बागलुङ/जिल्लाका पाँच पालिका पूर्ण खोपयुक्त घोषणा भएका छन् । दश पालिका रहेको जिल्लाका ढोरपाटन, जैमिनी, गलकोट, बागलुङ नगरपालिका र ताराखोला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
बाँकी रहेका बरेङ, निसीखोला, तमानखोला, बडिगाड र काठेखोला गाउँपालिकालाई जेठ १५ गतेभित्र घोषणा गरिसकेपछि आगामी जेठ २५ गतेभित्र बागलुङ जिल्लालाई नै पूर्ण खोपयुक्त घोषणा गर्ने तयारी भईरहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए । बरेङलाई आज पूर्ण खोपयुक्त पालिका घोषणा गरिँदैछ ।
हरेक वर्ष बालबालिकाले पाउनुपर्ने खोप पुरा भएमा दक्ष नागरिक उत्पादन गर्न सहज हुने नेपाल सरकारले लक्ष्य राखेको छ । सोहीअनुसार हरेक वर्ष सबै बालबालिकालाई आवस्यक सबै खोप लगाएर पूर्ण खोप र दिगोपनाको घोषणा गर्ने खत्रीले बताए ।
धेरै अभिभावकले आफ्ना बाबुनानीलाई जन्मनेबित्तिकै खोप दिनुपर्छ भन्ने जानकारी पाएपनि कति अभिभावक खोपबारे जानकार नहुुँदा बालबालिका अहिले पनि खोपको पहुँचभन्दा बाहिर रहेको खत्रीको भनाइ छ । ‘खोप पाउनु सम्पूर्ण बालबालिकाको अधिकार भएजस्तै आफ्ना बालबालिकालाई सबै खोपको मात्रा लगाउनु अभिभावकको पनि कर्तव्य हो,’ खत्रीले भने, ‘खोपले बालबालिकालाई सरुवा रोगसँग लड्ने शक्ति प्राप्त हुन्छ ।’
पालिका स्तरीय खोप समन्वय समितिले शुन्यदेखि १५ महिना उमेर समुहका ६ सय ८ जना बालबालिका,, १६ देखि २३ महिना उमेर समुहका ४ सय ५४ जना र घरधुरी सर्वेक्षणको क्रममा खोपको मात्रा पूरा नगरेका १० जना बालबालिकालाई समेत खोपको दायरामा ल्याइएर ढोरपाटनलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
गलकोटमा जन्मेदेखि १५ महिनाका ४ सय २७ जना बालबालिका र १६ देखि २३ महिनाका ३ सय २७ जना बालबालिकालाई पूर्ण खोप पूर्ण खोप दिएपछि नगर सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जनस्वास्थ्य अधिकृत सुशील पौडेलले जानकारी दिए ।
घोषणा कार्यक्रममा सरोकारवालाहरुले पूर्वाधार निर्माणभन्दा पहिलो प्राथमिकता मानवीय विकासमा लगाउनुपर्ने धारणा व्यक्त गर्दै पूर्ण खोप अभियानले आमा र शिशुको स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । खोप कार्यक्रमलाई दिगोपना दिन वक्ताहरुले नीति तथा कार्यक्रम र बजेटमार्फत् सम्बोधन गर्नुपर्ने आवश्यकता आंैल्याएका थिए ।





