पोखरा/नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको गठबन्धन सरकार बाध्यताको उपज भएको बताएका छन् । उनले हैरानीको अवस्थामा यो सरकार गठन भएको पनि जिकिर गरे । आदर्शका कुरा मात्र गरेर सरकार बाहिरै बस्ने हो भने, नीति, कार्यक्रम र बजेट कार्यान्वयन नहुने तर्क उनको थियो ।
उनले कांग्रेसभित्र सत्तामा नहुँदा सत्ता चाहियो भन्ने र सत्तामा हुँदा केही भएन भन्ने प्रवृत्ति रहेको बताउँदै अगाडि भने, ‘सत्तामा नहुँदा हाम्रै साथीबाट पुलिसबाट यस्तो अन्याय भयो, प्रशासनले हाम्रो कुरा सुन्दैन । अरुलाई भन्दा हामीलाई सुन्दैन । त्यसबेलामा पनि सबै आत्तिएको अवस्था थियो । सत्तामा गयो, केही भएन भन्ने छ । गठबन्धन सरकार छ । ओलीजीजस्तो प्रधानमन्त्री हुनुहुन्छ । सबै कुरा भएका छैनन् तर केही त भएको छ नि ।’
कांग्रेस प्रवक्ता महत सोमबार नेपाली कांग्रेस कास्की क्षेत्र नंबर ३ को दोस्रो क्षेत्रीय सम्मेलनलाई संवोधन गर्दै थिए ।
‘तपार्ईंको नीति र कार्यक्रमको कार्यान्वयन सत्तामा भएको बेला हुन्छ । यो निर्वाचन पद्धतिबाट कसैको पनि बहुमत आउँदैन । त्यसलै संविधान संशोधन हुनुपर्छ । यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ । भोलि होला नहोला, दुई तिहाइ चाहिन्छ । उपल्लो सदनमा दुई तिहाइ छैन,’ उनले भने, ‘यही संविधान हुँदा २०८४ मा पनि बहुमत आउँदैन । ‘वर्तमान राजनीतिक संरचना हैरानीको अवस्थामा बनेको हो र यो दीर्घकालीन सोचको उपज होइन ।’ उनले वर्तमान सरकारसँग धेरै असन्तुष्टि रहेको पनि बताए ।
‘हाम्रा पनि धेरै असन्तुष्टि छन्, नभएको हैन । हामीले एमालेलाई भनिरहेका छौँ, यहाँ मैले जे सोच्छु त्यही ध्रुवसत्य हो भन्ने मानसिकताबाट गठबन्धन पक्ष मुक्त हुनुपर्छ,’ उनले भने, ‘यहाँ राष्ट्र बैंकको कुरा छ । हामी एउटा प्रोफेसनल आओस् भन्नेमा छौँ । भट्ट (गुणाखर) जीको कुरा आएको छ । उहाँ अमेरिकाबाट पढेर आएको । म पढ्दा उहाँ पनि पढ्दै हुनुहुन्थ्यो । साह्रै असल मान्छे । राजीनामा दिनुभयो । त्यहाँ पनि अदालत गइयो । अन्यौल नै अन्यौल । हामीले सिफारिस गरेका पात्र हाइ प्रोफेसनल छन् ।’
उनले अख्तियारसहितका नियामक निकायहरुले पनि कांग्रेसमाथि बढी निगरानी गरेको आरोप पनि लगाए । ‘धेरै नियामक निकायबाट हाम्रा पार्टीका सदस्यहरुमाथि आरोप लगाइएको छ । अरु पार्टीका सबै दूधले धोएका जस्ता । हामीले पनि देखेकै हौँ, भोगेकै हौँ,’ उनले भने ।
महतले संघीय सरकारले साना योजनामा ध्यान केन्द्रित गर्नुको सट्टा ठूला परियोजनामा मात्र लगानी गर्नु उचित हुने धारणा राखे । ‘मैले त मेरै पालामा पनि भनेको हो । कनिका छरेर परिणाम आउँदैन’ उनले भने, ‘३ करोडभन्दा कम बजेटका योजना राख्नु हुँदैन ।’
