बागलुङ/धौलागिरि प्रादेशिक अस्पतालमा संचालित निशुल्क आँखा शिविरमा ५४ जनाको अपरेशन गरिएको छ । मोतियाबिन्दुको समस्या भएर वर्षौदेखि रोग पालेर बसेका बिरामीहरुले उपचारपछि राहत पाएका छन् ।
धौलागिरि प्रादेशिक अस्पतालको आयोजनामा धौलागिरि आँखा अस्पताल र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा बिरामीहरुले लाभ लिएका हुन् । शिविरमा शुल्यक्रियामार्फत गरिएको उपचारले आँखाको रोग निको भएपछि संसार देखेझै लागेको भन्दै बागलुङ नगरपालिका वडा नं. ८ का यामबहादुर खड्काले खुशी व्यक्त गरे । उनले लामो समयदेखि मोतियाबिन्दुको समस्याले आँखा नदेख्दा सास्ती खेप्दै आएका थिए ।
शल्यक्रियाबाट आँखाको ज्योती फर्केपछि खड्काले शिविर संचालन गर्नेलाई पनि धन्यवाद दिए । शिविरमा ८० जनाको शल्यक्रिया गर्ने लक्ष्य भएपनि कतिपयले पोखरा जाने वा अन्य स्थानमा उपचार गरेकोले यहाँ थोरै भएको आँखा रोग बिशेषज्ञ डा. नारायणी भट्टराई रोकाले जानकारी दिइन् । नेत्रज्योती संघमार्फत संचालित आँखा अस्पतालले पनि पछिल्लो समय ग्रामीण क्षेत्रमा शिविरमार्फत उपचार गराउन थालेको अध्यक्ष बिन्दुसागर राजभण्डारीले बताए ।
यस्तै, बडिगाड गाउँपालिकाको आयोजना, लायन्स क्लब अफ धौलागिरिको सह–आयोजनामा बडिगाडमा पनि निशुल्क शल्यक्रिया सहितको आँखा शिविर सम्पन्न भएको छ । मंगलबार र बुधबार भएको शिविरमा बडिगाडका ३ सय ७० जनाको आँखा परीक्षण गरिएकोमा १७ जनाको अपरेशन समेत गरिएको हो । पाल्पा र पोखरा पुग्नुपर्नेहरुले गाउँमै सेवा पाएपछि खुसी भएका छन् ।
उपचार गरेकाहरुलाई गाउँपालिका अध्यक्ष गण्डकी थापाले फलफूल तथा औषधी वितरण गरेकी थिइन् । उनले बिरामीको उपचारमा थप सहयोग गर्ने समेत बताइन् । पालिका तहमै शिविर संचालन गरेर यसअघि पनि बडिगाडले महिलाको पाठेघरको क्यान्सर विरुद्दको स्क्रिनिङ गराएको थियो । ग्रामीण क्षेत्रका बासिन्दा सहरमा गएर सिधा उपचार गर्न नसक्ने भएपछि शिविरमार्फत उपचार गराइएको हो । पालिकाले दिर्घरोग लागेका बिरामीको उपचारमा खर्च सहयोग गर्दै आएको छ ।





