बागलुङ/छाडा कुकुरको टोकाइबाट लाग्न सक्ने रेविज रोगबारे बागलुङ नगरपालिकाले आम नागरिक र विद्यार्थीलाई सचेतना अभियान चलाएको छ । समुदायमा रेविज रोग सर्न नदिन कुकुरलाई खोप, विद्यालयमा सचेतना अभियान चलाएको पशु स्वास्थ्य शाखाका प्रमुख मित्रलाल सापकोटाले बताए ।
यो अभियानअन्तर्गत २ सय कुकुरलाई रेविज बिरुद्धको खोप लगाइएको छ भने बजार क्षेत्रका विद्यालयमा सचेतना अभियान चलाइएको हो । कुकुरलाई गत वर्षदेखिनै दर्ता गरेर पाल्ने अभियान शुरु भएपनि सडकमा देखिने ‘सामुदायिक कुकुर’बाट भने रेविज लगायतको समस्या आउने भएकोले खोप लगाइएको सापकोटाले जानकारी दिए ।
गत वर्षको असार साउनमा मात्रै यहाँका ३० भन्दाबढी मानिसलाई कुकुरले टोकेर उपचार गराउनुपरेको थियो । त्यसैले बालबालिकालाई कुकुरको टोकाइबाट बच्ने उपायबारे प्रशिक्षण गराइएको हो । बजार क्षेत्रमा मात्रै ४ सयबढी सामुदायिक कुकुर छन् । ‘खोप लगाएका कुकुरबाट रेविज सर्ने संभावना कम हुन्छ,’ सापकोटाले भने, ‘घरपालुवालाई त अनिवार्य गरिएको छ, सामुदायिकलाई चिन्न मुस्किल हुने भएकोले खोजी गरेर खोप लगाएका हौं ।’ कुकुरको स्वभाव र प्रकृति अनुसार व्यवहार गर्न विद्यार्थीलाई सिकाइएको उनले बताए । आक्रामक कुकुर, बिरामी कुकुर वा अन्य कुकुरको स्वभावबारे बालबालिका प्रशिक्षित भएपछि दुर्घटना कम हुने सापकोटाको भनाइ छ । कुकुरले टोकेमा १५ मीनेटसम्म साबुनपानीले धुने र स्वास्थ्य संस्थामा गएर खोप लगाउन पनि सुझाव दिइएको छ ।
बागलुङ नगरपालिकाले सामुदायिक कुकुर व्यवस्थापनका लागि ‘कुकुर सेल्टर’ बनाइरहेको छ । निर्माण सकिएपछि सबैलाई सेल्टरमा राखिने छ । त्यसका लागि गत वर्षको १५ लाख र चालु वर्षको १५ लाख रुपैयाँ बजेटबाट निर्माणको काम भैरहेको हो । स्थानीयले दिएको बागलुङ नगरपालिका वडा नं. ३ को झण्डै साँढे २ रोपनी जमिनमा सेल्टर निर्माण भइरहेको छ ।
मुख्यमन्त्री कार्यालयको साझेदारीमा नगरपालिकाले १ करोड लागतमा सेल्टर बनाउने योजना अघि सारेको थियो । जग्गा व्यवस्थापन गर्न नसक्दा निर्माणको काम ढीला भएकोमा अब भने पुर्णता दिने नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बताए । दर्ता गरेका कुकुरलाई नगरले खोप र औषधि सेवा निशुल्क दिनेछ । मृत्यु भएमा शव व्यवस्थापन पनि नगरपालिकाले गर्नेछ । खोप लगाएका कुकुरलाई घरमा पालेको भए रातो र सामुदायिक भए निलो रंग लगाइएको छ ।





