बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले नसर्ने रोगको रोकथाम तीनवटै तहका सरकारको प्राथमिकतामा परेको बताएका छन् । आम नागरिकलाई आर्युवेद उपचार पद्दतीमार्फत नसर्ने रोग कम गर्न प्रेरित गर्ने समेत सरकारको प्राथमिकतामा रहेको बताए । सर्नेभन्दा नसर्ने रोग भयाबह बन्दै गएकोले अबको लक्ष्य नसर्ने रोगको रोकथाम रहेको पाठकको धारणा छ ।
धौलागिरि आर्युवेद अस्पताल बागलुङद्वारा आयोजित वार्षिक समीक्षा तथा नागरिक आरोग्य अभियान विषयक कार्यक्रमको मंगलबार उद्घाटन गर्दै मन्त्री पाठकले समग्र स्वास्थ्य सेवासहित आर्युवेद उपचार पद्दतीलाई नागरिकको स्तरमा लगेर स्थापित गर्ने पनि बताए । त्यसका लागि गण्डकी प्रदेश सरकारले सबै जिल्लामा प्रभावकारी स्वास्थ्य सेवाको काम गरिरहेको बताए । साथै वर्षौदेखि रोकिएको स्तरोन्नती अभियान पनि चलाएको बताए । मन्त्री पाठकले आफ्नो कार्यकालमा २ आर्युवेद अस्पतालसहित १३ अस्पतालको सुधार गरेको बताए ।
अस्पतालहरु स्तरोन्नती गर्दा जनशक्ती, उपकरण र सेवा पनि बिस्तार भएको मन्त्री पाठकको दाबी थियो । ‘सेवा थप गर्ने, स्तरोन्नती गर्ने भन्ने बित्तिकै साधन र श्रोतको कुरा आउँछ, सिमित साधन श्रोतका बाबजुत अस्पतालहरुमा सुधार आएको छ’ उनले भने, ‘सरकारको लगानी अनुसार नागरिकले पनि सेवा पाउनुपर्छ ।’ उनले धौलागिरि आर्युवेद अस्पतालमा २५ शैया बनाएको, विशेषज्ञ चिकित्सको उपचार सेवा थपिएको बताए । यो वर्ष धौलागिरि आयुृर्वेद अस्पताल र पोखरास्थित गण्डकी आयुर्वेद अस्पताललाई स्तरोन्नती गरेको मन्त्री पाठकले जानकारी दिए ।
स्वास्थ्य क्षेत्रका अप्ठ्याराहरु फुकाउने काममा भएका काम र नसर्ने रोगको स्क्रिनिङमार्फत उपचारको दायरामा ल्याउने काम पनि गरिएको बताए । नीतिगत रुपमा पनि दुर्गम स्थानमा काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता बढाउने काम गरिने उनले बताए । ‘मनाङ, मुस्ताङ र गोरखाको उत्तरी क्षेत्रमा बस्ने चिकित्सकलाई प्राथमिकीकरण गरिएन भने सेवा प्रभावकारी बन्दैन’ उनले भने, ‘केही अनुभव भयो भने उनीहरुले गाउँमा बसेर सेवा दिन्छन् । त्यसका लागि कार्यविधि बनाइसकेको र नीतिगत रुपमा चालु अधिवेसनबाट संसदले पनि कानून पास गर्ने पाठकको भनाइ छ ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाका प्रमुख डा. रमेश केसीले नागरिक आरोग्य अभियानबारे प्रस्तुतीकरण गरेका थिए । उनले खानपान, जीवनशैली तथा वातावरणले नागरिक आरोग्यतामा असर पर्ने बताए । केही समस्या वंशाणुगत भएपनि अधिकांस समस्या आफ्नै जीवनशैलीबाट आउने भएकोले नागरिक सचेत बन्नुपर्ने उनले बताए । प्राकृतिक नियमलाई उल्लंघन गर्न खोज्दा नसर्ने रोग आएको उनको भनाइ थियो । एक अध्ययन अनुसार सन् १९९० मा सर्ने रोगबाट मर्नेको संख्या ६४ प्रतिशत भएकोमा अहिले नसर्ने रोगबाट मर्नेहरु ७१ प्रतिशत पुगेको केसीले जानकारी दिए । सुर्तीजन्य, मदिराजन्य र अस्वस्थ्य खानपिनले ल्याएको समस्या हटाउने र निस्कृय जीवनशैलीलाई सक्रिय बनाउन सकेमा नसर्ने रोग कम हुने उनले बताए ।
जिल्ला आरोग्य समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाको अध्यक्षता, धौलागिरि आर्युवेद अस्पतालका सूचना अधिकारी कमलविक्रम पौडेलको संचालन र अस्पतालका प्रमुख डा. शरद पन्थीको स्वागतमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटा, नेपाल पत्रकार महासंघ, बागलुङकी उपाध्यक्ष सिर्जना पन्त लगायतले मन्तव्य राखेका थिए ।
पछिल्लो समय आर्युवेद अस्पतालले दैनिक योग अभ्यास, शल्यक्रिया सहितको सेवा प्रवाह पनि गरेको छ । अकुपञ्चर सेवा, पेट सम्बन्धी समस्याको उपचार र स्तनपाई आमाको उपचार समेत गराउन थालिएको छ । एक वर्षमा अस्पतालले १७ हजार ८ सय ४८ जनालाई सेवा दिएको छ भने अस्पतालले १ सय ८३ केजी चुर्ण औषधी समेत उत्पादन गरेर बितरण गरेको जनाइएको छ ।





