पोखरा/गण्डकीका पूर्वप्रदेश प्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । गुरुङलाई २०७८ साल साउन १२ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन । गुरुङ २०८० फागुनसम्म गण्डकीको प्रदेश प्रमुखको रुपमा रहेका थिए ।
उनको निधनमा राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतले गहिरो दुःख व्यक्त गरेका छन् । ७६ वर्षीय गुरुङको शनिबार बिहान चितवनको भरतपुर महानगरपालिका–२६ दिव्यनगरस्थित आफ्नै निवासमा निधन भएको हो । उनी केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए ।
राष्ट्रपति पौडेलले शोक सन्देश जारी गर्दै गुरुङले लोकतन्त्र स्थापनाका लागि पु¥याएको योगदान स्मरणीय रहने बताए । उनले २०४६ सालको जनआन्दोलनमा गुरुङले चितवनमा खेलेको नेतृत्वदायी भूमिकाको स्मरण गरे । यसैगरी, सभापति देउवाले गुरुङको निधनले पार्टी र लोकतान्त्रिक आन्दोलनलाई अपूरणीय क्षति पुगेको उल्लेख गरे ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र कार्यवाहक मुख्यमन्त्री पद्मा जिसी श्रेष्ठले पनि छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै प्रदेशको अभिभावकका रूपमा गुरुङले करिब ३२ महिना सेवा गरी पु¥याएको योगदानको स्मरण गरेका छन् ।
कास्कीको साविक घलेल गाविसमा जन्मिएका गुरुङ पछि चितवन बसाइँ सरेका थिए । उनी नेपाली कांग्रेस चितवनका पूर्व सभापतिसमेत हुन । गुरुङ २०७८ साल साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भइ २०८० फागुन २८ गते पदमुक्त भएका थिए ।
आइतबार उनको अन्त्येष्टि हुने जनाइएको छ । उनको निधनप्रति कांग्रेसले विज्ञप्ति निकालेर आइतबार ११ः१५ बजे देवघाटमा अन्त्येष्टि हुने जनाएको छ । “नेपाली कांग्रेस चितवनका पूर्व सभापति एवं नेपाल सरकार गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको निधनको खबरले मलाई अत्यन्त दुःखीत र मर्माहत बनाएको छ । स्वर्गीय गुरुङले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नु भएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।” कांग्रेस सभापति शेरबहादुर देउवाले भनेका छन् ।
गुरुङ २०२४ सालदेखी गण्डकी छात्र काठमाण्डौमा सदस्यता लिँदै, २०२७ नेपाल विद्यार्थी संघको केन्द्रीय संस्थापक सदस्य, २०३१÷३२ सालको त्रि.वि, किर्तिपुरको छात्र आन्दोलनको संयोजक हुँदै नौ महिना सुरक्षा कानूनअन्र्तगत हिरासतमा पुगेका थिए । स्नातकोत्तरपछि पृथ्वीनारायण क्याम्पस पोखरामा प्रध्यापक, सक्रिय राजनितिमा लागेको अभियोगमा प्राध्यापनबाट २०३४ फाल्गुणमा बर्खास्त, २०३६ को जनमत संग्रहमा कास्कीमा सक्रिय, २०५२ सालदेखी चितवन कांग्रेसमा (सचिव) भइ २०५६ को पन्चायत विरुद्धको जनआन्दोलनमा कांग्रेस ४ सदस्यीय संघर्ष समितिको सदस्य हुँदै तत्कालीन शासकबाट राज्य विप्लवको मुद्धा खेप्न पुगेका थिए । उनलाई तत्कालीन सरकारले विध्वंसको अभियोगमा आजीवन कारावासको सजाय तथा सर्वस्वहरणको मुद्धा लगाएको थियो । २०५६ को प्रजातन्त्र पुनस्थापना पछि २०५८ को आम निर्वाचनमा प्रतिनिधि सभाको उमेद्वार, ने.का. का नेता गिरीजाप्रसाद कोइरालाको सरकारले गठित सुकुम्वासी समस्या समाधान आयोगको केन्द्रिय सदस्य, २०७५ को निर्वाचनमा समानुपातिकको उमेद्वार तथा पटकपटक पार्टीको महाधिवेशनमा महासमिति, महाधिवेशन सदस्य, पार्टीको जिल्ला सभापति, केन्द्रीय संगठन विभागको उपप्रमुख सहितको भूमिकामा गुरुङ थिए । उनी शहीद हरिप्रसाद गुरुङका आफन्त हुन् ।





