बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

उच्च अदालत पोखरामा डेढ वर्ष नाघेका मुद्धा शुन्य

उच्च अदालत पोखरामा डेढ वर्ष नाघेका मुद्धा शुन्य

अदालतमा बुधबारसम्म रहेका ७ सय ५० मुद्धामध्ये ६ महिनाभित्रका ५ सय ३४, ६ महिनादेखि एक वर्षभित्रको १ सय ८६ र १ वर्षदेखि १८ महिनासम्मको ३० मुद्दा मात्रै रहेको रजिष्ट्रार खड्गराज अधिकारीले बताए ।


  • ढोरपाटन संवाददाता
  • साउन १ २०८२, बिहिबार

पोखरा/पोखरा उच्च अदालत पोखरामा डेढ वर्ष नाघेका मुद्धा शुन्य भएको छ । अदालतले बुधबार सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै यो तथ्यांक सार्वजनिक गरेको हो । अदालतमा बुधबारसम्म रहेका ७ सय ५० मुद्धामध्ये ६ महिनाभित्रका ५ सय ३४, ६ महिनादेखि एक वर्षभित्रको १ सय ८६ र १ वर्षदेखि १८ महिनासम्मको ३० मुद्दा मात्रै रहेको रजिष्ट्रार खड्गराज अधिकारीले बताए ।

आर्थिक वर्ष २०८१/०८२ मा अदालतबाट २६ सय ७० मुद्धा फछ्र्यौट भएका छन् । कुल मुद्धाको यो ७८.०७ प्रतिशत हो । यस आवमा अघिल्लो आवबाट १५ सय ९० जिम्मेवारी सरेर आएका र १८ सय ३० नयाँ गरी ३४२० मुद्धा दर्ता भएका थिए । मुद्धा फछ्र्यौटको यो प्रतिशत पनि ५ वर्षयताकै उच्च हो ।

आव २०७७/०७८ मा १९७६ मुद्धा दर्ता भएको मा १०४६ अर्थात ५२.९३ प्रतिशत, आव २०७८/०७९ मा २४१४ मुद्धामा १२४९ अर्थात् ५१.७४ प्रतिशत, २०७९/०८० मा ३०५६ मुद्धामा १९१३ (६२.५९ प्रतिशत) मुद्धा फछ्र्यौट भएका थिए । यसैगरी आव २०८०/०८१ मा ३४८८ मुद्धामा १८९८ अर्थात् ५४.४१ प्रतिशत मुद्धा फछ्र्यौट भएका थिए । उक्त वर्ष १८ महिना नाघेका १२ मुद्धा रहेकोमा अहिले आएर शुन्यमा झरेको हो ।

आव २०८१/०८२ मा मेलमिलापका लागि ३०५ मुद्धा पठाएकोमा जम्मा ३२ मुद्धा मात्रै फछ्र्यौट भएका छन् । यो अवस्था अलि नाजुक भएको रजिष्ट्रार अधिकारीले बताए । ‘जिल्लामा जितेर आएको पक्षले उच्चमा पनि जित्छु भनेर मेलमिलाप गर्न नचाहने प्रवृत्तिले पनि मेलमिलाप हुन नसकेको हो’, उनले भने । अदालतमा २७ हजार ९९८ थान मिसिल रहेकोमा ४८०५ मात्रै डिजिटलाइजेशन भएको अधिकारीले बताए । उनका अनुसार अघिल्लो वर्षका जिम्मेवारी सरेका २६ सहित ५१४ प्रतिवेदन लगत रहेकोमो ४८३ अर्थात् ९४ प्रतिशत प्रतिवेदन फछ््र्यौट भएका छन् ।

उच्च अदालत पोखरा मातहतका जिल्ला अदालतको मुद्धा र फछ्र्यौटको तथ्यांक पनि अधिकारीले प्रस्तुत गरे ।

कार्यक्रममा मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दले न्यायपालिका र पत्रकारिताबिच अनोन्याश्रित सम्बन्ध रहेको बताए । नागरिकलाई न्याय दिने सन्दर्भमा पत्रकारिताले कतिपय विषय सार्वजनिक गरिदिदाँ राज्यको ध्यानाकर्षण हुने गरेको भन्दै बागचन्दले न्यायको अनुभूति हुनेगरी अदालतले काम गरिरहेको बताए । ‘उच्च अदालत पोखरालाई नमूना बनाउने गरी योजनाकासाथ काम गरिरहेका छौ’, उनले भने, ‘न्याय सम्पादनको गुणस्तरलाई कमी हुन दिदैनौँ ।’ कार्यक्रममा उच्च अदालत बार एसोसियशनका अध्यक्ष शालिकराम भट्टराईले अदालत र बार एउटा रथका दुई पांग्रा रहेको उल्लेख गर्दै न्यायमा ढिलाई हुन नदिन आफुहरुले पनि आवाज उठाउँदै आएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->