पोखरा / पोखराको छोरेपाटन माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीलाई कालोमोसो दल्ने कामको मुख्य योजनाकार मानिएका नेकपा बहुमत निकट युवा संगठनका केन्द्रीय अध्यक्ष सुजन बिक पक्राउ परेका छन् । नेकपा बहुमत निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले शुक्रबार पहारीलाई कालोमोसो दलेको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले नेकपा बहुमतका केन्द्रीय सदस्य समेत रहेका बिकलाई शुक्रबार राती पक्राउ गरिएको बताए । बिकमाथि अभद्र व्यवहारमा मुद्दा अगाडि बढाइएको छ भने कालोमोसो दल्ने २ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरी प्रहरीले खोजी कार्य तिब्र बनाएको छ ।
‘विककै योजना तथा निर्देशनमा विद्यालय व्यवस्थापन समिति अध्यक्षमाथि कालोमोसो दलिएको देखिएको प्रहरीको भनाई छ । एसपी ओलियाका अनुसार अन्यमाथि पनि पक्राउ पुर्जी जारी गरी खोजि कार्य भइरहेको र मुख्य योजनाकार बिक नै रहेका छन् । विकको यसअघिको मुद्दा र विगतका घटना पनि अनुसन्धान भइरहको एसपी ओलियाले बताए । विक माओवादी केन्द्रबाट विभाजन भएको वैद्य समूह (मोहन वैद्य), विप्लब समूह (नेत्रविक्रम चन्द) हुँदै अहिले विप्लवबाट पनि विभाजन भएको नेकपा बहुमतमा आवद्ध भएका हुन् ।
छोरेपाटनको पाताले छाँगो (डेभिज फल्स) निजी कम्पनीलाई सुम्पिएको भन्दै व्यवस्थापन समिति अध्यक्ष पहारीलाई विद्यार्थीले कालोमोसो दलेका थिए । कालोमोसो दलेपछि विज्ञप्ति जारी गर्दै बहुमतनिकट विद्यार्थी संगठनले जिम्मेवारी लिएको थियो भने पहारीलाई राजीनामा दिन र कारबाही गर्नसमेत माग गरेको थियो ।
पोखराकै प्रमुख पर्यटकीय गन्तव्य रहेको पातले छाँगो २०३५ सालदेखि छोरेपाटन उच्च माविले भोगचलन तथा व्यवस्थापन गर्दै आएको थियो । त्यहाँ प्रवेश गरेबापत उठ्ने रकम विद्यालय व्यवस्थापनमा खर्च हुँदै आएको थियो । तर, महालेखा परीक्षकको कार्यालयले बर्सेनि महानगरलाई विद्यालयबाट आफ्नो स्वामित्वमा ल्याउन र त्यहाँबाट उठेको रकमलाई बेरुजूका रुपमा प्रस्तुत गर्दै आइरहेको थियो ।
पछिल्लो पटक महानगरले पाताले छाँगोमा सिसाको पुलसमेत निर्माण गरेर सम्पूर्ण व्यवस्थापन निजी कम्पनीलाई ४० वर्षका लागि दिने तयारी गरेको थियो । निजी कम्पनीलाई ४० वर्षका लागि सार्वजनिक सम्पदा सुम्पिन लागेको भन्दै चौतर्फी विरोध भएको थियो भने विद्यालयले पाताले छाँगो जाने गेटमा ताला लगाउनेसमेत गरेको थियो ।





