सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

फोहोर व्यवस्थापनमा चुनौती खेप्दै जैमिनी

फोहोर व्यवस्थापनमा चुनौती खेप्दै जैमिनी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०८२, सोमबार

बागलुङ/विकास निर्माणसहित सफ्टवेयरका कार्यक्रममा सफलता पाएको जैमिनी नगरपालिकाले फोहोर व्यवस्थापनमा भने चुनौती व्यहोर्दै छ । हाल नगरपालिका केन्द्रदेखि जैमिनीधाम जाने सडक छेवैमा फालेको फोहोरले दुर्गन्ध फैलिएको छ । उचित व्यवस्थापन गर्न नगरपालिकाले सकेको छैन ।

पहिला जग्गा नपाएर सडक र खोला छेवैमा फोहोर फालेको जैमिनीले अहिले भने जग्गा प्राप्तिको समस्या भोगेको छ । निर्माणाधिन कुश्मीसेरा जैमिनीधाम सडक चौडा पार्दा हाल फालेको फोहोरको डंगुर सडकमै परेको छ । हाल जैमिनीधामदेखि कुश्मीसेरा जाने सडक निर्माणाधिन छ । सडक चौडा र स्तरीय बनाउने क्रममा उक्त फोहोर फाल्ने स्थान पनि भत्किएको छ । अब फोहोरको व्यवस्थापनमा नगरपालिकालाई थप चुनौती थपिएको छ । सडक चौडा पार्दा फोहोर सबै खोलामा जाने खतरा छ ।

फोहोरको व्यवस्थापनका लागि पहल भैरहेपनि व्यवस्थापनमा ढीलाई भएको नगर प्रमुख नरबहादुर पुनले बताए । ‘हामीले जग्गा त हेरिसकेका छौं, सुरक्षित स्थान पनि छ, तर नगरको नाउँमा पास गर्न अप्ठ्यारो भयो,’ पुनले भने, ‘उक्त जग्गामा सडक लैजादै छौं ।’ नगरपालिकाको वडा नं. ५ मा रहेको खोंचमा जग्गा व्यवस्थापन भैसकेको उनले बताए । औपचारिकता दिन बाँकी हुँदा फोहोर फाल्न ढिला भएको हो ।

‘तत्काल फोहोरको दुर्गन्ध पनि नआउने, खोला र सडकमा पनि फाल्नु नपर्ने स्थान भेटेका छौं, त्यसलाई औपचारिकता दिन बाँकी छ,’ पुनले भने, कम्तिमा ३० वर्षका लागि ४ रोपनी जमिनको व्यवस्थापन भएको हो ।’ थप जग्गा नगरकै नाउँमा किन्ने प्रक्रिया भने लामो भएको हो । उक्त जग्गा थोरै भएकोले थप खोजी भैरहेको पुनले बताए ।

फोहोर व्यवस्थापन र औद्योगिक ग्रामका लागि नगरपालिकाले तीन वर्षदेखि जग्गाको खोजी गरिरहेपनि ढीला भएको थियो । एकमुष्ठ जग्गा नपाउँदा रकम भएर पनि खर्चन नपाएको उपप्रमुख हरिहर शर्मा बताउँछन् । औद्योगिकग्रामका लागि कम्तिमा ३५ देखि १ सय रोपनी र फोहोरका लागि १५ रोपनी जमिन चाहिएको हो । स्थानीयले दिएको जग्गामा प्रशासकीय भवन बन्दैछ । ठेकेदारको लापरबाहीले गत माघमा म्याद सकिंदा भवनको ५० प्रतिशत मात्रै काम पुरा भएको छ । अन्य योजनाका लागि जग्गा खोज्दा नपाएपछि नगर कार्यपालिकाको टाउको दुखाइ भएको हो ।

जैमिनीमै निर्माण गर्न लागिएको नेपाल विद्युत प्राधिकरणको सवस्टेशन, प्रहरी चौकी लगायतको काममा जग्गा नै बाधक बनेको नगरप्रमुख पुनले बताए । ‘सानो ठाउँ छ, कसैले जग्गा दिंदैनन्, किन्नै खोज्दा पनि पाउन मुस्किल छ, प्रक्रिया पनि लामो छ । त्यसैले हाम्रा अधिकांस योजनामा असर परेको छ,’ पुनले भने, ‘पाखो क्षेत्रमा पुग्दा पनि सरकारी बजेट हो भनेर मनलाग्दी मूल्य भन्छन् ।’ उनले उचित जग्गा पाएमा केही देखिने काम गर्न सकिने लक्ष्य सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->