पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट बनाउने क्रममा निलोकोट अर्थात कर्मचारी हावी भएको भन्ने विषयलाई अति गम्भिरतापूर्व लिएको बताएका छन् । प्रदेश सभाको आजको बैठकमा बजेटमथि सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिदै उनले यस्तो बताएका हुन् ।
‘बजेट कसरी बन्यो ? निलोकोट हावी भयो की ? अर्थमन्त्रीलाई मन्त्रालयमा बस्न दिइएनकी भन्ने कुरा आएका छन्’, मुख्यमन्त्री पाण्डेले भने, ‘यसप्रति अहिले टिकाटिप्पणी गर्नुपर्ने आवस्यकता छैन । यस विषयमा गम्भिर र अति संवेदनशील छु । अति गम्भिरतापूर्वक लिएको छु । अहिले केही भन्न चाहन्न, परिणाम आएपछि तपाईले आफै महशुष गर्नुहुनेछ ।’ मुख्यमन्त्री पाण्डेको यो अभिव्यक्ति अर्थ सचिव राजेन्द्रदेव पाण्डेप्रति लक्षित थियो । बजेट बनाउँदा अर्थसचिव पाण्डेले हस्तक्षेप गरेको र आफ्नो वडा र पालिकामा योजना थुपारेको उनीमाथि आरोप लागेको थियो । प्रदेश सभामा केही सांसदहरुले बजेटमा निलोकोट हावी भएको भन्दै सरकारसंग जवाफ मागेका थिए ।
स्रोतहरुका अनुसार अर्थसचिव पाण्डेलाई प्रदेश सरकारले सरुवाको तयारी गरेको थियो । तर बिचमा सरुवा गर्दा गलत सन्देश जाने भन्दै बजेट पारित भएपछि सरुवा गर्नुपर्ने सल्लाह पाएपछि मुख्यमन्त्री पाण्डे तत्काल रोकिएका थिए । अर्थ सचिव पाण्डेलाई मुख्यमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय भइसकेको र केही समयमै उक्त निर्णय सार्वजनिक हुने स्रोतले बतायो ।
आफुले मिडियाका कार्यक्रममा गएर राम्रो, नराम्रो जेजस्तो भए पनि लेख्न भनेको र यसले गण्डकीमा सरकार छ, सरकारले काम गरिरहेको छ भनेर नेपाल र विदेशमा बसेर चासो राख्नेले थाहा पाउँछन भन्दै आएको उनले बताए । यसपटक भने सबैले चासो राख्न सक्नेगरी माननीयले बोलेको र मिडीयाले पनि लेखेको र त्यही बोल्न र लेख्नका लागि हाम्रो जीवनको धेरै सुनौला दिन अर्थात् दुखका दिन व्यतित गरेको उनको भनाई थियो । माननीय, पार्टीका साथीले फेसबुकमाा लेखेको कुरा र आमसंचार जगतमा आएका समाचारप्रति आग्रह पुर्वाग्रह नराखेको भन्दै उनले एउटा प्रजातान्बिक पारीपाटीमा विश्वास गर्ने व्यक्तिको नाताले यी कुरालार्इी सहज रुपमा लिएको बताए ।
आफ्ना बारे र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बारेमा केही कुरा नआए पनि केही कुरा भने उठेको उनले बताए । ‘कतिपयले डाइरेक्ट मलाई भनेका छन, कतिले मन्त्रीलाई भनेका छन, कतिले घुमाएर भनेका छन कतिपयले गीत र कविताबाट भन्नु भएको छ’, मुख्यमन्त्री पाण्डेले कविताबाट जवाफ फर्काए, ‘जुन दिन मन छ, तिम्लाई तारा दिन मन छ, नत सक्छु टिप्न जुन नत सक्छु तारा, दिउकी के हो मुटु वली कति टुक्रा बनाउ । कुन देवतालाई कति दिउ लौन मलाई सुनाउ ।’ प्रदेशको ढुकुटी कत्रो छ ? आवस्कयता र चाहना कति छन ? गर्नुपर्ने कति छ ? आफ्नो क्षेत्र, गाउँघर, जिल्ला र समग्र प्रदेशको । त्यसैले ढुकुटीको बारेमा सबैलाई ज्ञान भएकाले अहिलेको बजेटलाई फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काडै संसार भन्दै उनले सकरात्मक रुपमा यसलाई हेर्दा केही फड्को मारेको र नकरात्मक रुपमा हेर्ने केही पनि देखिदेन खालको रहेको बताए ।
