पोखरा / गण्डकी प्रदेश सभाका सदस्यहरुले मंगलबारको सभा बैठकमा पनि विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । शुन्य समयमा बोल्दै उनीहरुले आफ्नो क्षेत्रमा विकास निर्माणलगायत विषयको उठान गरे ।
एमालेकी देवका पहारी त्रिपाठीले पर्यटनको राजधानी घोषणा गरे पनि पोखरामा आवस्यक पूर्वाधार बन्न नसकेको बताइन् । उनले पोखराको लेकसाइडमा सुविधायुक्त सार्वजनिक शौचालयको सुविधा उपलब्ध नभएको जनाइन् । बाराहीचोकस्थित सार्वजनिक पार्कमा स्मार्ट चर्पी, पर्यटन प्रहरी बिट र पर्यटन सूचना केन्द्रसमेतको व्यवस्था गरी नेपाली कलाकृति झल्कने खालको सामाजिक भवनसहतिको पार्क निर्माण गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराइन् । एमालेकै निर्मला थापाले ५० लाखमा सम्पन्न हुने खानेपानी योजनालाई प्राथमिकता दिने भने पनि कालीगण्डकी गाउँपालिकामा संचालित बारीचौर लिफ्टिङ खानेपानी योजना २० लाख रुपैयाँ भए सम्पन्न हुने अवस्थामा पनि बजेट अभाव भएको भन्दै सरकारसंग बजेटको माग गरिन् ।
कांग्रेसका प्रकाश बरालले संघीय र प्रदेश सरकारका मुख्यालय र कार्यालयहरु रहेका सहिदचोकदेखि मालपोत कार्यालयसम्मको सडक बनाउन माग गरे । कर तिर्न मालपोत गएर फर्किएका नागरिक खाल्डोमा परेर कतै घाइते भएर उपचारमा प्रदेश सरकारको खर्च बढ्ने होकी भन्ने होकी भन्दै उनले व्यंग गरे । ‘यो बाटो कहिले र कसले बनाउने हो भन्ने प्रश्न गर्छु’ उनले भने । एमालेका बेदबहादुर गुरुङले ग्राभेललाई उपकरण प्रयोग गरेर उठाउन पाउनु पर्ने बताए । एमालेकै भीमबहादुर कार्कीले गत वर्ष केही योजनाको डिपीआर बनाउने भनिएकोमा बजेट फ्रिज भएको भन्दै अवको बजेटमा ती योजनाका लागि बजेट बिनियोजन हुनुपर्ने माग गरे । एमालेकी सीताकुमारी सुन्दासले गमीसंगै वर्षायाम पनि सुरु भएको र झाडापखाला र डेंगुजस्ता रोगको जोखिम पनि बढेको भन्दै सबै सचेत हुनुपर्ने बताईन । उनले प्रदेशले खरीद गर्ने औषधी गुणस्तरीय हुनुपर्ने बताइन । एमालेकै श्यामराजा महतले तनहुँका ढोरबराही मन्दिर, गोदुमकोट (दुईहजार ढोर), भुजीकोट, मानुङकोट, थर्पुकोट, अकला मन्दिर, तीनखोले देवी, दर्गाम र राइबीर कोटलाई धार्मिक पर्यटनको केन्द्रमा समावेश गर्न माग गरे ।





