बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

भूमिमन्त्रीले राजीनामा दिएर अनुसन्धानमा सघाउनु पर्ने र सुजन लामाको सदस्यता नविकरण नगर्न केन्द्र समक्ष प्रस्ताव

भूमिमन्त्रीले राजीनामा दिएर अनुसन्धानमा सघाउनु पर्ने र सुजन लामाको सदस्यता नविकरण नगर्न केन्द्र समक्ष प्रस्ताव


  • ढोरपाटन संवाददाता
  • साउन ३ २०८२, शनिबार

पोखरा / नेकपा एमाले कास्कीको शनिवार सम्पन्न विस्तारित बैठकले पोखराको लिची बगैंचा जग्गा काण्डमा मुछिएका भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले अनुसन्धानका लागि मार्ग प्रशस्त गर्नुपर्ने प्रस्ताव पारित गरेको छ ।

बैठकमा एमाले कास्कीका इन्जार्च कृष्ण थापालगायतले हजारौंको बलिदान र नेता कार्यकर्ताले दुख गरी बनाएको पार्टी एमालेमा विचौलिया, भ्रष्ट, ठग र नचाहिने क्रियाकलाप गर्र्नेहरु सलबलाएको भन्दै यस्ता प्रबृत्तिविरुद्ध लाग्नुपर्ने कुरा राखेका थिए । लिची बगैंचा हडप्न सार्वजनिक भएको घुस प्रकरणमा जोडिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएर अनुसन्धानमा सहज बनाएको र भूमि व्यवस्थामन्त्री अधिकारीले पनि राजीनामा दिएर घटनाको अनुसन्धानमा सघाउनु पर्ने प्रस्ताव पारित गरिएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले बताए ।

‘पोखराको चर्चित लिची बगैंचा प्रकरणमा भूमि व्यवस्था मन्त्री अधिकारीको पनि अडियो सार्वजनिक भएको छ । मन्त्री अधिकारी एमालेका केन्द्रीय सदस्य छन् । घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले राजीनामा दिए पनि अधिकारी पदमा कायमै छन् । पोखरा–१६ अमरदीपमा रहेको करिब १३५ रोपनी लिची बगैंचा हत्याउन मन्त्री गुप्ता, अधिकारी र पूर्वभूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठसमेत मुछिएका छन् । ‘विशेष गरी साउन ५ मा ४७ औं पुष्पलाल स्मृति दिवसको विषयमा आजको बैठक गरिएको थियो’, अध्यक्ष क्षेत्रीले भने, ‘बैठकका क्रममा समसामयिक विषयमा कुराकानी हुँदा यो जग्गा काण्डको विषय पनि गलत छ भन्ने सबै साथीहरुलाई लाग्यो । हामीले यस्ता गलत क्रियाकलाप गर्नेमाथि आवस्यक अनुसन्धान गर्नुपर्छ भनेर प्रस्ताव पारित गरेका हौ ।’

एमाले कास्कीले एमाले गण्डकीका सल्लाहकार परिषद सदस्य विचौलिया सुजन लामाको सदस्यता नवीकरण नगर्न भन्दै केन्द्रलाई जानकारी गराइएको अध्यक्ष क्षेत्रीले बताए । जग्गा काण्डको कुरा आउनसाथ सुजन लामाको सदस्यता नविकरण नगर्ने निर्णय गरिएको र कार्यान्वयनका लागि केन्द्रसमक्ष प्रस्ताव गरिएको उनको भनाई थियो । एमाले कास्कीले असार मसान्तमा नै सदस्यता नवीकरणको सूची केन्द्रमा सिफारिस गरेको थियो । बैठकमा एमाले केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज कृष्ण थापा, चुडामणि जंगली, प्रभा कोइराला, सल्लाहकार दीलबहादुर नेपाली, प्रतिनिधिसभा सदस्य दामोदर बैरागीलगायत उपस्थित थिए । साथै कास्की ५ वटा स्थानीय तह कमिटी र ३ वटा विशेष कमिटी र जनसंगठनका पदाधिकारी सहभागी थिए ।

लिची बगैंचाको प्रकरणमा मन्त्री अधिकारीले ३२ लाख घुस लिएको भनिएको अडियो सार्वजनिक भएको थियो । त्योभन्दा अघि नै भूमि आयोग कास्कीको अध्यक्ष खेम पुनलाई बनाउन लामाले मन्त्री गुप्तालाई ३२ लाख र मालपोत कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न ५३ लाख रुपैयाँ घुस लेनदेन सम्बन्धी अडियो सार्वजनिक भएको थियो । बैठकले ४७ औं पुष्पलाल स्मृति दिवसका अवसरमा साउन ५ मा पुष्पलाल पार्क सरसफाई, ६ गते पुष्पलाल अध्यन केन्द्रमा पुष्पलालको तस्वीरमा माल्यार्पण र विचार गोष्ठी र ७ गते पोखरामा उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा विचार गोष्ठी आयोजना गर्ने निर्णय गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->