
बागलुङ/जिल्लामा पाँच महिनाको अवधिमा ३४ जनाले आत्महत्या गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रतिनिधि अमृत बास्कुनेले मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाको तथ्यांक सार्वजनिक गरेपछि झस्किएका सरोकारवालाहरुले आत्महत्या न्युनिकरणका लागि सहकार्यको आवश्यकता औल्याएका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तिलक भारतीका अनुसार, आर्थिक वर्ष २०८१/८२ को साउन १ गतेदेखि जेठ मसान्त सम्ममा ४९ जनाले आत्महत्या गरेकोमा पछिल्लो छ महिनामै ३४ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७९/८० मा ५४ जना, २०८०/८१ मा ६० जनाले आत्महत्या गरेका थिए । चालु आर्थिक वर्षमा जिल्लामा १९ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएका छन् ।
इन्सेक वर्ष पुस्तक समिक्षा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले विगतको अवस्था हेर्दा जिल्लामा बालबिबाह र लागुपदार्थको बढी प्रयोग तथा आत्महत्याका घटनाहरु बढेको गरेको बताए । इन्सेकले मानवअधिकारको क्षेत्रमा उठाएका सवालले राज्यको निकायलाई चनाखो हुन बाध्य पारेको थापाको भनाई थियो ।
‘‘आत्महत्याको दर बढी देखिए पनि किन आत्महत्या हुन्छ र यसलाई कसरी कम गर्न सकिन्छ भन्नेतर्फ सचेत हुँदै मनोपरामर्शको सल्लाह अनुरुप योजना बनाउन ढिला गर्नुहुँदैन’’ थापाले भने । बालबालिकालाई अभावको अनुभव नै नहुने भएकाले अभाव सृजना नगराउँदाको परिणाम आत्महत्या जस्ता अप्रिय घटनाहरु हुने गरेको उहाँको धारणा थियो । आत्महत्या बढ्नुको कारण बिलासिता बढ्ने, बाबुआमासँग टाढा रहने, आवश्यकताको परिपूर्ति सहज तरिकाले हुनु पनि कारण रहेको थापाले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले आत्महत्यालाई न्यूनिकरण सबैको साझा सरोकार बन्नुभपर्ने बताए । सन्तुलित जीवन भयो भने यस्ता घटनाहरु कम हुदै जाने भएकाले जिल्ला समन्वयको अगुवाइमा योजना बनाएरै आत्महत्या निरुत्साहनका लागि प्रयास गर्नेतर्फ सचेत हुनुपर्ने प्रजिअ गुरुङको भनाई थियो ।
कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य अधिकृत समिता घिमिरेले जीवन जिउनका लागि प्रयास गराउनेतर्फ सचेत गराउनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापाले राज्यपक्षबाट मानवअधिकार उल्लंघन हुन्छ भनिन्छ तर यो जिल्लामा त्यस्तो नसुनिएको अवस्थालाई यथावर राख्दै घटनाहरु शुन्य बनाउन सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।
जेलर धीरेन्द्रराज पन्तले कारागारमा पुरुष १ सय २२ थुनुवा तथा ६७ कैदी एवम् महिला ८ कैदी ५ थुनुवा गरी कुल १ सय ३० कैदी र ५२ थुनुवा रहेको बताए । कारागारमा २ जना नाबालक आश्रित रहेको उनको भनाई थियो । बागलुङमा बलात्कारजन्य आठ, घरेलु हिंसाका दश र कुटपिटपछि हत्याको एक घटना इन्सेकले अभिलेख गरेको छ ।





