पोखरा/नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्तासँग नागरिक आक्रोशित भएको स्वीकारेका छन् । सत्ता गठबन्धनमा रहका कांग्रेस महामन्त्री थापाले यो बेला ढाँटछलको राजनीति छाडेर देशको लागि काम गर्नुपर्ने पनि बताए ।
‘यो बेला जोखिम उठाएर देशको लागि काम गर्नुपर्छ,’उनले भने । महामन्त्री थापा शनिबार नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ स्याङ्जाको दोस्रो क्षेत्रीय सम्मेलनमा बोल्दै थिए । उनले देशको मागलाई जसले पूरा गर्ने सार्मथ्य राख्छ । सोही पार्टी राष्ट्रिय शक्ति भएको बताउँदै त्यो शक्ति कांग्रेससँगमात्र भएको पनि जिकिर गरे ।
अहिले नेपालमा तन्नेरी पुस्ता रहेको र १८ वर्षमा बुढो बन्ने बताउँदै महामन्त्री थापाले सो समयमा देशलाई आर्थिक रुपमा सजबुत बनाउनुपर्ने जिम्मेवारी काग्रेसले लिनुपन धारणा राखे ।सरकारको काम उद्योग धन्दा कलकारखाना चलाउने नभएर कलकारखाना चलाउने तथा रोजगारी श्रृजनाको सहजीकरणमा ध्यान दिनुपर्ने पनि उनले बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य अब्दुल सतारले राम्रो कसरी पार्टी बनाउने भन्ने सबै एकजुट भएर लाग्नुपर्ने बताए । भ्रष्टाचारी नेता हिजो पनि भएको र अहिले पनि रहेको बताउँदै नेता सतारले नेपाली कांग्रेस सदैव भ्रष्टाचारको विरोधी रहेको बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेश कार्यबाहक सभापति कल्पना तिवारी, जिल्ला सभापति राजु थापा, गण्डकी प्रदेश कार्य सम्पादन समिति सदस्य अजित क्षेत्री, क्षेत्र नं. १ (ख) सभापति प्रकाश तिवारी लगायतले मन्तव्य राखेका थिए ।





