पोखरा/कास्की नेत्रहीन संघले सोमबार लेखनाथमा आयोजना गरेको अपाङ्गता सचेतनासम्बन्धी लोकगीत प्रतियोगितामा उर्जाशिल नेत्रहीन महिला समूह पोखरा—२६ प्रथम भएको छ ।
प्रतियोगितामा नेत्रहीन महिला समूहले दोश्रो स्थान हासिल गरेको छ भने तृतीय स्थान नमूना आमा समूह पोखरा—२६, रिठ्ठेपानीले प्राप्त गरेको छ । प्रतियोगितामा नेत्रहीन युवा संघ बुढिबजारले सान्त्वना स्थान प्राप्त गरेको छ ।
बिजेता समूह प्रथमलाई १० हजार,दोस्रोलाई सात हजार, तेस्रोलाई पाँच हजार र सान्तवना हुनेलाई तीन हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र बितरण गरिएको छ ।
पुरस्कार बितरण गर्दै, पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले भौतिक पूर्वाधारको स्तरोन्नतिलेमात्र विकासको मापन नहुने उल्लेख गर्दै, मानवीय संसाधनको बिकासमा ध्यान दिनुपर्ने बताए ।

वडा अध्यक्ष थापाले अपाङ्गप्रति विभेदभन्दा पनि अवसरको खाँचो रहेकोबारे आफू जानकार रहेको बताए । वडा सदस्य सुजता बराल सुनारले सवै क्षेत्रलाई समेट्ने गरी वडाले बजेट विनियोजन गरेको बताइन् । पोखरा २६ का सूचना अधिकारी नवराज सापकोटाले भौतिक पूर्वाधारहरु अपाङ्गमैत्री हुनु पर्नेमा जोड दिए ।
कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा लोकदोहोरी प्रतिष्ठान कास्कीका अध्यक्ष शिवहरि ढुंगाना, लक्ष्मी आदर्श क्याम्पसका सहायक क्याम्पस प्रमुख तारा शर्मा, अपाङ्ग महासंघका रमेश पोखरेल,कास्की नेत्रहीन संघका उपाध्यक्ष अमृत बराललगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष थापाले ४० जना दृष्टिविहीनलाई सेतो छडी, दुई जनालाई ह्वील चियर र पाँच जनालाई हेयर एड मेशिन बितरण गरिएको थियो ।





