बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

क्षयरोग खोज पड्ताल कार्यक्रमअन्तर्गत ३६९ नयाँ रोगी फेला

क्षयरोग खोज पड्ताल कार्यक्रमअन्तर्गत ३६९ नयाँ रोगी फेला


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ २२ २०८२, बिहिबार

पोखरा/ समुदायस्तरमै पुगेर क्षयरोगीको खोजी गर्ने उद्देश्यसाथ गण्डकी प्रदेश सरकारले संचालन गरेको क्षयरोग खोजपड्ताल कार्यक्रम अन्तर्गत ३६९ जना नयाँ क्षयरोगी पत्ता लागेका छन् । यो संख्या छाती (फोक्सो) को क्षयरोगको मात्र हो ।

स्वास्थ्य मन्त्रालयको अभियान अन्तर्गत प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र, पोखराले क्षयरोगीको खोजपड्ताल गरिरहेको छ । २०८१ असोज २ बाट क्षयरोगी पत्ता लगाउन नवलपुरको देवचुली नगरपालिकाको किर्तिपुर भन्ने स्थानबाट सुरु गरिएको स्क्रिनिङ हालसम्म जारी छ । केन्द्रका ल्याब टेक्निसियन निरीक्षक एवं कार्यक्रमका प्रदेश फोकल पर्सन राजेन्द्र रानाभाटका अनुसार हालसम्म २४ हजार जनाको एक्सरे गरिएको छ । १५ सय भन्दा बढीको खकार नमूना संकलन गरिएकोमा विहीबारसम्म ३६९ जना नयाँ क्षयरोगी पत्ता लागेकोमा २ जना निको नहुने क्षयरोगी रहेको उनले बताए । ‘कार्यक्रम प्रभावकारी भएको छ’, रानाभाटले भने, ‘स्क्रिनिङमा एआई एक्सरे मेशिन प्रयोग गरिएको छ ।’

धेरै भन्दा धेरै क्षयरोगी पत्ता लगएर सन् २०५० सम्ममा नेपाललाई क्षयरोगमुक्त बनाउने लक्ष्यका साथ सुरु गरिएको कार्यक्रम अत्यन्तै प्रभावकारी भएको प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले बताए । ‘हामीले यति धेरै संख्यामा फोक्सोको क्षयरोगी भेटिन्छन भन्ने लागेको थिएन,’ उनले भने, ‘समुदायमै पुगेर खोजपड्ताल गर्दा प्रभावकारी भयो ।’ छातीको एक्सरे गर्दा अन्य रोग पनि पत्ता लाग्ने भएकाले सर्वसाधारणलाई निकै फाइदा पुगेको भन्दै उनले समुदायस्तरबाट यो अभियानको बढी माग आएको बताए । छातीको एक्सरे गर्नुअघि केन्द्रले ११ वटै जिल्लाका जनस्वास्थ्य कार्यालयलाई पत्र पठाएर क्षयरोगको जोखिम समुह पत्ता लगाई पठाइदिन भनेको थियो । सोही पत्रका आधारमा कार्यालयहरुले संभावित स्थानको पहिचान गरी केन्द्रलाई जानकारी गराएका र तिनै स्थानमा स्क्रिनिङ भइरहेको रानाभाटले बताए । क्षयरोगको उच्च जोखिम रहेका व्यक्ति तथा समुदाय, क्षयरोगको औषधी खाइरहेका बिरामी बढी भएको स्थान, दीर्घरोगहरु जस्तै दम, मृगौला, मधुमेह, एचआइभी एड्स, कुपोषित बालबालिका, ज्येष्ठ नागरिक बढी भएको क्षेत्र, सामुहिक बसोबास गर्ने आवासीय घर जस्तै कारागार, गुम्बा, बृद्धाश्रम, शरणार्थी शिविर, मजदुरहरु बस्ने स्थान, धुलोधुँवा बढी हुने सिमेन्ट, इटाँ उद्योगजस्ता व्यवसायिक जोखिम उच्च भएका कार्यस्थल, स्वास्थ्यकर्मी भएको स्थानलाई छनौट गरिएको थियो । संभावित स्थान र जोखिम समुह छनौट भएपछि प्रचारप्रसार, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संचारकर्मी र सरोकारवालालाई अभिमुखीकरण गरिएको रानाभाटले बताए ।

रानाभाटका अनुसार एक वर्षको अवधिमा १२ स्थानमा स्क्रिनिङ गर्ने भनिए पनि हालसम्म ५२ स्थानमा स्क्रिनिङ गरिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले यो कार्यक्रमका लागि जम्मा ३० लाख रुपैयाँ छुट्टाएको थियो । तर कतिपय स्थानीय तहले खर्च व्यवस्थापन गरेकाले यति धेरै ठाउँमा कार्यक्रम गर्न पाइएको केन्द्रले जनाएको छ । २०८०/०८१ मा गण्डकी प्रदेशभर २७ सय ६६ नयाँ क्षयरोगी पत्ता लागेका थिए । प्रदेशलाई ५८ सय ४५ नयाँ रोगी वर्षेनी पत्ता लगाउने लक्ष्य दिइएकोमा यो वर्ष हालसम्म २१ सय जति बिरामी भेटिएका छन् । यही जेठ २४ गते स्याङजाको फेदीखोलामा स्क्रिनिङ कार्यक्रमको आयोजना गरिएको छ । जेठ २७ मा गोरखाको भिमसेन थापा गाउँपालिका, ३० र ३१ गते कास्कीको अन्नपूर्ण गाउँपालिमा स्क्रिनिङको कार्यक्रम छ । एकजना फोक्सोको क्षयरोगीले गाउँमा १५ र शहरमा भए २० देखि २५ जनासम्मलाई क्षयरोग सार्न सक्ने रानाभाटको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->