तनहुँ/ जिल्लाको देवघाट गाउँपालिका-५ बद्रीमुक्ती टोलका ३२ वर्षीय प्रकाश पौडेललाई कुटपीट गरि हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका-८ नयाँपाटी बस्ने २८ वर्षीय बुद्ध सारु मगर, हेटौडा उपमहानगरपालिका-३ हटियाका ४२ वर्षीय राम लामा र महोत्तरीको बर्दिबास नगरपालिका-१ बस्ने ४६ वर्षीय जोगी भन्ने लोकबहादुर महत छन । उनीहरुले यही असार ५ गतेका दिन पौडेललाई कुटपीट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
सारु मगर र लामालाई असार ५ गते नै पक्राउ गरिएको थियो भने महतलाई चितवनको देवघाटस्थित रोटरी क्लबले संचालन गर्दै आएको बृद्धाश्रममा लुकेर बसेको अवस्थामा शनिवार पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीका सूचना अधिकारी एवं निरीक्षक आशिष बिकले बताए ।





