शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

विरोधको खासै आवाज सुनिएन, राइड सेयरिङ कार्यान्वयनमा जोड

विरोधको खासै आवाज सुनिएन, राइड सेयरिङ कार्यान्वयनमा जोड

एमाले सांसद महतले गीत गाएर नीति तथा कार्यक्रममाथि ब्यंग गरे


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ २३ २०८२, शुक्रबार

पोखरा गण्डकी सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि प्रदेश सभामा छलफल सुरु भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले गत बुधवार उक्त नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका थिए ।

पहिलो दिनको छलफलमा नीति तथा कार्यक्रमको खासै बिरोधको स्वर सुनिएन । विपक्षी दल माओवादी केन्द्रका सांसद हरिबहादुर भण्डारी र राप्रपा सांसद बिन्दु पौडेलले नीति तथा कार्यक्रमको कार्यान्वयनमाथि शंका गरे । एमाले संसदीय दलका नेता खगराज अधिकारीलगायत ११ जना सत्तापक्षका सांसदले भने नीति तथा कार्यक्रमको प्रशंषा गर्दै समर्थन जनाए । अधिकांश सांसदले राइड सेयरिङ कार्यान्वयनमा प्रदेश सरकारले घुंडा टेक्न नहुने बताए । एमाले सांसद श्यामराजा महतले गीतमार्फत नीति तथा कार्यक्रमप्रति व्यंग गरे ।

भण्डारीले झट्ट हेर्दा नीति तथा कार्यक्रम चालु वर्षकै आधार बनाएर ल्याएको देखिएको बताए । नतीजा केकेमा आउन सक्छ ? जीवनस्तर उठाउन कुनकुन कार्यक्रम रहेछ भनेर खोतल्दा महत्वपूर्ण योजना, कार्यक्रम, उत्पादन बढाउने क्षेत्रमा लगानी गर्ने भन्दा अभिमुखीकरण, तालिम, अध्ययन जस्ता कुरामा जोड दिएको उनको भनाई थियो । ‘प्रदेश सरकारले कम्तीमा पनि यो यो कार्यक्रम हाम्रो मौलिक र मोडेल हो भनेर लगानी केन्द्रीत गरी उत्पादन बढाउने केही नविन चीज आउला भन्ने सोचेको थिए,’ उनले भने, ‘तर अंकगणितको खेल खेल्नु नपर्ने सरकारले जनतामा खासै सन्देश दिन सकेन ।’  राजस्व बृद्धिमा स्पष्ट नीति आउला भन्ने लागेकोमा त्यसो हुन नसकेको भन्दै उनले राजस्व व्यवस्थापन कार्यालय खोलेर मात्र राजस्व बृद्धि नहुने बताए । छुट्टै कार्यालय आवस्यक होकी होइन भन्ने प्रश्न गर्दै उनले मुख्यमन्त्रीले खर्च कटौतिका लागि भएका संरचना खारेज गर्ने तर फेरी अर्को कार्यालय खोल्ने कुरा बिरोधाभाष जनाए । अर्थ मन्त्रालयको जनशक्ति शाखा, महाशाखा वा अर्को महाशाखा थपेर यसको काम गर्न सकिने उनको भनाई थियो । ताल प्राधिकरण खारेज गर्ने अनि जलवायु परिवर्तन र तालको संकटमाथि चिन्ता गरेको भन्दै उनले स्वास्थ्य क्षेत्रका अधिकांश कार्यक्रम वितरणमुखी र कर्मचारीमुखी रहेको बताए । राइड सेयरिङका बिषयमा सबै सांसद एकै ठाउँमा उभिनुपर्ने बताउँदै भण्डारीले मुख्मन्त्रीको अडानमा प्रदेशका ४० लाख जनता र प्रतिपक्षको साथ रहे पनि महिना दिनमै १६ हजार व्यवसायीले झुकाइदिएको बताए ।

