पोखरा/आइतबार प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले प्रदेशसभामा आर्थिक वर्ष २०८२÷०८३ को बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता पेश गरे ।
देशको विकासका लागि एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणा लिएको छ । कांग्रेसले भने १४ औँ महाधिवेशनबाट ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ अवधारणामा गएको छ ।
मुख्य प्रतिस्पर्धी र ठुला यी दुई दलको गठजोडको सरकार संघदेखि प्रदेशसम्म नै छ । यी दुई दलको सरकार बनेपछि पहिलोपटक गण्डकीले बजेट ल्याउँदैछ । त्यसको सिद्धान्त र प्राथमिकतामा पनि यी दुवै दलको विकासको अवधारणाको फ्युजन देखिएको छ ।
‘आत्मनिर्भर र समुन्नत प्रदेश ः सुखी प्रदेशवासी’ को प्रादेशिक प्रतिबद्धा कार्यान्वयनमा सहयोग पु¥याउने दिशामा सिद्धान्त र प्राथमिकतालाई केन्द्रित गरेको छु,’आर्थिक मामिलामन्त्री गुरुङले प्रदेशसभामा भनेका थिए ।
‘आत्मनिर्भर र समुन्नत प्रदेश, सम्मानित प्रदेशवासी’ कांग्रेसले अँगालेको अवधारणा हो । तर, अहिले भने पछिल्लो वाक्यमा सुखी प्रदेशवासी राखिएको छ । दुईवटा दलको नीति बजेटका सिद्धान्त र प्राथमिकतामा परेपछि माओवादीले भने त्यसलाई व्यंग्य गरेको छ ।
मंगलबारको प्रदेशसभा बैठकमा विपक्षी दल माओवादी केन्द्रकी प्रमुख सचेतक कुसुम बुढा पुनले १३ सिद्धान्त ३३ वटा क्षेत्रगत प्राथमिकतामा राखेर सबै क्षेत्रमा केही गर्न खोजे जस्तो तर स्पष्ट लक्ष्य पहिल्याउन नसकेको कर्मकाण्ड पूरा गर्नमात्रै ल्याएको अर्थात अलमलिएको जस्तो देखिएको बताइन् । यो वर्षदेखि काम सुरु गरी यहा पु¥याउने छौँ भनेर अघि बढ्नुपर्ने, स्टेप र आधार तय हुनुपर्नेमा नभएको उनको भनाई थियो । ‘सिद्धान्त र प्राथमिकता गन्जागोल छ । उद्देश्य कर्मकाण्ड पूरा गर्न मात्र नभई परिणाण दिने खालको हुनुपर्छ,’उनले भनिन् ।
सत्तापक्षका दुई दलले आफ्ना नारालाई राख्न खोजेका देखिने तर कुरा नमिलेर टाउको र पुच्छर काटेर नारा ल्याइएको भन्दै उनले व्यंग्य गरिन् ।
राप्रपाकी प्रमुख सचेतक बिन्दु पौडेल यो बजेट पर्ने औपचारिकतामात्र नभइ जनताको सपना र राष्ट्रको भविष्यको दस्तावेज भएकाले सिद्धान्त र प्राथमिकताले अघि सारेका विषयको कार्यान्वयन हुनुपर्ने बताइन् ।
छलफलका क्रममा सत्तापक्षका सांसदहरुले सिद्धान्त र प्राथमिकताको बचाउ गदै समर्थन जनाए भने विपक्षी दलले भने आलोचना गर्दै कार्यान्वयनमा शंका गरे । छलफलमा भाग लिँदै कांग्रेसका सांसद अशोककुमार श्रेष्ठले सिद्धान्त र प्राथमिकता धेरै राम्रो लागेको बताए । केही कुरा प्रष्ट पार्ने खालको भन्दै उनले आत्मनिर्भर र समुन्नत प्रदेश सुखी प्रदेशबासी भन्ने प्रादेशिक नारालाई सार्थक बनाउने खालको रहेको उनको भनाई थियो । सिद्धान्ततः सबै क्षेत्र समेट्ने प्रयास गरेको, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा जोड दिएको उनले बताए । ‘केही छुटेको भए, बजेटले सम्बोधन गर्ला । समग्रमा अर्थतन्त्रलाई मजबुत बनाउन प्रदेशको आर्थिक बिकासमा निजी र सहकारी क्षेत्रलाई उपयोग गर्ने भनिएको छ,’उनले भने ।
इन्भेष्ट गण्डकी कार्यक्रम महत्वपूर्ण रहेको र यो आर्थिक समृद्धिमा फड्को मार्ने संभावना रहेको उनले बताए । बाहिरी मात्र नभई आन्तरिक लगानीकर्तालाई पनि आकर्षित गर्नुपर्ने उनले उल्लेख गरे ।
एमालेका लिलबहादुर थापाले सिद्धान्त र प्राथमिकताको स्प्रिडलाई हेर्दा एउटा गति दिन खोजेको भन्दै नैतिक समर्थन जनाए । कैयौँ कुराहरु पूर्ति गर्नुपर्ने अवस्था रहेको भन्दै उनले संयुक्त सरकारको अवधारणा अनुसार योजनाहरु मार्गदर्शन हुनेगरी आएमा यो अझै राम्रो हुने बताए । उनले सहकारीका अस्तव्यस्ततालाई नियमन गर्ने निर्देशिका बनाएर व्यवस्थित ढंगले अघि जानुपर्नेमा जोड दिए ।
कांग्रेसकी पार्वती तामाङले प्रदेशबासीको भावना समेटेको बताइन भने एमालेकी देवका पहारी त्रिपाठीले समर्थन गर्दै विगतका सिद्धान्त र प्राथमिकता कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्नुपर्ने र पहुँचको आधरमा बजेट राखियो भन्ने गुनासो सुन्न नपरोस भन्ने बताइन ।
माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीले सिद्धान्त र प्राथमिकताले सबैतिर छुन खोजेको भन्दै यसबाट परिणाम नआउने दावी गरे । आवश्यकता के हो भन्ने विषय छुट्टाउन र युवापुस्तालाई सम्बोधन गर्न नसकेको उनको भनाइ थियो ।
माओवादीकै हरिबहादुर भण्डारीले कस्तो बजेट ल्याउने भन्ने सिद्धान्त र प्राथमिकताले तय गर्ने भएकाले गम्भिर भएर छलफल गर्नुपर्ने बताए । तर, दुई तिहाइको सरकारले ल्याउने बजेट बरालिने त होइन भन्ने शंका उब्जिएको भन्दै उनले अस्थिरता देखाउदै बरालिएको बजेट ल्याउने सरकारले यसपटक पाठ सिकोस् भन्ने सुझाव दिए ।
राप्रपाका पञ्चराम गुरुङले योजनामा त्यति आत्मविश्वास नभएको बताए । उनले गरिनेछ, संभावना छ भन्नु ढुलमुले नीति रहेको भन्दै प्रष्ट रुपमा गर्नेछौँ र हुन्छ भनेर लेख्नुपर्ने बताए ।





