बागलुङ/मध्यपहाडी लोकमार्गको गलकोट खण्डदेखि गलकोट नगरपालिकाको प्रशासनिक केन्द्र रहेको हटिया–हरिचौर–ताराखोला गाउँपालिका हुँदै म्याग्दी जिल्लाको मालिका गाउँपालिका वडा नं. २ रुम जोड्ने रणनीतिक सडकको हरिचौर–हिल–ताराखोला खण्डमा स्तरोन्नतिसहित कालोपत्रको काम शुरु भएको छ ।
गलकोट–हरिचौर–हिल–तारादेखि म्याग्दीको रुम जोड्ने सडकको पहिलो खण्डमा झण्डै ११ किलोमिटर सडक स्तरोन्नतीसंगै धमाधम कालोपत्र गर्ने काम भइरहेको योजना कार्यान्वयन गरिरहेको पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर चन्द्र बहादुर पुनले जानकारी दिए । सडकको संशोधित लागत अनुमान ४५ करोड ४७ लाख ५९ हजार ९ सय २६ रुपियाँ रहेपनि एमएस एपेक्स खड्का कृष्ण जेभीले २८ करोड १५ लाख ७ हजार ७२ रुपियाँमा ठेक्का सम्झौता गरी स्तरोन्नतिसहित कालोपत्रको काम गरिरहेको छ ।
२०७८ कात्तिक २६ गतेभित्र योजना सम्पन्न गर्नेगरी २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले काम नसकिएपछि २०८१ चैत्र २९ गते सम्पन्न गर्ने लक्ष्यसहित पहिलोपटक म्याद थपेको थियो । सडकको हालसम्म ७८ प्रतिशत भौतिक प्रगति रहेको छ । आगामी असार मसान्तभित्र काम सक्ने लक्ष्यसहित पर्याप्त मजदुर र मेशिन प्रयोग गरिरहेको निर्माण कम्पनीले ७२ प्रतिशत भुक्तानी लगिसकेको पूर्वाधार विकासले जनाएको छ ।
उक्त सडक खण्डको ६ किलोमिटरमा डिबिएसटी प्रविधिको कालोपत्र गरिएको छ भने ५ सय मिटर सडकमा ढलान गरिएको इन्जिनियर पुनले बताए । बाँकी रहेको करिब साढे ३ किलोमीटर खण्डमा सडक विस्तार, टेवा पर्खाल, नाली निर्माण गरेर सव–वेस विछ्याउने काम सकेर कालोपत्र विछ्याउन मात्रै बाँकी रहेकोले तोकिएकै समयमा काम सम्पन्न हुनेमा इन्जिनियर पुनले विश्वास व्यक्त गरे ।
गलकोटको हरिचौरदेखि ताराखोलाको हिलहुँदै साँघुबोट जोड्ने सडक कालोपत्र भएपछि स्थानीयलाई बाह्रैमास यात्रामा सहज हुनुका साथै अर्गानिक गाउँको परिचय बनाएको ताराखोलाको आलु, भाँगो लगायतका कृषिउपज बजारीकरणमा पनि राहत हुने छ । ‘‘वर्षामा बिहुँको रिजालचोकदेखि अर्गलहुँदै करिमेला जोड्ने सडक पहिलो पटक पटक अवरुद्व हुने र साँघुबोट–हिल–गलकोट सडक हिलाम्य हुँदा ताराखाले आलु ढुवानीमा कृषक सास्ती भोग्दै आएका थिए, सडक कालोपत्र भएपछि ढुक्क भयो’’ एक स्थानीयले भने ।
सडक कालोपत्र हुँदा गलकोट नगर अस्पतालमा उपचारका लागि आउने बिरामीलाई बढी राहत हुने छ । हरिचौर, हिल र ताराखोला आसपासमा उत्पादनमा हुने कृषि उपज ढुवानीमा सहज हुनुका साथै पर्यटकीय गाईघाट झरना, ऐतिहासिक गलकोटे दरबार, अन्तराष्ट्रिय मुर्तिकला पुग्ने पर्यटकलाई सजिलो हुने छ ।
गलकोट–हरिचौर–हिल–तारादेखि म्याग्दी जिल्लाको रुम जोड्ने सडकको दोस्रो खण्ड साँघुबोट दोगाडी सडक स्तरोन्नतिको काम चलेपछि स्थानीयबासी खुसी भएका छन् । ८ करोड ६० लाख रुपियाँमा तीन किमि सडक स्तरोन्नतीसंगै कालोपत्र गर्नका लागि ठेक्का सम्झौता भएर निर्माण व्यवसायी कार्यक्षेत्रमा खटिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।





