरी भयो । यस्तै २०८२ वैशाख २५ गते पोखरा २६ विजयपुरमा तीन लाख ४३ हजार रुपैयाँ बराबरको चोरी भयो । जति पनि चोरी भए ती सबै लेखनाथ क्षेत्रमा भएका चोरी हुन् । जुन प्रहरीकोमा उजुरी लिएर आएका शिलशिलाबद्ध चोरी हुन् ।
यो गिरोहले पछिल्लो ५ महिनामा १२ भन्दाबढी स्थानमा चोरी गरेको छ । चोरी भएका सबै ठाउँमा सुन र पैसामात्रै हराए । यीबाहेक प्रहरीमा अझै चोरीका निवेदन आउने क्रम जारी छ । लगातार चोरी हुन थालेपछि प्रहरी पनि हैरान थियो । ६ महिनादेखि लगातार चोरी हुँदासमेत चोरी गर्ने गिरोहलाई पक्राउ गर्न सकिरहेको थिएन् । चोरी गर्नेहरुले विशेषगरी सिसिटिभी नभएको स्थानहरु रोजेका थिए । तर, एक ठाउँको सिसिटिभी फुटेजमा घर फोडेर लुटपाट गरी निस्किएको भिडियो सार्वजानिक भयो । जुन प्रहरीका लागि लिड बन्यो ।
अनुसन्धानको क्रममा प्रहरीले चोरीमा एक समूह नै रहेको पुष्टयायो उनीहरु सबै आफन्त नै थिए । जसको मुख्य योजनाकार हुन कट्प्पा अर्थात सुवास विक । तनहुँ शुक्लागण्डकी १० साँखेका सुभाष तिनै व्यक्ति हुन् जो २०७५ सालमा १९ लाख ९९ हजार ५६४ रुपैयाँ बराबरको धनमाल चोरीको मुद्धामा पाँच वर्ष कैद र तीन लाख ५० हजार ५१५ रुपैयाँ जरिवानामा परेका थिए । उनी ०७९ जेठ १० गतेमात्रै कारागारबाट छुटेका थिए । त्यसपछि कतार पुगेका उनी ३ महिनामै नेपाल फर्र्किएर पुनः चोरीमै संलग्न भएको खुलेको छ । अर्का व्यक्ति विमल विक सुवासको ठूलो बुबाको छोरा हुन् । २३ वर्षका विमल पनि साँखेकै हुन् ।विमलले सवारी चलाउने र सुवासले चोर्ने गरेको खुलेको छ ।
यस्तै तनहुँकै २२ वर्षे गणेश सुनार र ३३ वर्षे सुरेश विक पेशाले कालिगढ हुन् । यी दुवै फुपूका छोरा हुन् । चोरीका सुन चाँदी यी दुईले गाल्ने काम गर्थे । त्यसपछि पालो आउँछ ५३ वर्षका दुर्गाबहादुर थापाको । जसले सुनको व्यवस्थापन गर्ने काम गरे । दुर्गा सुवासका मामा हुन् । स्याङजामा कोल्माकोट सुनचाँदी पसल सञ्चालन गर्दै आएका उनले नै सुन र चाँदीको व्यवस्थापन गर्ने गरेका थिए । दुर्गा २०५७ र २०६४ सार्वजानिक मुद्दामा परेका थिए भने २०८० सालमा चोरी मुद्दामा पक्राउ परेको व्यक्ति हुन् । लेखनाथ बाहेक पोखरामा ९ स्थान र तनहुका तीन स्थानमा उनीहरुले चोरी गरेको र चोरी गरेको ठाउँ बढ्न सक्ने प्रहरीको अनुमान छ । प्रवक्ता बस्नेतका अनुसार उजुरी आउनेक्रम जारी छ ।
‘चोरी कार्यमा आफ्नै नातेदारहरु संगठित रुपमा लागेको भेन्टिछ, उनीहरुले रडको प्रयोगले ताला फोड्ने गरेको पाइन्छ । उनीहरुले प्रयोग गरेको मोटरसाइकल र स्कुटर समेत चोरी गरेको पाइयो,’ उनले भने, ‘अहिलेसम्म १२ वटा घरमा चोरी गरेको खुलाएका छन् । चोरीमा सुनका गहना र नगदलाई मात्र फोकस गरेको देखिन्छ ।’ उनीहरुविरुद्ध थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।





