पोखरा/ पोखराको बाटुलेचौरमा रहेको मातृशिशु मितेरी प्रादेशिक अस्पतालले दूरबिन प्रविधिमा आधारित शल्यक्रिया र डिजिटल प्रणालीमा आधारित डिआर एक्सरे सेवा विस्तार गरेको छ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा कास्की जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले बुधबार औपचारिक रूपमा सेवाको शुभारम्भ गर्दै सेवा विस्तारसँगै बिरामीका लागि आधुनिक प्रविधिमार्फत शल्यक्रिया सहज हुने बताए। गण्डकी प्रदेश सरकारको करीव ९७ लाखको लागतमा फोरके प्रणालीको शल्यक्रिया मेसिन जडान गरिएको हो । ‘छाला नकाटी प्वाल पारेर शल्यक्रिया गर्न सकिने र सेवा छिटोछरितो हुने भएकाले बिरामीको अस्पताल बसाइको समय पनि घट्ने अपेक्षा गरिएको छ। यस मेसिनले नाक, कान, घाँटी र स्त्रीरोगसम्बन्धी समस्याको छिटो र प्रभावकारी उपचारमा सहयोग पुर्याउनेछ,’ पौडेलले भने।
त्यसैगरी, करिब ३४ लाखको लागतमा पाँच सय एमए क्षमताको डिआर एक्सरे मेसिन पनि जडान गरिएको छ। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. धर्मदेव ढकालले यस प्रविधिबाट चिकित्सकलाई सबै प्रकारका जटिल एक्सरे परीक्षण गर्न तथा सबै अंगको सहज, छिटो र स्पष्ट तस्बिर प्राप्त गर्न सकिने जानकारी दिए। नवीनतम चिकित्सकीय उपकरण र डिजिटल प्रविधिले पोखराको मातृशिशु मितेरी अस्पताललाई स्वास्थ्य सेवा क्षेत्रमा थप सशक्त बनाउने विश्वास उनको छ ।





