पोखरा/मानवता प्रवद्र्धनको अभियानमा हातेमालो गर्न पोखरा महानगरपालिका प्रतिबद्ध रहेको बताएको छ ।
मानवसेवा आश्रमसँगको छलफलका क्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सहयोगापेक्षी सडक आश्रित मानिसहरूको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, संरक्षण र सामाजिक पुनस्र्थापनाका लागि आवश्यक समन्वय गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताए ।
मानवसेवा आश्रमको नेपाललाई २०८२ भित्र सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गर्ने लक्ष्य र पोखरा महानगरपालिकासँग साझेदारी लगायतका विषयमा केन्द्रित छलफलमा नगर प्रमुख आचार्यले पोखराको छोरेपाटन र हेमजामा सञ्चालनमा रहेको आश्रमको थप व्यवस्थापनका लागि आवश्यक साझेदारीका लागि तत्पर रहेको बताएका हुन् ।
उपप्रमुख मन्जुदेवी गुरुङले सडकमा रहेका बेसहारा व्यक्तिहरूको उचित लालन पालनसहित संरक्षण गर्ने कार्यमा मानवसेवा आश्रमको भूमिका उल्लेखनीय रहेको भन्दै प्रशंसा गरिन् । पोखरा सडक मानव मुक्त भए पनि विभिन्न कारणले बेलाबखतमा देखिने समस्याहरूको तत्काल समाधानमा मानवसेवा आश्रमको सक्रियता महत्त्वपूर्ण रहने गरेको बताइन् ।
मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले सहयोगापेक्षी सडक आश्रित मानिसहरूको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, संरक्षण र सामाजिक पुर्नस्थापनासहित २०८२ भित्र नेपाललाई सडक मानवमुक्त घोषणा गर्ने लक्ष्यका साथ मिसन २०८२ सञ्चालन गरिएको जानकारी दिए ।
आश्रमले १२ वर्षमा प्रतिदिन औसत तीन जनाका दरले ११ हजार ५१४ जनाको उद्धार गरेको अध्यक्ष अधिकारीले जानकारी दिए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, प्रवक्ता मोतीलाल तिम्सिना, दलका नेता राधिका कुमारी शाही योगी, वडा अध्यक्षहरू प्रकाशमान उदास, राम मोहन आचार्य, रुद्रनाथ बराल, दीपेन्द्र मर्सानी, शिवप्रसाद तिमिल्सीना, हिमलाल बराल, दुर्गा सुवेदीलगायत महाशाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।





