शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

१२ वर्षमा साढे ११ हजार जनाको सडकबाट उद्धार, २०८२ चैतमा नेपाललाई सडक आश्रितमुक्त घोषणा गरिने

१२ वर्षमा साढे ११ हजार जनाको सडकबाट उद्धार, २०८२ चैतमा नेपाललाई सडक आश्रितमुक्त घोषणा गरिने


  • लालप्रसाद शर्मा
  • जेष्ठ ३ २०८२, शनिबार

पोखरा/ मानव सेवा आश्रमले स्थापनाकालदेखि हालसम्मको १२ वर्षको अवधिमा देशभरीबाट ११ हजार ४ सय ९५ जना खुला आकाशमुनी सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन विताउन बाध्य सहयोगापेक्षी सडक आश्रितको उद्धार गरेको छ ।

सामाजिक बिकास कार्यालय कास्की र मानव सेवा आश्रम कास्कीको आयोजनामा शनिवार पोखरामा आयोजित सडक मानव व्यवस्थापन तथा उद्धार राहतका लागि सरोकारवालासंगको अन्तरक्रिया कार्यक्रममा आश्रमका संस्थापक रामजी अधिकारीले यो जानकारी दिएका हुन् । उनले आगामी चैत १३ गते रामनवमीका दिन नेपाललाई सडक आश्रितमुक्त घोषणा गर्नेगरी आवस्यक कामहरु भइरहेको जानकारी पनि दिए ।

गण्डकी र कर्णाली प्रदेश सडक मानवमुक्त घोषणा भइसकेका र मंसिरमा बागमती र लुम्बिनीलाई घोषणा गर्ने योजना रहेको उनले सुनाए । मानव सेवा आश्रम १२ वर्ष अघि हेटौडामा स्थापना गरिएको थियो । आश्रमका गण्डकी प्रदेशका कास्कीमा २ वटा, बागलुङ, गोरखा र लमजुङमा एकएकवटा गरी ४ सहित देशभर २१ जिल्लामा २७ वटा सेवाकेन्द्र रहेको उनले जनाए । ‘प्रतिदिन ३ जनाको सडकबाट उद्धार भइरहेको देखिन्छ’, अधिकारीले भने, ‘आश्रमले सरकारको सहयोगी भएर काम गरिरहेको छ । तीनै तहका सरकारबाट सहयोग प्राप्त भइरहेको छ । सहयोगको निरन्तरता र आवस्यकतानुसार थप सहयोगको अपेक्षा गरेका छौ ।’

शनिवारसम्म देशभरका आश्रममा १ हजार ८ सय २ जना आश्रित रहेका छन् । उनीहरुमा १ हजार २८ पुरुष र ७ सय ७४ महिला छन् । यसैगरी ४ हजार ६ सय ५९ जनाको पारिवारिक पुनर्मिलन, ९ सय ४६ को सामुदायिक पुनस्र्थापना गरिएको छ भने १५ सय १६ जनाका निधन भएको छ । गण्डकी प्रदेशमा हालसम्म कास्कीमा १५ सय ८७, बागलुङमा १९८, लमजुङमा ११५ र गोरखामा ९५ जनाको उद्धार गरिएको छ । तीमध्ये कास्कीमा ५०३ सहित गण्डकीबाट ७ सय बढीको पुनर्मिलन गराइएको छ । कास्कीका आश्रमको सेवा केन्द्रमा १६३ जनाको निधन भएको छ । हाल गण्डकीमा कास्कीमा २२८ सहित ३५१ जना आश्रममा आश्रित रहेका छन् । ‘तथ्यांकले ग्रामीण क्षेत्र भन्दा शहरबजारमा बढी सडक आश्रित रहेको देखिन्छ’, संस्थापक अधिकारीले भने, ‘उद्धार कार्यमा स्थानीय तह र नेपाल प्रहरीको उल्लेख्य सहयोग रहेको छ ।’

