सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

निसीखोलामा अन्तरजातिय जोडीलाई सम्मान

निसीखोलामा अन्तरजातिय जोडीलाई सम्मान


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २२ २०८२, बिहिबार

बागलुङ/१९ औं जातीय विभेद तथा छुवाछुत मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा निसिखोला गाउँपालिकामा विविध कार्यक्रमसहित विशेष दिवस मनाइएको छ । कार्यक्रम बिवाईसी बाग्लुङ को सहकार्य र निसिखोला गाउँपालिका–२ को आयोजनामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने उद्देश्यले नवजोडीहरूलाई खादा र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । सम्मानित जोडीहरूमा निसिखोला ३ का प्रिन्स विश्वकर्मा र झरना घर्ती मगर, वडा नं. ४ का बोम बहादुर विश्वकर्मा र राधा हमाल, तथा वडा नं. ६ का भीम विश्वकर्मा र मिना बुढा मगर रहेका छन् ।

कार्यक्रममा आयोजित ‘दलितको उत्पीडित अवस्था र महिला सशक्तिकरण’ विषयक वक्तृत्वकला प्रतियोगितामा जनहित आधारभूत विद्यालयकी देवी घर्ती प्रथम, जनप्रिय आधारभूत विद्यालयकी मुना खत्री द्वितीय, र पुनः जनहित विद्यालयकै चिरण परियार तृतीय भएका छन् । प्रतियोगितामा सहभागी अन्य विद्यार्थीहरूलाई पनि सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा अध्ययनमा थप टेवा पुग्ने अपेक्षासहित निसिखोला २ का २१ जना अनाथ, अति गरिब र जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्ति मगरले कार्यक्रमले जातीय सद्भाव, सामाजिक समावेशिता तथा दलित अधिकारको प्रवद्र्धनमा सकारात्मक सन्देश दिएको बताएका थिए ।

वडा नं. २ का वडा अध्यक्ष कुबिर विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत दलित सञ्जाल निसिखोलाका सचिव ठग बहादुर विश्वकर्मा र सञ्चालन बिवाइसी बागलुङका कर्मचारी ओम श्रीपालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->