तस्बिर : नारायण रिजाल
बागलुङ/दक्षिण बागलुङको जैमिनी नगरपालिकाले आगामी २०८२ को चैत मसान्तभित्र बालमैत्री नगरपालिका घोषणा गर्ने भएको छ । अघिल्लो वर्षदेखि नै बालमैत्री स्थानीय शासनयुक्त नगरको अभियान थालेकोमा सबै सूचक पुरा गरेर चैत मसान्तमा घोषणाको तयारी गरेको नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।
शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार गर्ने, पूर्ण खोप सुनिश्चित गर्ने, काममा पनि नगरपालिकाले काम गरेको हो । त्यस बाहेक नगरको आफ्नै एम्बुलेन्स सेवा संचालनमा आएको, निशुल्क स्वास्थ्य शिविर संचालन गरिएकोले नागरिकको स्वास्थ्यमा सुधार ल्याउने उनको भनाई छ ।
नगरपालिकाले लीड विद्यालय बनाएर नमूना बनाउने तयारी गरेको छ । त्यसका लागि वडा नं. ५ को बिनामारेस्थित सर्वोदय माध्यमिक विद्यालय छनौट भैसकेको छ । भौतिक पुर्वाधार र शैक्षिक गुणस्तर सुधार गरेर लीड विद्यालयको लक्ष्य पूरा गर्ने नगरको तयारी छ । सबै विद्यालयलाई प्रविधिमैत्री बनाउन थालिएको छ । पढाइ मेला र शिक्षक–विद्यार्थीको प्रतिभा पहिचान कार्यक्रम गरेर त्यसको थालनी भैसकेको हो ।
तीन वर्षमा गरेको कामको फेहेरिस्त सार्वजनिक गर्दै उपप्रमुख शर्माले २०७९ साल बैसाख ३१ गते निर्वाचित भएपछि भएगरेका कामबारे जानकारी गराउनुभएको हो । शर्माले ८५ बुँदाको कार्यक्रम सार्वजनिक गर्नुभएको हो । अघिल्लो जनप्रतिनिधिले शुरु गरेका कामसहित वर्तमान पदाधिकारीले थालेका कामको प्रगतीबारे उनले जानकारी गराए ।
शर्माका अनुसार, नगरपालिकाका सबै वडाबाट अनलाईन सेवा शुरु भएको, बैंकमार्फत वडाका टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ । साथै, वडामै पुगेर योजना सम्झौता गरेकाले समयमा काम पुरा भएको शर्माको दाबी छ ।
विज्ञ सम्मेलन भएको, आवधिक योजना बनेको, राजश्व सुधार योजना निर्माण गरिएको र लैंङ्गिक नीति तथा योजना निर्माण गरेर अपांग परिचयपत्र र सहायता सामाग्री बितरण, जेष्ठ नागरिक सम्मानसँगै शसक्तीकरण कार्यक्रम संचालन भएको पत्रकार सम्मेलन गरेर शर्माले जानकारी दिए । जैमिनीले जग्गा वर्गिकरणको काम सम्पन्न गरेको, सडक गुरुयोजना बनाएको, सरसफाइ योजना निर्माण र बिपद प्रतिकार्य योजना बनाएर लागू गरेको छ ।
किसानका लागि निशुल्क कल सेवा, नाफा प्रोजेक्ट संचालन, अलैंची जोनमा नगरपालिका समावेश तथा कृषि एम्बुलेन्स खरिद गर्ने तयारी छ । नगरपालिकाले कृषिका विभिन्न पकेट र ब्लकका कार्यक्रम संचालन गरेको छ भने हलगोरु पाल्ने किसानलाई सम्मान र प्रोत्साहन दिने, उत्पादनमा आधारिक अनुदान समेत दिइएको शर्माले बताए ।
पर्यटन प्रवद्र्धनतर्फ गाजा दहलाई व्यवस्थित बनाउने, दहमा सिद्द बराहको मुर्ती निर्माणको काम भैरहेको, हाडिकोटमा पुर्वाधार थप गरिएको, थन्थाप भगवतीलाई व्यवस्थित बनाउने काम भएको, रिठेडाँडामा पर्यटकीय पुर्वाधार बनाइएको, हात्तिढुंगा, कमलजैसी, शिवपुरी र गाइथुने लगायतको संरक्षण र प्रचार गर्ने काम नगरपालिकाले गरेको छ ।
नगरभित्र बाइस किमी सडक कालोपत्र भएको, कालीगण्डकी करिडोर स्तरीय र कालोपत्र बनाउन पहल भएको, संघ र प्रदेशको सहकार्यमा सात वटा झोलुंगे पुल बनाइएको, पचपन्न खरका छाना विस्थापित गरिएको, आठ घरवारविहिनको घर बनाइएको र बिपत प्रभावित तेह्र परिवारको घर निर्माणमा साथ दिएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, सुत्केरी उद्दारका लागि चार स्थानमा हेलीप्याड बनाएको, सात सय नागरिकलाई सीपमुलक तालिम दिएर दुई सय अठ्ठाइस जना रोजगारीको अबसरमा जोडिएको तथा तीन सय पञ्चानब्बे जनालाई उद्यमशिल बनाइएको समेत दावी गरिएको छ ।





