बागलुङ/भवन बनेको एक वर्ष पुग्नै लाग्दा भवनको उद्देश्य अनुसारको सेवा संचालनमा समस्या भएको छ । बडिगाड गाउँपालिकाको पालिका अस्पताल संचालनमा बजेट र उपकरण अभाव भएको हो । झण्डै १५ रोपनी जमिनमा १८ करोड लागतमा बनेको घर उपयोगविहिन भएको छ । चार वर्ष लगाएर निर्माण सकिएपनि अस्पताल चलाउने विषयमा संघ र प्रदेशको चासो नभएको हो ।
बडिगाड ५ स्थित ग्वालीचौरको फाँटमा बनेको अस्पतालको विशाल भवन १५ शैयाको अस्पताल हो । तर यहाँ अस्पताल संचालन गर्ने कुनैपनि उपकरण छैनन् । न त चिकित्सक सहितको दरबन्दी नै छ । तत्काल संचालनका लागि चाहिने जनशक्ती, उपकरण र दैनिक संचालन खर्च अभावले संचालन गर्न नसकेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन् । पालिकाले दर्जनौ पटक स्वास्थ्य मन्त्रालय धाएर यो समस्याका बारेमा जानकारी गराईसकेको छ ।
प्रधानमन्त्रीले सिंहदरवारबाटै उद्घाटन गर्दा अस्पताल बनाएर संचालन गर्ने आश्वासन पाएपनि अहिलेसम्म संचालनको तयारी नभएको हो । देशभर अस्पताल उद्घाटनकै क्रममा पठाईएको पालिका स्तरीय अस्पतालको ‘ओएनएम’ अनुसार एक एमडिजिपी डाक्टर, एक जना मेडिकल अफिसर र दर्जनबढी स्वास्थ्यकर्मी दरबन्दी तय छ । तर यहाँका लागि एकजना पनि सरुवा वा पोष्टिङ भएको छैन ।
स्थानीयले धानखेत मासेर अस्पताल बन्ने भयो भन्दै जग्गा दान दिएका थिए । करोडौं खर्चेर विशाल भवन मात्रै बनेपनि संचालनमा नआएपछि स्थानीय समेत निरास छन् । ‘भवनका लागि सबै मिलेर जग्गा दान गरेका हौं, अहिलेसम्म संचालनको पत्तो छैन’ स्थानीय राजिव घिमिरे भन्छन्, ‘जनताले सेवा नपाए घरमात्रै बनेर के फाइदा ?’ जग्गादाता समेत अस्पताल नचलेको देखेर दिग्दार भएको उनले बताए ।
यहाँ चाहिने कुनैपनि उपकरण र सामाग्री आएको छैन । एक्सरे, भिडियो एक्सरे, अपरेशन थिएटर, सुत्केरी कक्ष, ओपिडी, बिरामी बस्ने शैया, अन्य फर्निचर समेतको व्यवस्थापन गर्दा न्युनतम ५ करोड खर्च लाग्ने प्रमुख प्रशासकीय अधिकृत मुक्ती पौडेलले बताए । ‘ग्रामीण क्षेत्रको पालिका, वर्षभरीमा एक करोड पनि राजश्व संकलन हुदैन, यस्तो पालिकाले कसरी अस्पताल संचालन गर्ने ?’ पौडेलले भने, ‘संघ र प्रदेशले कम्तिमा पहिलो पटकको लगानी गर्नुपर्छ ।’
नियमित संचालका लागि पनि वार्षिक १ करोड खर्च लाग्ने उनले बताए । चालु वर्ष १ करोड ६० लाख आन्तरिक राजश्व उठाउने लक्ष्य राखेको बडिगाड गाउँपालिकाले बैसाख मसान्तसम्म ७५ लाख रुपैयाँ मात्र संकलन गरेको छ ।
१० वडा रहेको पालिकामा ७ वटा मात्रै स्वास्थ्य चौकी छन् । सामुदायिक स्वास्थ्य इकाईमार्फत कतिपय स्थानमा बर्थिङ सेन्टर मात्र स्थापना भएको छ । जटिल समस्याको उपचार गर्नुपरे यहाँका बासिन्दाहरु पाल्पा, बुटवल र ७५ देखि ९० किमी यात्रा गरेर सदरमुकाम पुग्छन् । पूर्वाधारतर्फ त यो अस्पतालमा कर्मचारी र चिकित्सकका लागि आवास समेत तयार छ । पोष्टमार्टम कक्ष छुट्टै छ । आर्कषक भवन र पार्किङस्थल छ । तर सेवा प्रवाह गर्न नपाएपछि भवन जीर्ण बन्ने खतरा छ ।
अध्यक्ष थापाले भने यो भवन बनाएर मात्र जनताको स्वास्थ्य सेवा नहुने बताइन् । उल्टै जनतालाई रिस उठाउने काम भएको उनले टिप्पणी गरिन् । तत्काल संचालनका लागि पहल नभए भवन जीर्ण बन्दै जाने उनले चिन्ता व्यक्त गरिन् । अस्पताल चलाउने अवस्था बनेन भने पालिकाका कर्मचारीको आवास बनाइदिने अध्यक्ष थापाको चेतावनी छ ।





