बागलुङ/गणतन्त्रको विकल्प राजतन्त्र कहिले पनि नहुने सरोकारवालाले बताएका छन् । १८ औं गणतन्त्र दिवशको अवसरमा बागलुङमा क्रियाशिल राजनीतिक दलका नेताहरुले गणतन्त्रलाई संस्थागत विकास गर्न र जनताको चाहना अनुसारको काम गर्न नसक्दा पछिल्लो समय प्रश्न भने उठेको उनीहरुको भनाई छ ।
व्यवस्थालाई सुधार गर्न आउने टिकाटिप्पणीबाट सिकेर दलहरुले सुधारिएको गणतन्त्र बनाउनुपर्ने धारणा समेत राखे । गणतन्त्र स्थापनाको १८ वर्ष पुगिसक्दा पनि राजनीतिक नेतृत्व नफेरिनुले जनतामा चरम निराशा आएको पनि उनीहरुको भनाइ थियो । सरोकारवालाले राजनीतिक नेतृत्वको सुझबुझपुर्ण निर्णय नभए राष्ट्रको भविष्य पनि अन्यौल बन्ने टिप्पणी गरे ।
शुक्रबार बागलुङमा ‘गणतन्त्रको संस्थागत विकास र शासकीय सुधार’ विषयक अन्तरक्रिया भएको हो । उक्त अवसरमा संविधानसभाका सदस्य प्रकाश शर्मा पौडेलले संसारकै उत्तम शासकीय व्यवस्था राखेपनि पात्र र प्रवृत्तिमा सुधार नभएकोले जनतामा निरासा आएको बताए । ‘हामीले पहिला सबै कानून बनाएर मात्र निर्वाचनमा जाऔंभन्दा नेतृत्व नै हतार गरेको हो’ पौडेलले भने, ‘कानून बनाउन छुटेपछि धेरै काम अधुरा भए ।’ पहिलो चरणमा संघको निर्वाचन गर्ने त्यसपछि प्रदेश र स्थानीय तहमा पुग्न सकेको भएपनि कतिपय सुधार हुने उनले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापा, एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसी, माओवादीका प्रदेश सदस्य कुमार बिक्रम क्षेत्री, राष्ट्रिय जनमोर्चाका अध्यक्ष तेजबहादुर थापा, नेकपा एसका अध्यक्ष पिंगलराज गौतम, अन्तरपार्टी महिला संजालकी अध्यक्ष सीतादेवी सापकोटा कँडेल, प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, धौलागिरि बहुमुखी क्याम्पस प्राध्यापक संघका सभापति भक्तिराम न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।
माओवादीका केन्द्रीय सदस्य कृष्ण केसीको अध्यक्षता, नेपाली कांग्रेसका जिल्ला सचिव तथा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माको संचालनमा सम्पन्न कार्यक्रममा राजनीतिक दल, भातृ संगठन, युवा तथा विद्यार्थी संगठन, सामाजिक संस्था, नागरिक अगुवा समेतको सहभागिता थियो ।
गणतन्त्र दिवशको अवसरमा तीन दिनसम्म दर्जनबढी कार्यक्रमहरु सम्पन्न भएका छन् । सबै कार्यक्रममा राजनीतिक दलका नेता तथा कार्यकर्ता, सामाजिक संस्थाहरु, रेडक्रस, गैरसरकारी संस्था महासंघ, पत्रकार र अन्तरपार्टी महिला संजाल लगायतले सहभागिता जनाएका थिए । दर्जनबढी संस्थाले पनि यो अभियानमा सहभागिता जनाएका थिए ।





