सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङमा पाँच झोलुङ्गे र स्टील ट्रस्ट पुल थपिए

बागलुङमा पाँच झोलुङ्गे र स्टील ट्रस्ट पुल थपिए


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ४ २०८२, आइतबार

बागलुङ/झोलुङ्गे पुलको जिल्ला बागलुङमा पाँच पुल थपिएका छन् । जैमिनी नगरपालिकामा दुई, निसीखोलामा एक र ढोरपाटन नगरपालिकामा एक स्टील ट्रस्ट र एक झोलुङ्गे पुल थपिँदा सो क्षेत्रका ४ हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।

आर्थिक वर्ष २०८०÷०८१ मा ४४ लाख ६६ हजार ७ सय ३७ रुपियाँ लागतमा निसीखोला गाउँपालिका वडा नं. ४ बोहरागाउँको करिखोला घाटमा ७४ मिटर लम्बाईको झोलुङ्गे पुल, २५ लाख ८६ हजार ८ सय एक रुपियाँ लागतमा ढोरपाटन नगरपालिका वडा नं. ९ बोबाङको ढोरपाटन उपत्यकाको उत्तरखोलामा २४ मिटर र ढोरपाटन ९ खुंगाको चिनीखोला घाटमा २४ लाख १९ हजार २३ रुपियाँको लागतमा ३२ मिटर लामो स्टील ट्रस्ट पुल निर्माण गरिएको विवाइसीका झोलुङ्गे पुल कार्यक्रम संयोजक प्रेम केसीले जानकारी दिए ।

चालु आर्थिक वर्षमा जैमिनीमा दुई झोलुङ्गे पुल निर्माण भएका छन् । जैमिनी १० राङखानीको देउराली घाटमा २८ लाख ९२ हजार २ सय ६१ रुपियाँको लागतमा ५७ मिटर र राङखानी–बरेङ गाउँपालिका जोड्ने फलाटे घाटमा ४० लाख १ हजार ३५ रुपियाँको लागतमा सोही लम्बाईको झोलुङ्गे पुल निर्माण गरिएको हो । यसअघि जिल्लाका ढोरपाटन, बरेङ र ताराखोला गाउँपालिकामा दश झोलुङ्गे पुल थपिएका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत स्थानीय तहले पुलको योजना छनोट र कार्यान्वयन गर्दै आएका छन् । नेपाल सरकार र स्वीस सरकारबीचको सम्झौताअनुसार पुल निर्माण गरिएको हो । कार्यक्रम संयोजक केसीका अनुसार, एक सय २० मिटरसम्मका पुल उपभोक्ता समिति र त्यसभन्दा लामा पुल निर्माण व्यवसासायीमार्फत बनाउने गरिएको छ । झोलुङ्गे पुलको परिचय बनाएको बागलुङमा थप पुल बनेपछि सर्वसाधारणलाई आवतजावतमा सहज हुने भएको छ ।

संघीय सरकारले पुल निर्माणका लागि सशर्त बजेट उपलब्ध गराउँदै आएको छ । कूल बजेटमध्ये पुल क्षेत्रगत कार्यक्रमको ८५ प्रतिशत, स्थानीय तहको १३ प्रतिशत लगानी र दुई प्रतिशत जनश्रमदान गरी झोलुङ्गे पुल निर्माण भइरहेको केसीले जानकारी दिए ।

यो वर्ष पाउजेघाट, काठेखोलामा दोबिल्ला–चनौटेघाट र ढोरपाटन नगरपालिका वडा नं. ६ गादीखोलाको ठूलो बिसौनीघाटमा पुल निर्माणको काम चलिरहेको छ । ६१ मिटर लम्बाईको पाउजेघाट पुल ३९ लाख ४८ हजार ९ सय ५५, ३२ मिटरको दोबिल्ला–चनौटेघाट स्टील ट्रस्ट पुल २८ लाख २३ हजार ६ सय एक र १ सय ५ मिटर लामो ठूलो बिसौली घाट झोलुङ्गे पुल ४९ लाख ६० हजार २ सय ५० रुपियाँको लागतमा निर्माण हुन लागेको हो । यि तीन पुल बन्दा सो क्षेत्रका साढे ६ हजारभन्दा बढी नागरिक लाभान्वित हुने छन् ।

आगामी आर्थिक वर्षमा सात पुल निर्माण गर्नेगरी बागलुङ नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकामा सर्वे गरिएको छ । बागलुङ नगरपालिकाको भिमिराघाट, गलुवा बुकेनी–गलुवा घाट, सौर्य–गहते घाट, काठेखालाको सिमघाट, तंग्राम–हिले–कुथुर्के घाट र बरेङको पानीखाने घाट खोलामा पुल निर्माणको लागि सर्वे गरिएको संयोजक केसीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->