पोखरार/ पोखराको घार्मीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनु पर्नेमा जोड दिईएको छ । ओमकारेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रममा सहभागिले यस क्षेत्र प्राचिन समय देखि नै धार्मिक क्षेत्र रहेको र यहाँबाट सुन्दर हिमश्रृङ्खला र पोखराको मनमोहक दृश्य अवलोकन गर्न सकिने भएकाले यसलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनु पर्नेमा जोड दिएका हुन्।
हरिहर गुफा सन्यास आश्रम भलामका संरक्षक स्वामी ईशानन्द महाराजले शिरमा हिमश्रृङ्खला सजाएको यस क्षेत्रमा धार्मिक पर्यटनको प्रचुर संभावना रहेको बताउँदै सनातनीहरूको महत्वपूर्ण तीर्थस्थलको रूपमा विकास गर्न सकिने बताए । उनले मन्दिर परिसरमात्र नभई यस पेरीफेरीकै विकास र संरक्षणको लागि स्थानीयको सक्रियता आवश्यक रहेको स्पष्ट पारे ।
आश्रमका स्वामी चन्द्रेश्वर गिरी महाराजले यस क्षेत्रलाई धार्मिक आश्रमको रूपमा विकास गरी प्रवर्धन गर्न सकिने बताए । महेन्द्र मावि घार्मीका प्रअ बासुदेव पौडेलले यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा स्थानीय सरकारको समेत भुमिका महत्वपुर्ण रहने बताउँदै, पर्यटन केन्द्रित बजेट बनाउनु पर्नेमा जोड दिए । युवा नेता अर्जुन अधिकारीले विभिन्न क्षेत्रका धार्मिक संघ, संस्था तथा सरकारी निकायसँग समन्वय गरी गुरुयोजना अनुरुप विकास गरिनु पर्ने बताए । पत्रकार शिशिर पौडेलले धर्म संस्कृतिको संरक्षणविना मानव सभ्यताको विकास नहुने बताउँदै, धर्म र संस्कृति माथि भईरहेको प्रहारलाई अन्त्य गरिनुपर्ने बताए
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले विभिन्न अवरोध र सङ्घर्षका विच मन्दिर परिसरलाई व्यवस्थित बनाउने काम भएता पनि यसको सर्वाङ्गीण विकास गर्न नसकिएको भन्दै गुनासो पोखे। कार्यक्रममा पोखरा महानगरपालिकाका वरिष्ठ ईन्जिनियर सुरेन्द्र पाण्डे, महेन्द्र माविका सहायक प्रअ नन्दराज दाहाल, मातृभूमि सहकारीका कोषाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव प्रेमबहादुर जिसी, विश्व हिन्दु महासंघका पिताम्वर पौडेल, युवा उद्यमी दामोदर पौडेल, नेपाल विद्युत प्राधिकरणका ईन्जिनियर शोभाकर पौडेल, व्यवसायी हिमलाल पौडेल, समितिका कोषाध्यक्ष तेजेन्द्र पौडेल, पण्डित रामचन्द्र पौडेल लगायतकाले आन्तरिक समस्या समाधान गरी घार्मीको समग्र विकासका लागि सबै पक्ष लाग्नु पर्ने बताए । पोखराबाट नजिकै भएर पनि सो क्षेत्र ओझेलमा परेको उनीहरुले गुनासो गरे । मन्दिर र आसपासको क्षेत्रको व्यवस्थित विकासका लागि योजना बने पनि बजेट अभावले कार्यान्वयनमा हुन सकेको छैन।





