शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

राजतन्त्र फर्किदैन : प्रधानमन्त्री ओली

राजतन्त्र फर्किदैन : प्रधानमन्त्री ओली


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ ९ २०८२, शुक्रबार

पोखरा/ एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राजतन्त्र नफर्किने बताएका छन् । राष्ट्रिय युवा संघको दशौं राष्ट्रिय महाधिवेशनको आज पोखरामा उद्घाटन गर्दैै ओलीले यस्तो बताएका हुन् ।

‘जनताको कुण्डलीले भन्छ, कुनै राजतन्त्र, साजतन्त्र फर्किँदैन, प्रतिगमन यस देशमा हुन सक्दैन’, ओलीले भने, ‘यही जेठ १५ गते राजालाई सिंहासनमा राख्छन रे, घरैमा सिंहासन बनाएर राखे भो । देशको राजसिंहासन त गयो, गइसक्यो । देशको राजसिंहासनको कल्पना, कस्तो दिमाग होला भनेको ।’ राजतन्त्रलाई नेपाली जनताले फालिसकेको उनले बताए । राजतन्त्र कहाँ हराईसक्यो, संविधान अर्को बनिसक्यो, संसद छ, राष्ट्रपति छ, न्यायलय छ, लोकतान्त्रिक व्यवस्था छ र हामी छौँ भन्दै उनले फेरी राजतन्त्र ल्याउँछु भन्ने सपना कसैले नदेख्न चेतावनी दिए । जसलाई पायो त्यसलाई समात्दै पछार्दै, मार्दै, खाँदै गरेको राजतन्त्रलाई खोरमा हालेर, खोरबाट पनि निकालेर मुन्ट्याएर फ्याँकिदिएको उनको भनाई थियो । ‘१५ गते ल्याउने रे, कस्ता सपना देख्छन उनीहरु । जेठ १५ गतेपछि अरु १५ गते भन्छन फेरि । अस्तिनै वैशाख ११ गते ल्याउँछौँ भने’, राजावादीतर्फ इंगीत गर्दै उनले भने, ‘बैशाख ११ गते राजाले घुँडा टेकेको दिन, जनताको खोसिएको अधिकार फिर्ता भएको दिन, संविधानमा बस्छु भनेर संसद पुनस्र्थापना गरेर कायलनामा गरेको दिनलाई युवाहरुले उत्सवको रुपमा मनाए, अनि उनीहरुले जेठ १५ गते सारे ।’

आफुले पनि गुरुजी, गुरुजी भनेका प्रज्ञा प्रतिष्ठानका उपकुलपति बनाएका, गुरुङजी ज्योतिष हेर्नुहुन्थ्यो भन्दै उनले ज्ञानेन्द्रको कुण्डली हेरेर राजा भइहाल्ने देख्नुभयो रे भन्दै प्राडा जगमान गुरुङप्रति उनले कटाक्ष गरे । ‘उहाँलाई मेरो कुण्डली पठाइदिन्छु, हेर्नुहोस अनि थाहा हुन्छ । एउटाको कुण्डली हेरेर हुन्छ, अरुको पनि हेर्नुहोस, हाम्रै कुण्डली हेर्नुहोस, जनताको कुण्डली हेर्नुहोस के भन्छ’ उनले भने । राजावादीको चुरीफुरी भ्यागुताको ट्वारट्वार भन्दै ओलीले यो ट्वारट्वार केही समयपछि आफै सकिने दावी गरे । अढाई सय वर्षको राजतन्त्र कालमा केके भयो म त्यता जान चाहान्न भन्दै ओलीले दरबार हत्याकाण्डपछि हामीले लखेटैकै पूर्वराजा भनिएका, भवितव्यले राजा भएका ज्ञानेन्द्र शाहले गरेको काम पनि देखेका बताए । तीन वर्ष शासन हातमा पार्दा, कानमा घुसेको कन्सुत्लोजस्तो उफ्रेको उफ्र्यै, चिथोरेको चिथोरेइ गरेको पीडादायक समय उनले सम्झिए । यसबिरुद्ध जनता उठेर १९ दिनपछि हतियारधारी राजालाई घुँडा टेकाएको भन्दै ओलीले फेरि पनि कुनै किसिमका जनविरोधी, देशद्रोही क्रियाकलापको चेस्टा हुन्छ भने जनशक्तिले त्यस्ता शक्तिलाई धुलो चटाउने उल्लेख गरे । ‘प्रधानमन्त्री भाग्ने तयारी गरुन, भाग्नको लागि हेलिकप्टरको सुविधा दिन्छौँ रे, केके सपना देख्न थाले यिनीहरु । कसले बोल्या हो मैले त्यति याद गरिन । तर, एउटा उत्ताउलो मान्छेले बोलेको छ’ उनले भने, ‘प्रतिगमन रोक्न, राष्ट्रिय हितको रक्षा गर्न जनताको हकअधिकारको रक्षा गर्न अग्रभागमा रहने पार्टी भनेको नेकपा एमाले हो । त्यसकारण सबैभन्दा बढि प्रहार भइरहेको छ । साथीहरु यसका निम्ति आफ्नो ठाउँमा स्पष्ट र तयार रहनुहोला ।’

