पोखरा/बझाङकी सरस्वती बुढा गत फागुनमा पोखरा आइन् । उनका श्रीमान् गणेश पोखरामा बस्छन । गणेशले राम्रो स्याहारसुसार, आहारबिहार र नियमित गर्भ जाँचमा सहज हुने भन्दै गर्भवती श्रीमती सरस्वतीलाई पोखरा बोलाएका हुन् । पोखरा–४ मा सानो व्यवसाय गर्दै आएका उनी पछिल्ला ३ महिनायता सरकारी अस्पताल र स्वास्थ्य चौकी धाइरहेका छन् । त्यसरी धाउनुको एउटै कारण हो, सरस्वतीलाई आइरन फोलिक एसिड चक्कीको खोजी । बझाङबाट आउने क्रममा सरस्वतीले केही चक्की साथमै लिएर आएकी थिइन् । तर त्यसको उपभोग्य मिति गत चैतसम्ममात्र थियो । अहिले सरस्वतीले आइरन चक्की खान नपाएको तीन महिना पुग्न लागेको छ ।
‘मैलै श्रीमतीलाई नियमित चेकजाँच र स्वास्थ्य उपचार सहज हुन्छ भनेर पोखरा ल्याए, यहाँ झन सामान्य औषधिसमेत पाइएन । बैशाखदेखी प्रदेशकै ठूलो गण्डकी अस्पताललगायत शहरी स्वास्थ्य केन्द्रमा धाएको छु तर, आइरन चक्की पाएको छैन’, गणेश भन्छन्, ‘बझाङबाटै आइरन चक्की ल्याएका थियौं त्यो सबैको मिति सकिएछ । त्यसपछि अस्पताल जाँदा पाइन् ।’ आफुले औषधि किन नपाएको भनेर सोध्दा बजेट छैन, आएन भन्ने जवाफ पाएको उनी सुनाउँछन् ।
सरस्वती एउटा उदाहरणमात्र हुन् । पछिल्लो ३ महिनायता गण्डकी प्रदेशका सरकारी अस्पताल र स्वास्थ्य ंसंस्थाहरुमा आइरन फोलिक एसिड चक्कीको अभाव रहेको छ । यसले सरस्वती जस्ता हजारौ गर्भवती र लाखौ किशोरी प्रभावित भएका छन् । गर्भवती र किशोरीलाई आइरन चक्की खुवाउनै पर्ने अवस्था रहे पनि निशुल्क पाइने चक्कीको अभाव भएको हो । प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकीका तथ्यांक अधिकृत प्रविण भण्डारीका अनुसार यस वर्ष प्रदेशभरी ४१ हजार २ सय ३७ गर्भवती र २ लाख ५ हजार ३ सय २४ जना १० देखि १९ वर्षसम्मका किशोरीलाई आइरन चक्की खुवाउने लक्ष्य रहेको छ । अहिले अभाव हुँदा उक्त लक्षित समुह आइरन चक्की पाउनबाट बन्चित भएको हो । स्कुल स्वास्थ्य कार्यक्रम अन्तर्गत किशोरीहरुलाई १ वर्षमा २६ पटक र विद्यालय जानबाट बन्चित भएका किशोरीहरुलाई महिला स्वास्थ्य स्वयंसेवीका तथा नजिकको स्वास्थ्य संस्थाबाट आइरन चक्की खुवाईदै आइएको छ । गर्भवतीले भने नियमित रुपमा सेवन गर्दै आएका छन् ।
प्रादेशिक स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र पोखराका महानिर्देशक डा.रेखा पौडेलले प्रदेशमा आइरन फोलिक एसिड चक्कीको अभाव रहेको स्विकारीन् । संघीय स्वास्थ्य विभागले गत चैत महिनामा अचानक आइरन चक्की खरिद नगर्ने भएकाले प्रदेशले नै व्यवस्था गर्नु भनेर पत्र पठायो । सधै केन्द्रबाट आइरन चक्की आउने भएकाले प्रदेशले खरीद योजनामा राखेर बजेट पनि छुट्टाएको थिएन । ‘एकातिर संघबाट आइरन नआउने अप्रत्यासित पत्र आयो’, महानिर्देशक पौडेलले भनिन्, ‘अर्कोतर्फ हामीसंग तत्काल खरीद गर्नका लागि योजना र बजेट पनि नभएकाले अहिले प्रदेशभरी नै आइरनको अभाव हुन पुगेको हो । पहिल्यै हामीलाई खबर भएको भए कुनै न कुनै हिसावले आइरन खरीद गरिन्थ्यो । ढिला भएकाले तत्काललाई असंभव भयो ।’
स्वास्थ्य विभागले खरीद गरेर पठाउने आइरन प्रदेशले जिल्ला जनस्वास्थ्य कार्यालयले पठाएको लक्षित संख्या अनुसार सम्बन्धित जिल्ला र पालिकामा वितरण गर्दै आएको थियो । तर के कारणले यसपटक रोकियो भन्ने नखुलेको पौडेलले बताइन् । धेरै रगत बग्ने र रक्तअल्पता भएर कतिपय गर्भवती (सुत्केरी) को ज्यान जाने गरेको छ । साथै किशोरावस्थामा शरिरमा रगतको कमी नहोस् भनेर किशोरीलाई खुवाउने गरिएको छ । गण्डकी प्रदेशमा मातृ मृत्युदर राष्ट्रिय भन्दा बढी छ । मातृ मृत्यु अध्ययन २०७८ अनुसार प्रतिलाख सुत्केरीमा १५१ जनाले ज्यान गुमाउने राष्ट्रिय दर छ भने गण्डकीमा १६१ रहेको छ । यो तथ्यांकमा मृत्यु हुने मध्ये ३३ प्रतिशत प्रसुतिको बेला हुने उच्च रक्तस्राब हो । अन्य मृत्यु भने विभिन्न कारणले हुने गरेका छन् । यहि मृत्युको जोखिक कम गराउन आइरन फोलिक एसिडले ठूलो भूमिका खेल्ने भएपनि अभाव रहेको पौडेल बताउँछिन् ।
आइरन चक्की र फोलिक एसिड गर्भस्थ शिशु र आमाको स्वास्थ्यका लागि अत्यावश्यक मानिन्छ । आइरनले शरिरमा रगतको मात्रा बढाउँछ भने फोलिक एसिडले गर्भमा रहेको शिशुको मानसिक विकासमा ठूलो भूमिका निर्वाह गर्छ । गर्भवतीलाई भने आइरन र फोलिक एसिड मिसाएर बनेको चक्की खुवाईन्छ ।
महानिर्देशक पौडेलका अनुसार आइरन अभाव हुन नदिन अहिले खरीदका लागि आवस्यक बजेटको व्यवस्था गर्न लागिएको छ । यस विषयमा प्रदेशको आर्थिक मामिला मन्त्रालयलगायत सरोकारवालासंग छलफल भइरहेको उनको भनाई छ । ‘बजेट रकमान्तर गरेर भए पनि कम्तीमा १० लाख रुपैयाँ उपलब्ध गराउन हामीले आर्थिक मामिला मन्त्रालयमा फाइल पेश गरेका छौ’, उनले भनिन्, ‘अर्थ मन्त्रालयबाट मौखिक रुपमा उक्त रकम दिने आश्वासन मिलेको छ । रकम आएलगत्तै आइरन किनेर वितरण गर्छौ ।’