गण्डकी र कर्णाली प्रदेश सरकारले दैनिक प्रतिव्यक्ति एकसय रुपैयाँका दरले सहयोग उपलब्ध गराएको तर त्यो अपुग भएको उनले सुनाए । विभिन्न सहयोगी दाताको सहयोगले नै आश्रितलाई खाना, नाना र छानाको व्यवस्थापन गर्न सकिएको उनको भनाई छ । उद्धारका लागि पिकअप गाडीको आवस्यकता रहेको भन्दै अधिकारीले कास्कीलगायत विभिन्न स्थानमा रहेका सेवाकेन्द्रको भवन निर्माणाधीन रहेकाले खलेर सहयोग गर्न तीनै तहका सरकारसंग अनुरोधसमेत गरे । उनले ७५३ वटै स्थानीय तहसंग सार्थक साझेदारी गर्न लागिएको जनाए । अधिकारीले संविधानले प्रत्याभूत गरेको मौलिक हक, सन्धीमहासन्धी, प्रोटोकल, अदालतका आदेश, ऐन नियमबारे जानकारी दिदै मानव सेवा आश्रम किन र कसका लागि भन्ने विषयमा जानकारी दिएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक बिकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले तीनै तहका सरकारले गर्नुपर्ने काम आश्रमले गरेकाले यो पवित्र संस्था रहेको उल्लेख गर्दै सडक मानवमुक्त प्रदेश घोषणा गर्नेमा गण्डकी पहिलो भएको बताए । सबै तहका सरकार, संस्थाको संलग्नताले उद्देश्य अनुसार काम गर्न सफल भएको भन्दै उनले प्रदेश सरकारले आवस्यक सहयोग निरन्तर गरिरहने प्रतिवद्धता जनाए । ‘हामीले गरेको पहिलो कामलाई अरु प्रदेशले सिको गर्दै गएकोमा खुशी लागेको छ’, मन्त्री थापाले भने, ‘आश्रमलाई कुनकुन क्षेत्रमा केकस्तो सहयोग गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत रहेर सहयोग जारी रहन्छ ।’ आश्रमले मन छुने काम गरेको उनको भनाई छ ।

प्रदेशका पूर्वमन्त्री एवं राप्रपा गण्डकीका संसदीय दलका नेता पंचराम गुरुङले आश्रमले सेवा नै धर्म हो भन्ने मान्यतालाई सत्य सावित गरेको बताए । उनले आश्रमका अभियन्ता जीवित भगवान भएको भन्दै आफ्नो तर्फबाट आवस्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर केसी, पोखरा महानगरपालिकाका प्रवक्ता एवं पोखरा–२५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिना, वडा प्रहरी कार्यालय बैदामका डिएसपी सन्तोष निरौलाले राज्यले गर्नुपर्ने काम संस्थाले गरेको भन्दै सबै क्षेत्रबाट थप सहयोगको आवस्यक रहेको बताए ।
सामाजिक बिकास कार्यालयका प्रमुख राजेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीको हेमजास्थित आश्रमको सेवाकेन्द्र भवन निर्माण समितिका अध्यक्ष धर्मराज बास्तोलाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमकाे संचालन मानव सेवा आश्रम कास्कीका संयाेजक सदिस पुनले गरेका थिए ।

सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर) सडक आश्रित मानवहरुको मानवोचित व्यवस्थापनसहित औषधोपचार, पालनपोषण र जीवन रक्षाका लागि आश्रम स्थापना भएको हो । सबैका लागि खाना, नाना, छाना, स्वास्थ्य र शिक्षा चाहना राखेको आश्रमले सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण, घोषणा एवं कार्यान्वयन गर्ने प्रतिवद्धतासाथ काम गर्दै आएको छ । मानवियताको राष्ट्र नेपाल निर्माणलाई आश्रमले सपनाको रुपमा लिएको छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->