बागलुङ (खर्वाङ)/बडिगाड गाउँपालिका–७ भिमगिठेमा गत असार १३ गते शुक्रबार बुर्तिवाङबाट बुटवल जाँदै गरेको बस र गलकोटबाट बोवाङ जाँदै गरेको पिकअप जिप एकआपसमा ठोकिए । पाँच जना घाइते भए । उनीहरु सामान्य घाइते मात्रै भएकाले मानविय क्षति भने भएन । उक्त घटनामा बसमा ९ र जिपमा ७ जना यात्रु सवार थिए ।
यस्तै भिमगिठेमै गतवर्ष माघ १६ गते पनि दुई जिप एकआपसमा ठोकिए । सडकमै ट्रक रोकेर एक पसलमा सामान अनलोड गर्दै थिए मजदुर । दिउँसो १ बजेको समयमा भएको घटनामा तीन जना घाइते भए । एकै स्थानमा एकै प्रकारका घटना पाँच महिनाको छोटो समयमै घटे । जसको मुख्य कारण व्यस्त बजारमा गरिने सवारी पार्किङ देखिएको छ । ट्राफिक पोष्ट नजिकै भएका दुबै घटनाका सिसिटिभी फुटेज हेर्दा घटना भएको स्थान नजिकै सवारी पार्किङ गरिएको देखिन्छ । जहाँ तीव्र गतिका सवारीले गति कम नगर्नु र हर्नको उचित प्रयोग नहुनु दुर्घटनाको अर्को कारण हो ।
जिल्लाभर आर्थिक वर्ष २०८१/०८२ मा दर्जनौं सवारी दुर्घटना एकआपसमा ठोकिएरै भएको भएपनि असार २६ गते सम्मको प्रहरी अभिलेख अनुसार जटिल दुईवटा सवारी दुर्घटना भएका छन् । जसमा दुई घाइते भएको जिल्ला प्रहरी कार्यलय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाण्डेलले जानकारी दिए ।
बडिगाडको हाँडिखोला, खर्वाङ, खौलार तथा भिमगिठे निकै व्यस्त बजार हुन् । व्यस्त बजारमै दुवैतर्फ सवारी पार्किङ हुने गरेकोे छ । जसले साँघुरो बाटोमा नियमित सवारी संचालनमा कठिनाई हुने गरेको सवारी चालक बताउने गर्दछन् ।
बागलुङका मुख्य बजारमै छैनन् सवारी पार्किङ स्थल
बागलुङको मुख्य सडकका रुपमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने बजारमा मात्रै हैन जिल्ला सदरमुकाममै पनि सवारी पार्किङ स्थल छैन । जिल्लाभर नै सडक किनारामै सवारी पार्किङ स्थल बनाईएको छ । बजारमै सवारी पार्किङ हुँदा दुर्घटनाको जोखिम बढेको छ ।
पश्चिम बागलुङसंगै रुकुम, जाजरकोट, डोल्पा, लगाएतका जिल्लाको नाकाकै रुपमा रहेको खर्वाङ मात्रै हैन बडिगाड गाँउपालिकाको कुनै पनि स्थानमा जिप तथा बसपार्क छैन । पालिकाले बडिगाड गाँउपालिका ५ को खौलारमा सवारी पार्किङ स्थल बनाएपनि त्यहाँ कुनै सवारी जाँन मान्दैनन् । बरु उक्त पार्किङ स्थलमा स्थानीय निर्माण व्यवसायीले समय समयमा निर्माण सामाग्री भण्डारण गर्ने स्थान बनेको छ ।
बढ्दो सहरीकरणसंगै सवारी साधनको चाप बढ्दै गएको र शहरीकरण भएका स्थानमा उचित पार्किङ नहुँदा समस्या हुने गरेको बडिगाडका नगर प्रहरी हबल्दार कमल रानाले बताए । “नगर प्रहरी तथा ट्राफिक प्रहरीले निगरानी गर्दा नियम पालन हुने गरेपनि अघिपछि उस्तै अवस्था हुन्छ’’ रानाले भने, ‘‘खौलारमा रहेको पार्किङ स्थलमै सवारी पार्किङ गराउन खोज्छौ तर सवारी धनी जान नमान्दा त्यसको उचित प्रयोग हुन सकेको छैन ।”
यात्रु पनि सहजताभन्दा हतारमा हुँदा यस्ता घटना अझ बढ्ने देखिन्छ । हरेक समय व्यस्त रहने लोकमार्गमा सयौंको संख्यामा सवारी गुड्छन त्यहाँँ आफ्नो सहजताको लागि बिच बाटोमै सवारी रोक्न लगाउने यात्रुको पनि कमजोरी रहेको राना बताउँछन् ।
करोडौंको राजस्व, तर जिल्लामै छैन सवारीको गति नाप्ने मेसिन
आर्थिक वर्षको जेठ २३ गतेसम्म जिल्लामा सानाठुला गरी भएका सवारी दुर्घटनामध्ये ट्राफिक प्रहरीको तथ्याङ्कमा २५ दुर्घटनाको मात्रै रेकर्ड छ । दर्जनौ सवारी दुर्घटना हुने गरेपनि सामान्य घाइते र तत्कालै उपचारबाट डिस्चार्ज हुने घाइतेको विवरण प्रहरीले राख्दैन । तरपनि यस वर्ष घटेका २५ दुर्घटनामा २२ जनाले ज्यान गुमाएका छन् । जसमा १५ जना गम्भिर घाइते भएका थिए भने सामान्य घाइतेको संख्या २७ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रहरी नायव निरिक्षक गंगाराम विकले जानकारी दिए ।
ग्रामिण सडकमा अधिक यात्रु तथा सडकको दुरावस्था तथा लोकमार्गमा तिव्र गतिले दुर्घटनाको जोखिम बढ्दो छ । वार्षिक करोडौं राजस्व ट्राफिक प्रहरीले उठाएपनि सवारीको गति नाप्ने उपकरण भने जिल्लाभरि एउटा पनि छैन ।
उपकरण नहुँदा तिब्र सवारी कार्वाहीको राजस्व ट्राफिक प्रहरीले उठाउन पाएको छैन । अर्कोतर्फ ट्राफिक प्रहरीको उपस्थीति नहुने स्थानमा तिब्र सवारी कुदाउने युवा पुस्ता बढि छन् । यस आर्थिक वर्षको जेठ २३ गतेसम्म मात्रै जिल्ला ट्राफिक प्रहरीको १५ हजार ५ सय ८३ सवारी कार्वाहीबाट १ करोड २९ लाख २७ हजार ५ सय राजस्व उठाएको छ ।





