बागलुङ/पश्चिम बागलुङको कठिन भूगोलमा अवस्थित तमानखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दीगोपना पालिका घोषणा गरिएको छ । जन्मेदेखि १५ महिना उमेर समूहका १ सय ६३ जनाले नियमित खोप लगाईरहेको र १६ देखि २४ महिना उमेर समुहका १ सय १४ जनालाई खोप दिएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
गाउँपालिकाका ६ वटै वडाका स्वास्थ्य संस्थाबाट बालबालिकालाई खोप दिँदै आएको स्वास्थ्य शाखा प्रमुख तिलबहादुर छन्त्यालले बताए । राष्ट्रिय खोप तालिका अनुसार तोकिएका उमेर समूहका सबै बालबालिकाले खोपको मात्रा पुरा गरेको छन्त्यालले जानकारी दिए । बालबालिकाहरुले पोलियो, दादुरा, हेपाटाइटिस, जापानिज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइड लगायतका रोगविरुद्ध पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पुरा गरेका छन् ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले कठिन भौगोलिक विकटताका बाबजुद पनि स्वास्थ्य क्षेत्रमा पालिकाले ठूलो परिवर्तन गर्न सफल हुँदा सबै बालबालिका खोपको पहुँच आएको बताए । ‘स्थानीय तह गठन हुनुअघि तीन वटा मात्रै स्वास्थ्य चौकी हुँदा हजारौँ नागरिक आभारभूत स्वास्थ्य सेवाबाट बञ्चित थिए’ अध्यक्ष बुढा मगरले भने, ‘विकट ठाउँमा स्थानीय सरकार गठनपछि नागरिकले सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाएका छन् ।’
तमानखोला क्षेत्रका सर्वसाधारण बिरामी हुँदा धामी झाँक्रीको झारफुक गर्ने चलन थियो । कमै मान्छे मात्र अस्पताल जाने गर्थे । बिरामी हुँदा अस्पताल जानुपर्ने र बालबालिकालाई नियमित खोप लगाउनु पर्ने सचेतना जगाएपछि अहिले सबै सचेत भएको अध्यक्ष बुढामगरले बताए । स्वास्थ्य सचेतनाले तमानखोलामा घरमा सुत्केरी हुनेको संख्या पनि अहिले शून्य छ ।