राप्रपाकी पौडेलले भाषणको खेती धेरै भएकाले अव केही गरेर देखाउने बेला आएको बताइन । नीति बन्ने तर कार्यान्वयनमा जाने क्रममा बालुवामा पानी बिलाएजस्तो बिलाउने अवस्था हुन नहुने उनको भनाई थियो । शब्दले मात्र प्रदेश समृद्ध बन्न नसक्ने उनले बताइन । राइड सेयरिङप्रति प्रदेशले लिएको अडानको प्रशंसा गर्दै उनले कार्यान्वयनका लागि यातायात व्यवसायीसंग समन्वय आवस्यक रहेको र यसमा सबै एकै ठाउँमा उभिनुपर्नेमा उनले जोड दिइन । कांग्रेसका अशोककुमार श्रेष्ठले नीति तथा कार्यक्रमले धेरै कुरा समेटेको बताए । यो सरकारको प्रदेशबासीकालागि यी विषयलाई प्राथमिकतामा राखेर काम गर्दैछौ भन्ने प्रतिवद्धता रहेको उल्लेख गर्दै उनले प्रतिवद्धतासंगै कार्यान्वयनमा लैजान बजेटले सम्बोधन गर्न सक्ने बताए । ‘समग्रमा प्रदेशको समस्या समाधान गर्न, आन्तरिक आय बढाउन र जनअपेक्षा पुरा गर्नेतर्फ यो केन्द्रीत छ’ उनले भने, ‘इन्भेष्ट गण्डकीमा आन्तरिक लगानीकर्तालाई पनि समेटेकोले यो महत्वपूर्ण छ ।’ ।राइड सेयरिङलाई व्यवस्थित रुपमा अघि बढाउनुपर्नेमा जोड दिदै उनले जनताको अधिकारलाई कुन्ठित गर्न नपाइने बताए ।

कांग्रेसकै सुनीता थापाले नीति तथा कार्यक्रम सकरात्ममक उदेश्यसाथ ल्याइएको भन्दै समर्थन जनाइन । ‘नीति नागरिकेको अनुहारमा देखियोस, जसको अवसर बजेटमा नभई जीवनमा होस् । नीति राम्रो बनाउने मात्र नभई कार्यान्वनमा अब्बल बनाउनु पर्छ’, उनले भनिन, ‘योजना बनाउँदा कसका लागि, कसरी लागु हुन्छ, को जिममेवार छ भन्नेतर्फ ध्यान दिनुपर्छ ।’ अपांगता भएकालाई दया हो्इन अवसर दिइयोस भन्दै उनले बिशेष भनेर भन्ने तर योजनामा नपार्ने अवस्था नरहोस भनेर सरकारको ध्यानाकर्षण गराइन । नीति बिचारमा होइन व्यवहारमा हुनुपर्ने भनेकी उनले आफु युवा, जनजाति र महिला भएर हेर्दा सांस्कृतिक कार्यक्रम, तालिम वा अनुदानमा केन्द्रीत भएको देखेको बताइन । एमालेका लिलबहादुर थापामगर विगत वषकै अध्ययन, अनुसन्धान, निरन्तरता र परिपूर्तिको विषयमा समीक्षा गरि लिइएको जस्तो लागेको बताए । ‘अव योजना र कार्यक्रममा कति जान सक्छौ भन्ने कुरा हो । तीन तहका सरकारबीच समन्वयमा कमी छ’, उनले भने, ‘प्रदेशका एकल अधिकारका कानुन स्पष्ट रुपले बनाउनु पर्छ । राइड सेयरिङ केन्द्रले भने पछि यहाँ स्थगन गर्नुपर्यो । केन्द्रीकृत मानसिकता र चिन्तनले प्रदेशमाथि हस्तक्षेप भएको छ ।’ कांग्रेसकी पार्वती तामाङले प्रदेशको जनताको भविष्य जोडिएको नीति र कार्यक्रम प्रदेश सरकारको संकल्प रहेको भन्दै यसले प्रदेशलाई आत्मनिर्भरतर्फ केन्द्रीत गरेको र प्रदेशको बिकासमा कोशेढंगाु सावित हुने विश्वास व्यक्त गरिन् । एमालेकी निर्मला थापा र यसोदा रिमालले नीति तथा कार्यक्रमले सबै कुरा समेटेको भन्दै समर्थन जनाए । कांग्रेसकी टीकाकुमारी बस्याल र सरस्वती गुरुङले प्रदेशबासीको हितमा रहेको बताए । गुरुङले नीति तथा कार्यक्रम प्रदेशको विकासको आधारशीला मात्र नभइ समृद्धि र सुशासनतर्फको अटुट प्रतिवद्धता रहे्को उल्लेख गरिन् । साथै संघीयतामाथि वर्षिएको प्रश्नैप्रश्नको चाङमा उभिएको नीति तथा कार्यक्रम तमाम प्रश्नहरुको जवाफ रहेको, निराश जनताको उत्साह पनि रहेको उनको भनाई थियो । उनले राइड सेयरिङ प्रदेशके नयाँ आयको क्षेत्र रहेको भन्दै कार्यान्वयन हुनुपर्ने बताइन् ।

