पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगमी वर्षको बजेटमा नयाँ योजनाको प्रवेश कम हुने बताएका छन् । गण्डकी प्रदेश सभाको आजको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले सिमित स्रोत साधनका कारण सबै अपेक्षा पुरा गर्न नसकिने अवस्था रहेको जनाए ।
जनता र सांसदहरुको अपेक्षा धेरै रहेका र ती अपेक्षा, आवस्यकता र चाहनालाई सम्बोधन गर्न पाए हुन्थ्यो भन्ने सरकारलाई लागेको भए पनि प्रदेश सरकारसंगको सिमिति स्रोत र साधनले एकैचोटी पुरा गर्न सक्ने अवस्था नरहेको उनले स्पष्ट पारे । ‘प्रदेश मात्र होइन आर्थिक अवस्थाका कारण संघले पनि अपेक्षा पुरा गर्न सक्ने अवस्था छैन्’, उनले भने । बहुवर्षे योजनाको दायित्वले चेपिएको र योजनाको भुक्तानी दिन सक्ने अवस्था पनि नरहेको उनले सुनाए । यसैगरी चालु वर्ष संघ सरकारले झन्डै २ अर्ब बित्तीय समानीकरण अनुदान नदिदाको बोझले प्रदेश थिचिएको र त्यो बोझलाई हल्का गर्न चाहेको उनको भनाई थियो । ‘यस्तै कारणले बजेटमा नयाँ योजनाको प्रवेश कम हुनसक्छ । हाम्रो जुन अवस्था छ त्यसबाट बाहिर कसरी निस्किन सकिन्छ भन्ने तर्फ सोचिदिन सांसदसंग अनुरोध गर्छु’ मुख्यमन्त्री पाण्डेले भने, ‘बहुवर्षे र गौरवका आयोजना कसरी सम्पन्न गर्ने भन्ने विषय प्राथमिकतामा छन ।’ ५० लाख रुपैयाँसम्ममा सकिने खानेपानीका योजना भए त्यसलाई पुरा गर्ने र आउने वर्षमा सक्ने गरी बहुवर्षे सडकका योजनामा बजेट बिनियोजन गर्ने योजना उनले सुनाए ।
प्रदेशलाई निश्चय पनि आत्मनिर्भर र समुन्नत प्रदेश सुखी प्रदेशबासीको नारालाई साकार पार्न आत्मनिर्भरतर्फ प्रवेश गर्नुपर्ने भएकाले विद्युत, खानी तथा खनिज, घरेलु मदिरा, वन, राइड शेयरीङ नियमावाली अघि ल्याइएको, यसले राजस्वको दायरा बढाउन सहयोग पुग्ने उनले बताए । चालु अधिवेशनमा नीति तथा कार्यक्रम, बजेटसंगै हिउँदे अधिवेशनमा पेश भएर दफाबार छलफलमा रहेका १० बिधेयक पारितका लागि सदन र संसदीय समितिको पूर्ण सहयोग रहने विश्वास उनको थियो । उनले राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमाले गठबन्धन भएको र सरकार स्थिरतातर्फ गएको उनले दावी गरे । दुई दलीय गठबन्धन २०८४ सम्मै जाने भन्दै उनले सुशासनको क्षेत्रमा गण्डकी प्रदेश सरकारलाई कसैले औला उठाउन नसक्ने अवस्थामा रहेको बताए । उनले राजतन्त्र कहिल्यै नफर्किने पनि बताए ।





