पोखरा / पोखरामा जारी युवा संघ नेपालको १०औं महाधिवेशनको निर्वाचनमा १ हजार ४०४ मत खसेको छ । कुल १ हजार ७६४ मतदाता थिए । पोखरा सभागृहमा मंगलबार बिहान १० बजेदेखि ४५ वटा विद्युतीय मेसिनबाट मतदान भएको थियो । तर, फर्जी मतदाताको विषयलाई लिएर बीच बीचमा मतदान प्रक्रिया अवरुद्ध भएको थियो ।
अहिले मुचुल्का उठाउने काम भइरहेको छ । मतगणना आजै हुने निर्वाचन समितिले जनाएको छ । मुचुल्का तयार पारी डेढ घण्टाजति पछिबाट मतगणना सुरू गर्ने निर्वाचन समितिको तयारी छ । विद्युतीय भोटिङ भएकाले नतिजा छिट्टै आउनेछ ।
निर्वाचनमा निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीको प्यानल चुनावी मैदानमा छ । थेवे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह छन् । पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार छन् । महासचिवमा थेवे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन् । महाधिवेशनमा ६४ पद निर्विरोध भएकोले ९ पदाधिकारीसहित ९३ पदमा निर्वाचन भएको हो ।