अहिलेको बजेटमा भौतिक र उर्जा मन्त्रालय अन्तर्गत विगतको दायित्व कम गर्नेतर्फ केन्द्रीत रहेको उनको भनाई थियो । नीति तथा कार्यक्रमसंग अहिलेको बजेटको तादाम्यता मिलेको दावी गर्दै मुख्यमन्त्री पाण्डेले नीति तथा कार्यक्रमको प्रत्येक शिर्षकसंग बजेट जोड्ने प्रयत्न गरेको बताए । ‘धेरै होला, थोरै होला, अपुग होला, कथंकदाचित छुट भएमा विषयगत मन्त्रालयको बजेटको प्रत्येक बुँदासंग जोड्ने छौ’ उनले भने । १७ अर्ब पुरानो दायित्व रहेकोमा यो वर्ष ४ अर्बसम्म घटाउने प्रयत्नमा रहेको उनले बताए । बजेट कम भयो भनेर साथीहरुले राखेको कुरालाई अन्यथा नलिने भन्दै उनले रोष्टममा बसेर एकदम चर्को कुरा गरेर, अतिरन्जित र स्टन्ट गरेर जनताको ध्यान आफुबाट अकैतिर केन्द्रीत गर्दै निर्वाचन क्षेत्र र जिल्लाबाट आउने प्रश्नबाट उम्किनका लागि सांसदहरुले स्टन्ट गरेको आफुले बुझेको उनले बताए । ‘की कामले जनताको चित्त बुझाउनु पर्यो, कित स्टन्ट गरेर चित्त बुझाउने कोशिष गर्नुपर्यो’, उनले भने, किनकी यो राजनीति हो । यसलाई स्वभाविकरुपमा लिन्छु ।’ आफ्नो क्षेत्रमा धेरै भन्दा धेरै योजना पार्नुछ, जनताको मुखमा बुझो लगाउनु पर्छ भन्ने सांसदले रोष्टममा आएर खुद्रे योजना किन हालेको, ड्वाक्कै देखिने किन नहालेको भन्दै प्रश्न गरेको उनले बताए ।
पोखरा पर्यटन र प्रदेशको राजधानी भएको र गोरखामा पुरानो दायित्व बढी भएकाले सर्सति हेर्दा कास्की र गोरखामा बढी बजेट गएको देखिएको उनले बताए । पुरानो दायित्व घटाउन जोड दिइएकाले नयाँ योजना कति छन भनेर राम्रोसंग विश्लेषण गर्न उनले सासदहरुसमक्ष आग्रह गरे । मुस्ताङमा भन्दा गोरखाको एउटा क्षेत्रमा एउटै योजनालाई धेरै रकम विनियोजन गरेको भन्ने विषयमा उनले संघ संगको समपुरक योजनाका कारण यस्तो भएको भनेर प्रष्टाए । गोरखामा ९ वटा बहुवर्षे योजना रहेको र पुरानो दायित्व घटाउन ३६ करोड बजेट विनियोजन गरिएको भन्दै्र उनले आगामी वर्ष ७० करोड आवस्यक पनेर्् बताए । जो मुख्यमन्त्री र मन्त्री भएपनि अर्को वर्ष पनि गोरखामा बजेट धेरै नै चाहिने उनको भनाई थियो । पुरानो योजनाको दायित्व गोरखामा बढी भएकाले म के गरौ त भन्दै उनले जति बजेट किताव च्याते पनि, मिडियामा जे आए पनि, जसले फेसबुकमा जे पोष्ट गरे पनि पुरानो दायित्वबाट कोही भाग्न नसक्ने जिकिर गरे । खानेपानी योजनाको पनि गोरखामा यस्तै अवस्था रहेका उनको भनाई थियो । खानेपानी र भौतिक पूर्वाधारबाहेक अरु बजेट अन्य जिल्लाअनुसार समान जस्तै रहेको उनले बताए ।
एउटा बाटो पर्नु र खानेपानी योजना नहुनुले केही फरक नपर्ने तर सरकारले गरेका नीतिगत कुरा रुपान्तरणकारी हुने उनले बताए । २३ सय योजनामा ४२२ योजनाको धारामा पानी खस्ने कुरा, पालिकाहरुका न्यायिक सहजकर्ता, लोकल रक्सी ब्रान्डिङको कानूनी कुरा, राइड सेयरिङ जस्ता विषय पोलिसीको डिपार्चर रहेको उनले बताए । उनले अन्तिममा भने, ‘सुनैको छु बुझेकौ छु सबै तिम्रा कुराहरु, धन्सारै सानो भएर हो रहेको सपना अधुराहरु, गरेउ प्रश्न कविता र गीतबाट, हुन्न विभेद ढुक्क होउ म सुरेन्द्र पाण्डेबाट’ ।





