पोखरा / नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको नेतृत्वका लागि आज मतदान हुँदैछ । निर्वाचन समितिका अनुसार अहिले बिहान ८ बजेदेखि मतदान हुनेछ । प्रमुख निर्वाचन अधिकृत मदनप्रसाद तिवारीले जारी गरेको सूचना अनुसार बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुने कार्यतालिका छ ।
विद्युतीय मेसिनबाट हुने मतदान हुनेछ । मतदान लगत्तै मतगणना सुरु गरिनेछ । मतगणना सकिएपछि निर्वाचन परिणाम घोषणा हुनेछ । पोखरामा पहिलोपटक युवा संघको महाधिवेशन भएको हो ।
अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले प्यानलसहित प्रतिस्पर्धा गर्ने भएका छन् ।
थेबेको पक्षबाट उपाध्यक्षमा महाराज गुरुङ र बिनय शाहले उम्मेदवारी दिएका छन् । गुरुङ अध्यक्षका दाबेदार थिए । त्यस्तै थेवेको प्यानलबाट महासचिवमा महेश चौलागाई र उपमहासचिवमा उपेन्द्र शाहीको उम्मेदवारी परेको छ ।
क्षितिजको प्यानलबाट खुला सचिव मदन भण्डारी, देबु बस्नेत, महिला सचिवमा निशा लिम्बु र मधेशी सचिवमा मोबिन आलमले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, आयोग अध्यक्षहरुमा लेखा आयोगमा किसुन जैशी, निर्वाचन आयोग मदन गिरी, अनुसशान आयोगमा मोहम्मद मिजाम र युवा विज्ञ परिषदमा चीन लामा तय भएका छन् ।
पार्टी नेतृत्वले क्षितिजलाई सर्वसम्मत अध्यक्षका लागि अघि सारेको थियो । तर सुमन पुरीले अडान नछाडेपछि क्षितिजले पनि मैदान छाडेनन् र नेतृत्वकै चाहना बमोजिम उनी अध्यक्ष र महाराज उपाध्यक्षमा समायोजन भएको दावी छ ।
अध्यक्षका अर्का दाबेदार कृष्णहरी केसीले नेतृत्वको आग्रहपछि थेबेलाई समर्थन गरेर मैदान छाडेका छन् । महाराज गुरुङलाई थेबेको उमेर हद नाघेपछि प्रक्रियासम्मत ढंगले अध्यक्ष हस्तान्तरण गर्ने भद्र सहमति गरिएको छ ।
अध्यक्ष पुरीको प्यानलबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतमको उम्मेदवारी परेको छ भने महासचिवमा कुबेर अधिकारी र उपमहासचिवमा खेमराज शर्मा उम्मेदवार छन् ।
त्यस्तै, सचिवमा खुलातर्फ ध्रुव खड्का र अरुण कुँवरको उम्मेदवारी परेको छ भने महिला सचिवमा रेशु तामाङ र मधेशीतर्फ चितरन्जन यादवले उम्मेदवारी दिएका छन् ।
पुरीको प्यानलबाट आयोग अध्यक्षतर्फ निर्वाचन आयोगमा शिव रिमाल,लेखा आयोगमा विक्रम गुरुङ, अनुसशान आयोगमा अजयजंग शाही र युवा विज्ञ परिषदको अध्यक्षमा मोदनाथ सिलवाल सन्तोषको उम्मेदवारी परेको छ ।
सुमन पुरीले आफूलाई अध्यक्ष केपी शर्मा ओलीकै चाहनाको उम्मेदवार बताएका छन् । कोही एकजना पार्टीको र अर्को फरक उम्मेदवार नभएको भन्दै उनले संगठनमा गरेको योगदान र न्यायको लागि आफू प्रतिस्पर्धामा उत्रिएका बताएका छन् ।
उनलाई निवर्तमान उपाध्यक्ष अमित लामाले साथ दिएका छन् भने अध्यक्षका दाबेदार प्रकाश गौतम उनको टिमको उपाध्यक्षमा सेट भएका छन् ।





