पोखरा पोखरा महानगरपालिका वडा नंं २६ ले महिला तथा आमा समूहका लागि उद्घोषण र समूह व्यवस्थापन तालिम सोमबार देखी शुरु गरेको छ ।
तालिम शुभारंभ गर्दै वडाध्यक्ष नरेन्द्र थापाले महिलाहरुका लागि संचालन गरिएका कार्यक्रमहरु प्रभावकारी हुँदै आएको बताए ।
वडाध्यक्ष थापाले महिलाहरुको क्षमता र नेतृत्व विकासका लागि वार्षिक कार्ययोजना बनाई तालिम संचालन गर्दै आएको उल्लेख गरे । तालिमले महिलाहरुलाई आत्मविश्वासी र दृढ बनाएको बताउँदै, अध्यक्ष थापाले समूह र टोलबाट नयाँ नेतृत्व उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले अनुशासन र समय व्यवस्थापनमा महिलाहरु अब्बल हुने भएकाले तालिमको सिकाई प्रभावकारी हुन् अपेक्षा पनि गरे । मसिना कुराहरुको ज्ञान नहुँदा समूहलाई व्यवस्थापन गर्न कठिनाई भएको उल्लेख गर्दै अध्यक्ष थापाले तालिमपछि महिलाले नेतृत्व गरेका समूह सुदृढ हुने बताए ।
वडा सदस्य लक्ष्मीदेवी भट्टराईले क्षमता भएकाहरुको भूमिका समाजमा फरक हुने भएकाले सहभागीलाई तालिमले थप शक्तिकरण गर्ने बताए । वडा सदस्य सुजता बराल सुनारले क्षमता अभिबृद्धि र उद्यमशिलताका तालिमहरुले महिलाहरुलाई शसक्तीकरण र उत्पादनमा जोड्न सकिने बताइन् । कार्यक्रममा पोखरा–२६ का सूचना अधिकारी नवराज सापकोटाले व्यक्तित्व विकास र अन्तरनिहित दक्षतालाई प्रस्फुटन गर्न तालिम सहयोगी हुने उल्लेख गरे । प्रशिक्षक घनश्याम पाण्डेले ज्ञान हुँदा हुँदै पनि अभिव्यक्तिको माध्यम र विधि जानकारी नहुँदा महिलाहरु नेतृत्वदायी भूमिकामा देखिन समस्या भएको बताए । वडा सदस्य लक्ष्मी देवी भट्टराईको अध्यक्षतामा भएको तालिम शुभारंभ कार्यक्रमको संचालन कर्मचारी इन्दिरा रेग्मीले गरेकी थिइन् । एक सातासम्म संचालन हुने तालिममा एक सय २० जनाको सहभागिता रहेको छ ।





