सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ताराखोलामा शहीद तथा बेपत्ता योद्वा स्मृति पार्क निर्माण

ताराखोलामा शहीद तथा बेपत्ता योद्वा स्मृति पार्क निर्माण


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १८ २०८२, आइतबार

जनयुद्धकालमा ताराखोलाका २६ जना मारिएका थिए भने २ जना अझै बेपत्ता छन्

बागलुङ/जैविक गाउँपालिकाको परिचय बनाएको जिल्लाको ताराखोलाले शहीद तथा बेपत्ता योद्वा स्मृति पार्क निर्माण गरेको छ । गण्डकी प्रदेश सरकारको ५६ लाख र पालिकाको १८ लाख रुपैयाँ गरी ७४ लाख बजेटबाट ताराखोला गाउँपालिका वडा नं. २ अर्गलको दन्थुगयारमा पार्क निर्माण गरिएको हो ।

झण्डै १५ रोपनी क्षेत्रफलमा फैलिएको शहीद पार्कमा ताराखोलाका सहिदहरुको सालिक निर्माण गरिएको छ । देशमा चलेको दश वर्षे जनयुद्धकालमा ताराखोलाका छब्बीस जना मारिएका थिए भने दुईजना अझै बेपत्ता छन् । उनीहरुको अर्धकदको सालिक निर्माण गरेर पार्कमा राखिएको गाउँपालिकाका प्रवक्ता भद्रबहादुर घर्तीले जानकारी दिए ।

गाउँपालिका पार्कमा पुग्ने पदमार्ग तथा मोटरबाटो निर्माणमा पनि लगानी गरिरहेको छ । गाउँपालिकाले तीन वर्षदेखि शहीद परिवारलाई जीविकोपार्जनका लागि मासिक रुपमा एक हजार रुपियाँ भत्ता दिँदै आएको छ । ‘शहीद तथा बेपत्ताको योगदानको कदर गर्दै उहाँहरुको सम्झनामा पार्क निर्माण गरिएको हो,’ प्रवक्ता घर्तिले भने । पार्कमा थप संरचनाहरु निर्माणको काम चलिरहेको घर्तीले जानकारी दिए ।

पार्कको उद्घाटन मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानको क्रममा ताराखोलामा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । सो अवसरमा बोल्दै प्रचण्डले पार्क व्यवस्थित र सहिद मार्गलाई स्तरोन्नतिका लागि बजेट विनियोजनको लागि पहल गर्ने बचन दिएका थिए ।

सशष्त्र द्वन्द्वको बेला माओवादीकै अगुवाइमा श्रमदान गरेर खनिएको काठेखोला गाउँपालिका वडा नं. ४ बिहुँको रिजालचोकदेखि ताराखोला गाउँपालिका वडा नं. १, २ र ४ जोड्ने ४० किलोमिटर सडकलाई शहीद मार्ग नामाकरण गरिएको छ । जनश्रमदानबाट सडकको ट्याक खुलाइएपनि स्तरोन्नतिमा भने ढिलाइ भएको हो । यो सडक कालोपत्रका लागि विस्तृत अध्यय प्रतिवेदन (डीपीआर) बनेको ६ वर्ष भैसकेको छ । ठेक्का प्रक्रियामा जान नसक्दा शहीद मार्गमा वर्षौदेखि स्थानीयले जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

यो सडकले ताराखोलादेखि म्याग्दी जिल्लाको रुम जोड्छ । २०७५ सालको डिपिआरमा एक अर्ब लागतमा सबै सडक कालोपत्र गर्न सकिने स्टिमेट गरिएको थियो । पहिलो चरणमा बाह्रै महिना सवारी चल्ने बनाउन गाउँपालिकाले पहल गरेको थियो । बहुबर्षे ठेक्काका लागि गण्डकी प्रदेश सरकारमा लागिएकोमा २०७७ मा बजेट र योजना कटौति हुँदा शहीद माग पनि काटिएको थियो । अघिल्लो वर्ष २ करोड र गत वर्ष १ करोड ५१ लाख रुपैयाँ खर्चेर बनेको संरचनाबाहेक शहीद मार्गमा अन्य उपलब्ध हुन नसकेको गाउँपालिकाका सहायक प्रशासकीय अधिकृत जीतबहादुर सुनारले बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->