सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सडक बनेको २२ वर्षपछि जुम्लीखोलामा पक्कि पुल

सडक बनेको २२ वर्षपछि जुम्लीखोलामा पक्कि पुल


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १६ २०८२, शुक्रबार

बागलुङ/दक्षिण बागलुङको मेरुदण्ड मानिने बागलुङ र गुल्मी जोड्ने सडकअन्तर्गत जुम्लीखोलामा सडक निर्माणको २२ वर्षपछि मोटरेबल पुल निर्माण भइरहेको छ । २०५६ सालदेखि निर्माण सुरु भएको सडकमा २०६५ देखि यातायात सञ्चालनमा आए पनि जैमिनी नगरपालिका–१ मा पर्ने जुम्लीखोलामा पुल निर्माण हुनसकेको थिएन । जुम्ली खोलामा पक्कि पुल नबन्दा हरेक बर्खायाममा यातायात ठप्प हुन्थे । खोलामा निर्माण भएको सडक हरेक वर्ष बगाउँदा पैदलयात्रीलाई समेत कठिन हुने गरेको थियो ।

सडक खुलेको २२ वर्षपछि यहाँ पुल निर्माण सुरु भएको हो । स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखराले २०८१ साल असार २३ गते पुल निर्माणका लागि बिमए÷जयकालीका भगवती जेभीलेलाई जिम्मेबारी दिएको थियो । २०८२ साल पुस १५ गते निर्माण सक्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर जनकराज पन्तले बताए ।

पन्तका अनुसार एक करोड ९४ लाख ५१ हजार ९ सय ६४ रुपियाँ लागतमा निर्माण गर्न थालिएको हो । हालसम्म ८० प्रतिशत भौतिक प्रगति भैसकेको पुलका अधिकांश काम सकिएका छन् । जुम्लीखोलामा १५.८० मिटर लामो र ८.४० मिटर चौडा पुल बन्ने छ । निर्माण कम्पनीले असजिलो काम सकेको र सामान्य काम मात्रै बाँकी रहेकाले सम्झौता मितिअगावै काम सम्पन्न हुने पन्तले बताए ।

जुम्लीखोला पुल बनेपछि जैमिनीसहित दक्षिण बागलुङ र गुल्मीका हजारौँ नागरिकले सहज रूपमा यात्रा गर्न पाउने छन् । पुल निर्माणले जैमिनी नगरपालिका र दक्षिण बागलुङको विकासमा महत्वपूर्ण योगदान गर्ने जैमिनीका उपप्रमुख हरिहर शर्माले बताए ।

एसियाली विकास बैंकको सहयोगमा २०५६ सालमा निर्माण सुरु भएको दुई जिल्ला जोड्ने प्रमुख सडक भए पनि यो सडकका केही जोखिमपूर्ण खोलामा पक्कि पुल बन्न सकेका थिएनन् । यहीं सडकअन्तर्गत यसै वर्ष जैमिनी नगरपालिका ९ र १० को सिमानामा पर्ने ठेउलेखोलाको रुम्टामा पनि पक्कि पुल निर्माण भैरहेको छ । पुल निर्माणपछि स्थानीय उत्पादनको बजारीकरणमा थप टेवा पुग्ने विश्वास गरिएको उपप्रमुख शर्माको भनाइ छ ।

‘पुल बनाउँदा महत्वपूर्ण कुरा मुख्य संरचनाको हो, यो पुलमा मुख्य संरचना बनेर स्ल्याप राख्ने काम सकिएको छ’ पन्तले भने ‘निकै मेहनतपछि जुम्लीखोलाको पुल तयार हुने अवस्थामा पुगेको छ ।’ पुल निर्माणको काम अन्तिम चरणमा पुगेकाले सम्झौता मितिभन्दा अगावै काम सकिने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->