पोखरा/ संसदीय पत्रकार मञ्च गण्डकीद्वारा आयोजित एकदिने संसदीय पत्रकार अभिमुखीकरण शनिवार सम्पन्न भएको छ । काठमाडौंको आरआर क्याम्पसको पत्रकारिता विभागका प्रमुख, पत्रकार एवं लेखक डा.जगत नेपालले सहभागीहरुलाई नेपालमा संसदीय अभ्यास, अभिलेख र अनुसन्धान, संसर र यसको क्षेत्राधिकार विषयमा प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले पत्रकारितालाई संसद र जनताको सेतु बनाउनुपर्ने उल्लेख गर्दै समाजमा चुनौती थपिएको बताए । उनले संरचनात्मक सुधार हुँदै गरेको जानकारी दिए। ‘जनताको अपेक्षा विकास हो, तर संसदको धर्म नीति निर्माण हो। त्यही कुरा जनतालाई बुझाउने जिम्मेवारी तपाईंहरूको हो,’ उनले भने । उनले कुनै पनि बिधेयकमाथि गम्भिर छलफल, अध्ययन विनै कानुन बन्ने गरेको उल्लेख गर्दै हालसम्म बनेका कानुनहरु कत्तिको प्रभावकारी र व्यवहारिक छन् भन्ने विश्लेषण गर्नुपर्ने बेला आएको बताए । सामाजिक संजाल हावी हुँदा सही समाचार छुट्टाउन समस्या परेको भन्दै उृनले यसलाई पत्रकारिताको माध्ययमबाट मर्यादित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
उपसभामुख विनाकुमारी थापाले संसदको प्रमुख कार्य नीति निर्माण भएको उल्लेख गर्दै पत्रकारलाई विकास निर्माणप्रति मात्र जनताको ध्यान केन्द्रित नगराई नीति निर्माणप्रति पनि सचेत गराउनुपर्ने बताइन्। सार्वजनिक लेखा समितिका सभापति सुधिरकुमार पौडेलले पत्रकारिताको महत्त्वबारे औंल्याउँदै यो निष्पक्ष र सन्तुलित हुनुपर्ने बताए । सामाजिक सञ्जालको बढ्दो प्रभावले पत्रकारितामाथि प्रश्न उठ्न थालेको उनको भनाई थियो । राप्रपाकी प्रमुख सचेतक विन्दु पौडेलले पत्रकारिता जनतालाई सचेत र सत्तालाई प्रश्न गर्नुपर्नेमा जोड दिइन । उनले वर्तमान संविधान स्वीकार गरेर संसदमा काम गरिरहेको उल्लेख गर्दै पत्रकारहरू सत्य र तथ्यमा आधारित रहेर मात्र समाचार लेख्न आग्रह गरिन्।
गण्डकी प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलले गण्डकी प्रदेश सभाको दुई कार्यकालबारे जानकारी दिनुका साथै एउटा बिधेयक प्रदेशसभा सचिवालयमा दर्ता भएदेखि ऐन बन्ने सम्मको प्रक्रियाबारे प्रस्तुति गरेका थिए । संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष भरत कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य बासु पौडेलले गरेका थिए ।