उनले उनले सर्वसम्मतीले नेतृत्व चयन गर्न आग्रह गरे । बाहिरी तत्व कसैले पनि युवा संघको कार्यक्रममा बेथिती ल्याउँछु भन्ने सोच्छ भने त्यो कल्पनामात्रै रहेको भन्दै उनले त्यो हिम्मत नगर्न सुझाव दिए । ‘युवासंघले आफ्नो काम आफै गर्छ । युवासंघ, युवासंघका पूर्वपदाधिकारीहरु, इन्चार्ज, अन्य जनसंगठनका नेताहरु यहाँ हुनुहुन्छ’, उनले भने ‘तपाइहरु स्वस्थ ढंगले अधिवेशन सम्पन्न गर्नुहोस मेरो आग्रह छ । म यसकारण पनि पोखरा आएँ कि यो पोखरामा तीन वर्ष पञ्चायतको अत्यन्त कठोर शासनकालमा जेल बसेको छु । पोखरासँग मेरो गहिरो सम्बन्ध छ ।’ पोखरामा युवासंघको अधिवेशनले नयाँ उचाई, किर्तीमान प्राप्त गर्नेछ भन्ने विश्वास उनको थियो ।
राष्ट्रिय युवा सङ्घको महाधिवेशन पोखरामा सुरु
नेकपा एमालेको भा्रतृ सङ्गठन राष्ट्रिय युवा संघको १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा सुरु भएको छ । महाधिवेशनको एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।  करीव २ हजार प्रतिनिधि सहभागी रहेको महाधिवेशनको उद्घाटन सत्र अमरसिंह चौरमा भइरहेको छ । बन्दसत्र भने पोखरा सभागृहमा हुने छ । यसपटक समितिमा रहनका लागि उमेर सीमा ४० वर्षमा सिमिति गरिएको छ । महाधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, उपमहासचिव, चार सचिवसहित १५१ सदस्यीय नयाँ समिति चयन गर्नेछ ।

नेतृत्वमा हालका अध्यक्ष क्षितिज थेबेसहित पाँच नेताले आकाङ्क्षा देखाएका छन् । उपाध्यक्षहरू महाराज गुरुङ, कृष्णहरि केसी, प्रकाश गौतम र महासचिव सुमन पुरी अध्यक्ष बन्न इच्छुक रहेको युवा संघमा चर्चा चलेको छ । पार्टी नेतृत्वले भने थेबेलाई अध्यक्ष दोहोर्‍याउन चाहेको छ । नेतृत्व चयन सर्वसम्मत् बनाउन एमाले र युवा संघका नेताहरु लागिपरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->