पोखरा/तनहुँ जिल्लाको ऋषिङ गाउपालिका वडा नं. ५ पिपलटारमा रहेको पिपलटार युवा क्लबको आयेजना, रिभान फार्मेसी र कन्सेप्ट मेडि कन्सर्न प्रा. लि. सहकार्यमा आयोजित निशुल्क स्वास्थ शिविरमा १ सय ५० जनाभन्दा बढि सेवाग्राहीले सेवा लिएका छन् ।
निवर्तमान संघीय सांसद केदार सिग्देलले शिविरको उद्घाटन गर्दै ग्रामीण बस्तीहरुमा विशेषज्ञ डाक्टर आएर सेवा दिनु पुण्यको काम भएको बताए । उनले युवा जागरुक भइ समाजसेवामा पनि लाग्नु राम्रो कार्य भएको बताए ।
घिरिङ गाउँपालिका अध्यक्ष होमबहादुर थापा, ऋषिङ गाउँपालिका कार्यपालिका सदस्य विजय दरै, जय दुर्गा माध्यामिक विद्यालयका प्रधानाध्यापक कुलबहादुर दरै लगाएतले क्लबले अत्यन्तै अनुकरणीय कार्य गरेको धारणा व्यक्त गरे ।
क्लबका अध्यक्ष अनिल पाटा मगरले सहयोगी संघसंस्था तथा व्यक्तिहरुलाई धन्यवाद दिंदै आगामी दिनमा पनि हातेमालो गर्दै सामाजिक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कालीगण्डकी नदि किनार रहेको पिपलटारमा आयोजित शिविरमा ऋषिङका दरै गाउँ, पिपलटार, रुपटार र घिरिङका उम्से, करुवाटार, जितपुरका सेवाग्राहीले लाभ लिएका थिए । सो अवसरमा दाँत, मेडिकल, जनरल हाडजोर्र्नी, नसा सम्बन्धि रोग परिक्षण गर्नुका साथै निशुल्क औषधि वितरण गरिएको थियो ।
कार्यक्रममा कन्सेप्ट मेडिको फर्मा प्रा.लि.का मनोज सुवेदी लगाएत मेडिकल डाक्टर, महिला स्वास्थ स्वयंसेवीकाहरु सुशिला गिरी, सोमकुमारी थापा, बिमला आले र दरबारथोक मिडिया प्रालिका अध्यक्ष कृष्ण रानाभाटलाई सम्मान गरिएको थियो ।
क्लबका अध्यक्ष अनिल पाटा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन यमबहादुर पाटामगरले गरेका थिए ।





