पोखरा/गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावलीको विरोधमा भएको सार्वजानिक यातायात ठप्पले सयौं परीक्षार्थी पोखरामा अलपत्र परेका छन् । निम्नमाध्यामिक तहको परीक्षा दिन पोखरा आएका देशभरका परीक्षार्थी पोखरामा अलपत्र परेका छन् । शनिबार पोखरामा भएको निमावी तृतीय तहको परीक्षाका लागि देशभरबाट पोखरा आएकाहरु शुक्रबार र शनिबार अलपत्र परेका हुन् ।
सार्वजानिक यातायात व्यवसायिले गरेको विरोधका कारण यात्रुहरु अलपत्रमा परेका हुन् । पर्साबाट आएका एमडी सरोज आलमले आफूहरुलाई घर जाने व्यवस्था गरिदिन आग्रह गरे । दिनभर पृथ्वीचोकमै बस कुरेर बसेका उनले आफूजस्तै सयौं विद्यार्थी अलपत्र परेको सुनाए ।
‘हामी निमावि तहको परीक्षा दिन पोखरा आएका हौं । परीक्षा दिएर पृथ्वीचोक आएका थियौं यहाँ यातायात बन्द रहेछ हामी विजोगमा प¥यौँ । लगभग दुइ बजेदेदि घाममा बस्यौँ,’उनले भने, ‘हामीसँग आफ्नो साधन छैन । यहाँ मजस्ता धेरै विद्यार्थी साथीभाइ, बहिनीहरु हुनुहुन्छ । कसरी फर्किने भनेर चिन्तामा हुनुहुन्छ ।’
यस्तै सल्यानबाट आएका भिमसेन ओलीले बस नचल्दा दिनभर पृथ्वीचोकमै बस्न बाध्य भएको सुनाए । उनले यात्रुलाइ अलपत्र पार्दा राज्य हेरेर बसेको भन्दै असन्तष्टि व्यक्त गरे । सल्यानकै कमला केसी ओलीले आउने क्रममा पनि यस्तै दुःख पाएको सुनाइन् । ‘विद्यालयबाट विदा लिएर आएको हुँ । गाडी नपाउँदा अस्तव्यस्त परियो । हामीलाई जाने व्यवस्था भइदिए हुनेथियो,’ उनले भनिन्, ‘जताबाट पनि आखिर जनताले नै दुःख पाउने रहेछ । राज्यले नागरिकलाई सास्ती दिन कहिल्यै नछाड्ने भयो ।’
उनीहरुलाई गनतव्य सम्म पु¥याउनका लागि सुरक्षा निकायले २० वटा बसको व्यवस्था गरेको छ । अलपत्रमा परेपछि प्रशासनको समन्वयमा विभिन्न विद्यालय, पर्यटकीय, निजी तथा ट्रकहरुमा समेत राखेर मुग्लिनसम्मको सेवा दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार प्रहरीको सुरक्षामा मुग्लिनसम्म लगिनेछ ।
‘आज शिक्षक सेवा आयोगको परीक्षा थियो । परीक्षा दिएर करिब १५–१६ सय विद्यार्थी अलपत्र पर्नुभएको थियो गाडी नपाएर र उहाँहरुलाई सबैसँग समन्वय गरेर मुग्लिनसम्म पुलिसको गाडीले स्कटिङ गरेर पठाएको अवस्था छ,’ उनले भने, ‘हामीले २० वटा गाडी पठाएका छौं । हामी अन्य अलपत्र यात्रुहरुको बारेमा छलफल गर्दैछौं ।’
उनका अनुसार स्कटिङ गरेर पठाएको गाडीलाई स्कटिङ गरेरै पोखरासम्म ल्याउने व्यवस्थापन गरिएको छ । प्रदेश सरकारले चैत ३१ गतेको मन्त्रिपरिषद् बैठकबाट राइड सेयरिङ सम्बन्धी नियमावली पारित गरेको थियो । सार्वजानिक यातायात व्यवसायीले उक्त नियमावली खारेजीको माग गर्दै शुक्रबारबाट गण्डकी प्रदेशमा अनिश्चितकालीन सार्वजानिक यातायात ठप्प पारेका हुन् ।
आन्दोलनको कार्यक्रमअन्तर्गत जेठ १९ गते देशभर सार्वजनिक यातायात ठप्प हुने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा सुरु भएको आन्दोलनका कारण यात्रुहरू मर्कामा परेका हुन् । व्यवसायीले विरोध जनाएपछि सरकारले वार्ता समिति बनाएको छ । मन्त्रालयका सचिव कमल कुमार अधिकारीको संयोजकत्वमा १३ गते नै समिति गठन भए पनि व्यवसायीहरू वार्तामा जान मानेका छैनन् ।