एमालेका सुधीरकुमार पौडेलले निरन्तरतामा नविनता थपिएको, आर्थिक बृद्धि कसरी गर्ने भन्ने चिन्ताका साथ खोजेका स्रोतलाई व्यवस्थित गरेर आम्दानी गरी आत्मनिर्भर बनाउन नीति तथा कार्यक्रमले स्रोतको खोजी गरेको बताए । कांग्रेसका बिकल शेरचनले २० वर्ष अघि नै मुस्ताङमा राइड सेयरिङ प्रचलनमा आएको जनाए । राइड सेयरिङ भरपर्दो यातायातको माध्ययम भएकाले प्रदेश सरकाले खुट्टा नकमाई कुनै पनि हालतमा कम्प्रोमाइज गर्न नहुने उनको भनाई थियो । यसले युवालाई स्वरोजगारको अवसर पनि दिएको उनले बताए ।

‘तिम्रो माया छ जताततै मलाई सम्झी रोएको हो कतै’
एमाले सांसद श्यामराजा महतले भने गीत गाएर नीति तथा कार्यक्रमप्रति व्यंग गरे । नीति तथा कार्यक्रमप्रति हामी सत्ता पक्षले खुशी मान्नै पर्ने बाध्यता उनले सुनाए । ‘हाम्रो दलको नेताले पूर्ण समर्थन गरिसक्नु भएको छ । यो मिठै लागे पनि नलागे पनि नुन चर्को भए पनि बिल्ल्नो भए पनि थ्यांक्यू भन्नै पर्यो’ उनले भने, ‘तर यसमा के छ भने ‘तिम्रो माया छ जताततै मलाई सम्झी रोएको हो कतै’ जसतो देखियो । छुटेका कुरालाई बजेटमा राखेर सुसज्ज्ति गरियोस् ।’
मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा ल्याएजस्तै अन्य जातिको पनि सम्मान गर्नुपर्ने उनले माग गरे । कालीवारीको एकजना मान्छे मिठो खान भन्दै डुंगा चढेर कालीपार रहेको ससुराली जाँदा भान्सामा उही ढिंडो र गुन्द्रुक देखेपछि तीनपटक हात टाउकोमा लगेर म डुंगा चढेर आए त कसरी आइस भनेर धिक्कारेको उखान हाल्दै उनले बजेट नभएको, साना योजना ल्याउन नपाईने, ठूला योजना हुँदै नहुने अवस्थाले खाए खाए नखाए घिच भनेजस्तो भएको सुनाए । गत वर्षको नीति तथा कार्यक्रम कत्तिको कार्यान्वयन भयो भनेर सोच्ने बेला आएको भन्दै उनले लेखेर मात्र जनताले आत्मसन्तुष्टी नगर्ने बताए।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->