बागलुङ/जैमिनी नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को हालसम्मको प्रगति तथा समिक्षा गरेको छ । बजेट तथा कार्यक्रम निर्माण पूर्व समिक्षा कार्यक्रम कुश्मिसेरामा सम्पन्न भएको हो ।
नगरपालिकाले चालु आ.व.मा उपभोक्ता समितिबाट कार्यान्वयन हुने गरी २ सय ५१ वटा योजना तथा कार्यक्रम स्वीकृत गरेकोमा २ सय ४१ वटा योजना तथा कार्यक्रम सम्पन्न गरेको छ भने ९ वटा योजना कार्यान्वयनको चरणमा रहेको र ९ वटा योजना कार्यान्वयन हुन नसकेको इन्जिनियर विवेक सापकोटाले बताउनुभयो ।
सापकोटाका अनुसार, हालसम्मको भौतिक प्रगति ९२ र आर्थिक प्रगति ९१ प्रतिशत रहेको छ । बोलपत्रबाट ८, कोटेशनबाट १२ र परामर्श तथा अन्य सेवाबाट पाँच ओटा योजना तथा कार्यक्रममा सम्पन्न भएको सापकोटाले जानकारी दिए । प्रशासकीय भवनको भने ५८ प्रतिशत भौतिक प्रगति भएको सापकोटाको भनाई थियो ।
पालिकाले यस आ.व.मा जम्मा १ करोड ३६ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म जम्मा ५५.२८ प्रतिशत अर्थात् ७५ लाख १८ हजार १ सय ५३ रुपैयाँ मात्र संकलन गरेको राजश्व शाखा प्रमुख भगवती चापागाईले जानकारी दिइन् ।
कार्यक्रममा ललिता पुनले प्रशासन, महिला विकास निरीक्षक देवी विकले सामाजिक विकास, तारा प्रसाद पौडेलले सामाजिक सुरक्षा तथा पञ्जीकरण, इन्जिनियर विवेक सापकोटाले योजना तथा प्राविधिक र वन, वातावरण तथा विपद, सीता अर्यालले सुरक्षीत आप्रवासन, डा. लक्ष्मी शर्माले आयुर्वेद, गोविन्द प्रसाद आचार्यले स्वास्थ्य, शिक्षा उपसचिव खेम प्रसाद आचार्यले शिक्षा, बालमैत्री सम्पर्क व्यक्ति मिरादेवी शर्माले बालमैत्री, कृषि अधिकृत सुवाश सापकोटाले कृषि विकास, डा. अच्युत आचार्यले पशु विकास, न्यायिक सहजकर्ता विनिता शर्माले न्यायिक समिति, मनबहादुर रानाले लघुउद्यम, लेखा अधिकृत अम्बिका सापकोटाले लेखा, पृथीबहादुर थापाले जिन्सी र सुरेश पुनले रोजगार सेवा केन्द्र गरी १८ वटा शाखाले हालसम्म सम्पादन गरेका योजना तथा कार्यक्रमको प्रगति प्रस्तुत गरेका थिए ।
पालिकाका विकास समिति संयोजकहरुको समेत सहभागिता रहेको कार्यक्रममा नगर प्रमुख नरबहादुर पुनले कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्दा काम गर्न सहज भएकाले यसलाई अझ सशक्त रुपमा कार्यान्वय गर्नुपर्नेमा जोड दिएका थिए ।
नगर उपप्रमुख हरिहर शर्माले कार्ययोजनासहित योजना तथा कार्यक्रमलाई प्राथमिकीकरण गरेर कार्य गर्दा कार्य सम्पादनमा सहज हुने बताए । प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले सामूहिक प्रयत्नका कारण कार्य सम्पादन गर्न सहज भएको बताए । प्रगति तथा समिक्षा कार्यक्रम योजना अधिकृत प्रेम प्रसाद सापकोटाले सहजीकरण गरेका थिए ।





