बागलुङ/आधुनिक मेसिन बिग्रेपछि पश्चिम बागलुङको निसीखोलाका कतिपय स्वास्थ्यकर्मीले पुरानो विधिको ‘फिटोस्कोप’को प्रयोग गरिरहेका छन् । आगो फुक्ने ढुंग्रो जस्तै फिटोस्कोप पेटमा राखेर शिशुको धड्कन सुन्नुपर्ने बाध्यता छ ।
मेसिनले काम गर्दा गर्भवती महिलाको पेटभित्रको शिशुले श्वास लिए नलिएको र धड्कनको अवस्था प्रष्ट देखिन्छ । शिशुको मुटुको धड्कन बाहिरै सुनेर पत्ता लगाउन सकिन्छ । परम्परागत ‘फिटोस्कोप’ भने ‘डप्लर’ जस्तै प्रभावकारी नभएको स्वास्थ्यकर्मीले बताए । ‘काम चलाउन त फिटोस्कोप पनि ठिकै छ, तर डप्लर मेसिनबाट जाँच्दा ढुक्क हुन्थ्यो’ भलकोट स्वास्थ्य चौकीकी अनमी ढुकुटी पुनले भनिन्, ‘यो विधिले अलि ढुक्क बन्न सकिंदैन ।’ उक्त मेसिन बनाउने दक्ष प्राविधिक नभएपछि अलपत्र परेको हो । ‘खर्च त धेरै लाग्ने थिएन, दक्ष कामदार नभएर बनाउन सकिएन’ पुनले भनिन्, ‘अहिले फेरी पुरानो विधिले काम गरेका छौं ।’
नियमित परीक्षणमा मेसिन उपयोग गरिंदै आएको थियो । यो मेसिनले परीक्षण गर्दा छोटो समयमा प्रभावकारी सेवा दिन सकिन्थ्यो । परम्परागत बिधिले धेरै समय लिने गरेको छ । पुरानो सामाग्रीले गर्भ परीक्षण र धड्कन थाहा पाउन धेरै समय लागेको भलकोट स्वास्थ्यचौकीकै अनमी ज्ञानु बुढाले बताइन् । ‘जे भएपनि आधुनिक मेसिन र परम्परागत विधिमा फरक पर्छ’ बुढाले भनिन्, ‘दाताले दिए, तर हाम्रो पालिकामा मर्मत गर्ने जनशक्ती भएन ।’
बागलुङ जिल्लाका ६७ वटा बर्थिङ सेन्टरमध्ये २४ वटामा फेयरमेड फाउण्डेसनले ‘डप्लर’ मेसिन सहयोग गरेको हो । बाँकी ४३ वटा सेन्टरमध्ये प्रदेश सरकारको सहयोगमा ८ वटा र स्थानीय तहले ३६ वटा मेसिन उपलब्ध गराएका हुन् । ती उपकरणले काम गर्न सहज भएपनि मर्मत गर्ने जनशक्ती भने अभाव भएको स्वास्थ्यकर्मीले गुनासो गरेका छन् ।
विद्युत नभएको बर्थिङ सेन्टरमा उक्त मेसिन उपयोगमा कठिन छ । ढोरपाटन उपत्यकाको सामुदायिक स्वास्थ्य इकाई, गलकोट नगरपालिका वडा नं. १० को रमुवा र काठेखोला गाउँपालिका वडा नं. ८ को कादेशमा समेत नियमित विद्युत अभाव छ । विद्युत पुगेर पनि ३ फेज लाइन नभएको स्थानमा समेत मेसिन चलाउन कठिन भएको स्वास्थ्यकर्मी बताउँछन् । निसीखोला गाउँपालिका वडा नं. ५ को निसेलढोर इकाईमा भने विद्युत र उपकरण समेत छैनन् । गर्भ परीक्षण गर्नुपर्नेले छिमेकी पालिका पुग्नुपर्ने बाध्यता छ ।
दुई वर्षदेखि मेसिन भएर पनि नियमित विद्युत नभएपछि उपकरणहरु प्रयोगमा समस्या भोगेको ढोरपाटन नगरपालिका वडा नं. ९ को सामुदायिक स्वास्थ्य इकाईकी अनमी सीता बुढाले बताइन् । यहाँ विद्युत अभावमा जन्मेको शिशु तातो बनाउने मेसिन (बेबी वार्मर) पनि संचालन हुन कठिनाइ भएको हो । ‘बिजुली छैन, बादल लाग्यो, कुहिरो लाग्यो भने सोलार तात्दैन, त्यसपछि उपयोगमा समस्या परेको हो’ बुढाले भनिन्, ‘अत्यावस्यक अवस्थामा आगो फुकेर शिशु सेकाउने, परम्परागत मेसिनबाट धड्कन नाप्ने गर्छौ ।’ हेर्दा सानो तर महत्वपूर्ण मेसिन आएकोले सोलारले साथ दिंदा भने उपयोगी बनेको उनले बताइन् ।
अन्य सेन्टरमा भने ‘डप्लर’ मेसिनले धेरै सहयोग पुगेको स्वास्थ्यकर्मीले बताए । नियमित गर्भ जाँचका लागि आउने महिलाहरु यो मेसिन आएपछि ढुक्क भएर फर्कन पाएको बुर्तिवाङ अस्पतालकी वरिष्ठ नर्स पार्वती अर्यालले बताइन् । ‘यो मेसिनले छोटो समयमा सहज सेवा मिलेको छ’ उनले भनिन्, ‘अब परम्परागत ढुंग्रोको भरमा पर्नु हुदैन ।’ विद्युत नचाहिने भएकोले विस्थापित भने गर्न नहुने उनले बताइन् ।
विद्युतीकरण भएको स्थानमा मेसिन पुगेपछि स्वास्थ्यकर्मीले पनि खुसी भएर काम गरेको ढोरपाटन नगरपालिका स्वास्थ्य शाखाका प्रमुख भूमिश्वर गौतमले बताए । ‘सानो खर्चमा ल्याएको मेसिनले धेरै जनालाई खुसी बनाएको छ’ गौतमले भने, ‘प्रविधिको विकासले ग्रामीण क्षेत्रको स्वास्थ्य सुधारमा सहयोग पुग्दैछ ।’ विद्युत आपुर्तिको समस्या समाधान गरेर सबै उपकरण प्रयोगमा ल्याउनुपर्ने उनले बताए ।
राष्ट्रिय प्रसारण लाइनको विद्युत अभावले ढोरपाटन उपत्यका र ग्रामीण क्षेत्रका केही स्थानमा भने यो समस्या परिरहेको हो । ‘हेर्दा दुबै साना मेसिन हुन, तर ठूलो काम भैरहेको छ’ अनमी सीता बुढामगरले भनिन्, ‘हामीलाई विद्युतले समस्या परिरहेको छ, त्यो सहयोग चाहिएको छ ।’ ढोरपाटनको मौषम चिसो छ । हरेक दिन एकछिन घाम लाग्दा धेरैबेरसम्म बादल र कुहिरोले उपत्यका ढाकिन्छ । छिनछिनमा वर्षा समेत हुने भएकोले सोलारबाट सेवा लिन कठिन भएको उनले बताइन् ।





