
पोखरा / गण्डकी प्रदेश सरकारले स्थानीय सरकार मातहत रहेका विभिन्न ६ अस्पताललाई आफु मातहत ल्याउने भएको छ । स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले यही जेठ २३ गते मन्त्रिस्तरीय निर्णय गर्दै ती अस्पताललाई सरकार मातहत ल्याउन आवस्यक प्रक्रिया अघि बढाएका हुन् ।
स्याङजाको वालिङ र भीरकोट नगर अस्पताल, तनहुँको भानु नगरपालिकास्थित कालीमाटी अस्पताल, लमजुङको सुन्दरबजार अस्पताल, बागलुङको बागलुङ नगर अस्पताल र बडीगाड आधारभूत अस्पताललाई प्रदेश मातहत ल्याउन लागिएको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बताए ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार ६ अस्पताललाई स्तरोन्नति गर्ने प्रयोजनार्थ अध्ययन प्रतिवेदन पेश गर्नेगरी कार्यशर्तसहितको कार्यदल गठन समेत गरिएको छ । कार्यदलको संयोजकमा स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुखलाई तोकिएको छ । यसैगरी सदस्यहरुमा स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा जनसंख्या महाशाखा प्रमुख, प्रादेशिक स्वास्थ्य निर्देशनालय चिकित्सा तथा रोग नियन्त्रण शाखा प्रमुख, निर्देशनालयकै समन्वय शाखा प्रमुख रहेका छन् । यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत प्रतिनिधि, आर्थिक मामिला मन्त्रालयका अधिकृत प्रतिनिधिलाई पनि सदस्यमा राखिएको र स्वास्थ्य मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सदस्य सचिव तोकिएको छ ।
कार्यदलले आवस्यकता एवं औचित्यका आधारमा बैठक, छलफल, परामर्श, अन्तरक्रिया, अध्ययन र विश्लेषण गरी प्रतिवेदनमा समावेश हुनुपर्ने विषयको यकिन गर्नुपर्नेछ । यसैगरी भूगोल, जनसंख्या, नजिकको अस्पतालसम्मको दुरीलगायत विषय तथा उल्लिखित अस्पतालबाट प्रवाह भइरहेको सेवा, उपलब्ध भौतिक संरचना, जनशक्ति, औजार उपकरण, सेवाग्राहीको संख्या र आर्थिक अवस्थालगायतको विषय एवं स्तरोन्नति गर्दा आवस्यक हुने लागत लगयात विषयमा अध्ययन गरी अस्पताल सञ्चालनको उत्तम बिकल्प सिफारिश गर्ने रहेका छ ।

तनहुँको भानु नगरपालिकास्थित निर्माणाधीन कालीमाटी अस्पताल
प्रदेश सरकारले यसअघि आफु मातहतका १३ अस्पतालहरुको स्तरोन्नति गर्दै बेड क्षमता र दरबन्दी थपीसकेको छ । यो प्रदेशको स्वास्थ्य क्षेत्रमा एउटा फड्को रहेको मन्त्री पाठकको दावी छ ।





