बागलुङ/गणतन्त्र दिवशको पुर्वसन्ध्यामा जिल्लामा विभिन्न क्रियाकलापहरु संचालन भएका छन् । गणतन्त्र दिवश मुल समारोह समितिको आयोजनामा बुधबार सरकारी कार्यालय, बजार तथा सार्वजनिक स्थलको सरसफाइ कार्यक्रम गरिएको हो ।
बुधवार बिहान ट्राफिक चोकमा जम्मा भएका राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र स्थानीयले सफाइ अभियान चलाएका थिए । उक्त अबसरमा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले सरसफाइ गर्ने हाम्रो आफ्नै संस्कार र संस्कृति भएपनि पछिल्लो समय बजार क्षेत्रमा यो संस्कार हराइरहेको बताए । दिवशहरुमा यो अभियान चलाएपछि मात्र स्थानीयले साथ दिने गरेको उनको भनाई थियो ।
सरकारी कार्यालयहरुले नै नियमित सफाइ नगरेपछि समस्या भएको समेत सरोकारवालाले बताएका छन् । जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइ, लोकसेवा आयोग, सडक डिभिजन, वन, खानेपानी, सिंचाइ, पर्यटन तथा उद्योग लगायतका धेरै कार्यालयको परिसर अत्याधिक फोहोर देखिएको थियो । ती स्थान सफाइ नगरेमा वर्षातमा डेंगी लगायतका प्रकोप फैलन सक्ने, लामखुट्टेको समस्या पर्ने समेत उनीको भनाइ थियो ।
साथै, घरमा उत्पादन हुने फोहोर पनि उचित व्यवस्थापन गर्नसरसफाईका क्रममा सुझाव दिइएको थियो । कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, सहायक प्रजिअ पुष्पराज पौडेल, रेडक्रस सोसाइटीका पदाधिकारी समेत सहभागि थिए ।

तेह्र जनाले गर्नुभयो रक्तदान
गणतन्त्र दिवशकै अवसरमा नेपाल रेडक्रस सोसाइटी बागलुङको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङसहित १३ जनाले रक्तदान गर्नुभएको छ । नेपाल रेडक्रस सोसाइटी बागलुङका उपसभापति राजेन्द्र आचार्यका अनुसार, त्यसबाहेक कतिपय रक्तदाताले आवस्यकताको आधारमा रक्तदान गरिरहनुभएको छ । यो अभियानमा लियो क्लब लगायतका युवाहरु पनि सम्पर्कमा छन् ।

मानवसेवा आश्रममा खाद्यन्न वितरण
गणतन्त्र दिवशकै अबसर पारेर बागलुङ उद्योग बाणिज्य संघले मानव सेवा आश्रममा खाद्यान्न बितरण गरेको छ । उक्त अबसरमा अध्यक्ष राजनकुमार शाक्य सहितका पदाधिकारी आश्रम पुगेर खाद्यान्न सामाग्री वितरण गरेका हुन् ।
आश्रममा ५५ जना आश्रितहरु हुनुहुन्छ । उहाँहरुको लागि चामल, दाल लगायतका खाद्य सामाग्री,सरसपाmइ सामाग्री समेत गरी १७ हजार रुपियाँको सामान बितरण गरिएको अध्यक्ष शाक्यले बताए । खाद्यान्न वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुङ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य युवराज राजभण्डारी, गण्डकी प्रदेश सदस्य नरेश कंडेल सहभागि रहेको महासचिव इन्द्रमणी पौडेलले जानकारी दिए ।
कारागारका कैदीबन्दीलाई खेलकुद सामग्री प्रदान
त्यस्तै गैर सरकारी संस्था महासंघले बागलुङ कारागारमा रहेका कैदीबन्दीकालागि खेल सामाग्री बितरण गरेको छ । कारागारमा बस्नेहरुले घरभित्र खेलिने खेलहरु पनि खेल्न नपाएको गुनासो आएपछि महासंघले खेलकुद सामाग्री सहयोग गरेको अध्यक्ष मुक्तिराम सापकोटाले जानकारी दिए । त्यस बाहेक बिहिबार गणतन्त्र दिवशको मुल समारोह अघि प्रभातफेरी आयोजना गरिएको जिल्ला समन्वय प्रमुख थापाले जानकारी दिए ।