नेता महतले कांग्रेस अहिले एकआपसमा लडिरहेको र संगठनमा समस्या रहेको बताए । सामाजिक सञ्जालमार्फत् आफूविरुद्ध भएको आक्रमणविरुद्ध भिड्नबाट पनि कांग्रेस चुकेको उनको भनाइ छ ।
‘हामी विपक्षीले गरेको प्रचारमा लागिरहेका छौँ । यहाँ हजारौँ मान्छेलाई लगाएर सामाजिक सञ्जालमार्फत् हामीमाथि आक्रमण गरिरहेको छ । भ्रम छरिरहेको छ, हाम्रो व्यक्तिगत प्रतिस्पर्धाको कारणले मलाई भनेको हैन, फलानलाई भनेको हो भनेर हामी रमाइरहेका छौँ’ उनले भने, ‘यसले हाम्रो पार्टी नै कमजोर भएको छ । हाम्रो र स्थापित पार्टीको खिलापमा सामाजिक सञ्जालमा छरिएको भ्रम चिर्न लाग्नुपर्छ । अब भाषण गरेर, आमसभा गरेर हैन सामाजिक सञ्जालमा पनि लाग्नुपर्छ ।’
उनले सामाजिक सञ्जालको उपयोगमा पनि जोड दिए । अघिल्लो चुनावको उदाहरण दिँदै उनले भने, ‘हामीलाई लागेको थियो, हाम्रो संगठन छ, हाम्रा नेता गाउँगाउँ पुगेका छन् । तर, चुनावभन्दा २–३ महिना अगाडि दर्ता भएको पार्टीले सामाजिक सञ्जालमार्फत् प्रचार ग¥यो । सफल भयो । अब पार्टीको समग्र संगठनमा व्यक्तिवादी सोच त्याग्नुपर्छ ।’
उनले महाधिवेशनको मिति तय नहुँदै भएको गुटबन्दीप्रति चर्को असन्तुष्टि जनाए । सभापति शेरबहादुर देउवा उदार भएको र सम्पूर्ण पदाधिकारीलाई स्वतन्त्र रुपले काम गर्न दिएको जिकिर पनि गरे । उनले महाधिवेशन समयमा सक्न सभापति बाधक न भएको पनि जिकिर गरे । सभापतिले अधिवेशन अगाडिका सवै प्रक्रिया टुंग्याउन पदाधिकारीलाई जिम्मेवारी दिएको बताउँदै त्यसका लागि महामन्त्रीहरु नै लाग्नुपर्ने तर्क पनि गरे ।
महामन्त्रीको नाम नलिइ उनले भने, ‘काम गर्नुपर्यो । म त महामन्त्री हारेको मान्छे, त्यहाँ पार्टी कार्यालयमा काम गर्नुप¥यो नि । यहाँ बाहिर भन्ने भित्र काम नगर्ने ? त्यस्तो हुँदैन । अहिले पाएको जिम्मेवारी पूरा नगर्ने र अर्को जिम्मेवारीको लागि दौडेर त भएन नि ।’
उनले महाधिवेशन चाँडै हुन्छ भने पनि पुरानो सदस्यता नवीकरण नभएको र नयाँ वितरण नभएकाले समयमै महाधिवेशन हुनेमा शंका व्यक्त गरे ।
‘महाधिवेशन हुने टुंगो छैन, अहिलेदेखि नै हामी को महामन्त्री, को सभापति भनेर कोणसभा हुन थालिसक्यो, म पनि यो पार्टीको सभापति हुनसक्छु, तर म घोषणा गरेर हिँड्दिन । चुनाव घोषणा भएको ३ महिना अगाडि घोषणा गरे हुन्छ । कार्यकर्ताले नेता चिनेका छन्’ उनले भने, ‘हामी जिल्ला जाँदा पार्टीभित्रको अनेकतालाई कसरी संवोधन गर्नेतर्फ ध्यान दिनुपर्छ ।’ एक्लै लड्ने भन्ने तर आफू कहिल्यै एक नहुँदा परिणाम ननिस्कने पनि उनको भनाइ छ ।





